ढुंगा बोकेको ट्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु

बुधबार, ३१ भदौ, २०८३
डिजिटल संस्करण

ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका– ९, राघवपुरस्थित सडकखण्डमा ढुंगा बोकेको ट्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ।

मानेभञ्ज्याङ–राघवपुर भित्री कच्ची सडकखण्डमा लु.४त १६७२ नम्बरको ट्याक्टर ढुंगा लोड गरी मानेभञ्ज्याङतर्फ जाने क्रममा अनियन्त्रित भई सडकबाट करिब सय मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा ट्याक्टरमा सवार मानेभञ्ज्याङ गाउँपालिका– ८ का २० वर्षीय नवीन पुलामी मगर र ६२ वर्षीय छविलाल तिमिल्सिनाको घटनास्थलमै मृत्यु भएको हो।

दुर्घटनामा सोही स्थानका २९ वर्षीय तुलसी थापामगर, २८ वर्षीय भीमबहादुर सार्की र ट्याक्टरचालक २५ वर्षीय मिलन राई भने सकुशल रहेका छन्।

दुर्घटनाको सूचना पाएलगत्तै प्रहरी चौकी मानेभञ्ज्याङबाट प्रहरी नायब निरीक्षक खुदु मुर्मू तथा जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट प्रहरी निरीक्षक शेखरकुमार साहको कमान्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो।

दुर्घटनामा ट्याक्टर पूर्ण रूपमा क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ। चालक मिलन राईलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको छ।

सुझावित समाचार