परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय सुरक्षा र दीर्घकालीन राष्ट्रिय हितलाई केन्द्रविन्दुमा राखेर परराष्ट्र नीति सञ्चालन गर्न सरकार पूर्ण प्रतिबद्ध रहेको बताएका छन्।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा परराष्ट्रमन्त्री खनालले भारत भ्रमणका क्रममा द्विपक्षीय वार्तामा आफूले व्यक्त गरेको ‘ओल्ड ब्यागेज’को अर्थ स्पष्ट पार्दै सो अभिव्यक्ति नेपालको गरिमामय इतिहास, राष्ट्रिय विरासत, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता तथा राष्ट्रिय हितको रक्षा र ऐतिहासिक दस्ताबेजहरूको संरक्षणप्रति लक्षित नभएको स्पष्ट पारे।
बैठकमा सांसद सीता थपलियाले परराष्ट्रमन्त्री खनालले भारत भ्रमणका क्रममा द्विपक्षीय वार्तामा ‘वर्तमान सरकारसँग पुरानो ब्यागेज नभएको’ अभिव्यक्ति दिएको सन्दर्भमा त्यसको अर्थ, विगतका सरकारका कुन–कुन निर्णय ‘ब्यागेज’ हुन्, लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटिएको नेपालको नक्सालाई संविधानमा समावेश गर्ने निर्णय ‘पुरानो ब्यागेज’ हो कि होइन तथा विगतका सरकारका परराष्ट्र नीतिमा के–कस्ता गल्ती भए भन्ने विषयमा प्रश्न गरेकी थिइन्।
जवाफमा खनालले भारतको औपचारिक भ्रमणका क्रममा आफूले व्यक्त गरेको ‘ओल्ड ब्यागेज’सम्बन्धी धारणालाई सही सन्दर्भ र कूटनीतिक अर्थमा बुझ्न आवश्यक रहेको स्पष्ट पारे। उनका अनुसार ‘ब्यागेज’ शब्दले स्वाभाविक रूपमा नकारात्मक बोझ वा विगतका अवरोधलाई जनाउँछ। उहाँले आफ्नो उक्त भनाइको सन्दर्भ र तात्पर्य विगतमा देखिने गरेको आन्तरिक राजनीतिक ध्रुवीकरण तथा परराष्ट्र नीति र कूटनीतिको संकीर्ण राजनीतिक अस्त्रीकरणबाट मुक्त हुनु रहेको स्पष्ट पारे।
मन्त्री खनालले उक्त अभिव्यक्तिलाई राज्य र सरकारको निरन्तरता तथा राज्यको विरासतविपरीत अर्थ लगाउनु अतिशयोक्तिपूर्ण हुने बताए। उनले भने, ‘छिमेकी मुलुकहरूसँगको सम्बन्धलाई आन्तरिक राजनीतिक लाभ–हानिको औजार बनाउने गलत अभ्यास नै विगतको ‘बोझ’ हो, जसलाई त्यागेर अघि बढ्न वर्तमान सरकार दृढ छ, भन्ने स्पष्ट सन्देश दिन खोजेको व्यहोरा अनुरोध गर्न चाहन्छु। ‘ओल्ड ब्यागेज’ नेपालको राष्ट्रिय विरासतप्रति लक्षित होइन।’