पर्सामा एक वर्षमा २१० वटा मोटरसाइकल चोरी भएका छन् । चोरी भएका मोटरसाइकलमध्ये २१ वटा मात्रै फेला परेको पर्सा प्रहरीले जनाएको छ । सहरी तथा ग्रामीण क्षेत्रबाट मोटरसाइकल चोरीसम्बन्धी निवेदन दैनिकजसो आउने गरेको प्रहरीको भनाइ छ ।
गत भदौ २६ गते वीरगन्जस्थित दृष्टि आँखा अस्पतालनजिकबाट कालो रंगको अनटेस्ट पल्सर मोटरसाइकल चोरी भयो । अस्पतालअगाडि पार्किङ गरिएको २२० सिसीको पल्सर मोटरसाइकल चोरी भएको घटना सिसिटिभी क्यामेरामा कैद भएको थियो । चोरी भएको पाँच दिन बितिसक्दा पनि मोटरसाइकल फेला नपरेको पर्सा प्रहरीले जनाएको छ ।
त्यसको अघिल्लो दिन, भदौ २५ गते वीरगन्जको रेल्वे रोडस्थित एक घरअगाडि पार्किङ गरी राखिएको भारतीय नम्बर प्लेटको बुलेट मोटरसाइकल चोरी भएको थियो । दिउँसो घरअगाडि पार्किङ गरिएको डी ४३ १५ नम्बरको कालो रंगको बुलेट मोटरसाइकल चोरी भएको हो ।
मोटरसाइकलको ह्यान्डिल लक तोडेर अज्ञात व्यक्तिले चोरी गरी लैजाँदै गरेको दृश्य नजिकै जडान गरिएको सिसिटिभी क्यामेरामा स्पष्ट देखिएको प्रहरीले जनाएको छ । सिसिटिभी फुटेजका आधारमा चोरीमा संलग्न व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै, भदौ २४ गते वीरगन्जकै बिर्तास्थित नारायणी सेन्ट्रल अस्पतालअगाडि पार्किङ गरिएको मोटरसाइकल चोरी भएको भन्दै प्रहरीमा निवेदन परेको थियो । वीरगन्ज– १० का आनन्दकुमार सिंहको नाममा दर्ता रहेको प्रदेश २–०३–००१ प ४०९१ नम्बरको २०० सिसीको पल्सर मोटरसाइकल चोरी भएको हो ।
उक्त मोटरसाइकल पनि अहिलेसम्म फेला नपरेको पर्सा प्रहरीको उजुरी शाखाले जनाएको छ । पछिल्लो समय पर्सामा मोटरसाइकल चोरीसम्बन्धी निवेदन दैनिकजसो आउने गरेको प्रहरीको भनाइ छ ।
पर्साका सहरी तथा ग्रामीण क्षेत्रमा पछिल्लो समय मोटरसाइकल चोरीका घटनामा वृद्धि भएको पाइएको छ । कार्यालय वा सडकमा जथाभावी पार्किङ गरिएका मोटरसाइकल मात्रै होइन, सुरक्षित स्थानमा राखिएका मोटरसाइकलसमेत चोरी हुने गरेका छन् ।
भारतसँग सीमा जोडिएको सहर तथा जिल्लामा मोटरसाइकल चोरीका घटना बढेको प्रहरीको तथ्यांकले देखाएको छ । प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार जिल्लाका सहरी क्षेत्रमा पार्किङ गरेकै अवस्थामा मोटरसाइकल चोरी हुने गरेको पाइएको छ ।
‘कार्यालय वा सडकमा जथाभावी पार्किङ गरिएका मात्र होइन, सुरक्षित स्थानमा राखिएका मोटरसाइकलसमेत चोरी हुने गरेका छन्,’ उनले भने ।
प्रहरीका अनुसार सरकारी पार्किङ, निजी पार्किङ, सडक किनार तथा घरमै पार्किङ गरिएका मोटरसाइकलसमेत चोरी हुने गरेका छन् । मोटरसाइकल चोरीमा संलग्नमध्ये अधिकांश ग्यारेजमा काम गरेका व्यक्ति रहेको र कतिपय कुलतमा लागेका तथा बारम्बार चोरीमा संलग्न व्यक्तिसमेत रहेको पाइएको प्रहरीले जनाएको छ ।
मोटरसाइकल तोकिएको स्थानमा पार्किङ गरी लक गरेमा चोरीबाट बच्न सकिने मल्लले बताए । सकेसम्म सिसिटिभीको निगरानी भएको स्थानमा मोटरसाइकल पार्किङ गर्न, लक गर्न र हराएमा जतिसक्दो छिटो प्रहरीलाई खबर गर्न उनले आग्रह गरे ।
पर्सा प्रहरीको तथ्यांकअनुसार आर्थिक वर्ष ०८२/८३ मा जिल्लामा २१० वटा मोटरसाइकल चोरी भएका छन् । सहरी तथा ग्रामीण क्षेत्रबाट प्रत्येक महिना मोटरसाइकल हराएको भन्दै प्रहरीमा निवेदन दर्ता हुने गरेको मल्लले बताए । चोरी भएका २१० मोटरसाइकलमध्ये हालसम्म ४९ वटा मात्रै फेला परेका छन् ।