जापानमा हुने २०औँ एसियाली खेलकुदमा सहभागी हुन जुडो टोलीलाई इप्पोन गियरले खेल पोसाक प्रायोजन गरेको छ । एसियाडमा सहभागी हुने ६ खेलाडी र एकजना प्रशिक्षकसहित सातजना तथा बाँकी तीन खेलाडी र एक प्रशिक्षकसहित चार गरी जम्मा ११ जनालाई समान दुई थान खेल पोसाक प्रदान गरिएको हो ।
असोज ३ देखि १८ गतेसम्म जापानको आइची नायोगमा हुने एसियाडअन्तर्गत जुडोमा विकास विक, विशेष विक, सुजन गुरुङ, निशा श्रेष्ठ, देवकीमाया श्रेष्ठ र पुनम श्रेष्ठले नेपालको चुनौती पेस गर्नेछन् । प्रशिक्षकमा सुनिता मगर ताम्राकार छिन् । जुडो टोली सेप्टेम्बर २६ तारिख जापान प्रस्थान गर्ने तालिका छ ।
नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष बज्राचार्य, उपाध्यक्ष रमेश महर्जन, जुडोका मुख्य प्रशिक्षक वीरेन्द्र रन्जित, नेपाल जुडो संघका पूर्वमहासचिव एवं टेक्निकल डाइरेक्टर धर्मकुमार श्रेष्ठले सोमबार पोसाक हस्तान्तरण गरे । उनीहरूबाहेक खेल पोसाक पाउने खेलाडीमा प्रमोद मण्डल, योगन्द्र विष्ट र विनिता मगर तथा प्रशिक्षकमा मोहन सुनुवार छन् ।
यस्तै जापानमा हुने २०औँ एसियाली खेलकुदमा सहभागी हुने उसु टोलीलाई बिदाइ गर्दै सफलताका लागि शुभकामना दिएको छ । नेपाल उसु महासंघले राष्ट्रिय खेलकुद परिषद् (राखेप)का बोर्ड सदस्य पवन शाहीको उपस्थितिमा कार्यक्रम आयोजना गरेको हो । यो कार्यक्रममा नेपाल उसु महासंघका महासचिव नवराज ढुंगानालगायत पदाधिकारीहरू, उसु मुख्य प्रशिक्षक, उसु प्रशिक्षकलगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा अतिथिहरूले खेलाडीहरूलाई खेल भावना, अनुशासन र उच्च मनोबलका साथ मैदानमा उत्रिन आग्रह गरे । उनीहरूले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको शिर उच्च राख्दै देशका लागि पदक जितेर फर्किने विश्वास व्यक्त गरेका छन् ।