जापानिज इन्सेफ्लाइटिसको संक्रमण : कोशीमा दुई महिनामै ११ को मृत्यु

झापा, मोरङ, सुनसरी र इलाममा संक्रमण

मंगलबार, ३० भदौ, २०८३
डिजिटल संस्करण

क्युलेक्स प्रजातिको संक्रमित लामखुट्टेको टोकाइबाट हुने जापानिज इन्सेफ्लाइटिस (जेई)को संक्रमणबाट कोशी प्रदेशमा दुई महिनामै ११ जनाको मृत्यु भएको छ । झापामा सात र सुनसरीमा दुई तथा मोरङ र इलाममा एक–एक गरी ११ जनाको ज्यान गएको हो ।

प्रदेश स्वास्थ्य मन्त्रालयमा झापामा पाँचजनाको मृत्यु भएको तथ्यांक आएको प्रवक्ता डा. सभ्यता पन्थीले बताइन् । तर, जिल्ला स्वास्थ्य कार्यालय झापाका प्रमुख बृजकुमार दासले झापाको मेचीनगरमा दुई, अर्जुनधारा, बिर्तामोड, बाह्रदशी, हल्दीबारी र भद्रपुरमा एक–एकजनाको मृत्यु भएको बताए । मन्त्रालयमा तथ्यांक पुगिनसकेको हुन सक्ने उनको भनाइ छ ।

मन्त्रालयकी प्रवक्ता पन्थीका अनुसार लक्षण देखिएका ३१३ जनामा परीक्षण गर्दा २६ जनामा जेई संक्रमण देखिएको छ । झापामा ११२ जनामा परीक्षण गर्दा १२, मोरङमा ७७ जनामा गरिएको परीक्षणमा नौ, सुनसरीमा ५४ जनामा परीक्षण गर्दा पाँच र इलाममा १८ जनामा परीक्षण गर्दा दुईमा जेई पजिटिभ देखिएको हो । गत १५ असारमा सुनसरीको इटहरीमा जेईको केस फेला परेपछि लक्षणका आधारमा १४ वटै जिल्लामा शंकास्पद बिरामी परीक्षण गरिएको थियो ।

कोशीमा जेईको परीक्षण धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मात्रै हुन्छ । जेई देखिएकामध्ये मोरङका तीनजनाको नमुना भारत पठाएर परीक्षण गरिएको उनको भनाइ छ ।

जेईको संक्रमण रोक्नका लागि कोशी प्रदेशका सबै जिल्ला स्वास्थ्य कार्यालयबाट सचेतनाको कार्यक्रम सञ्चालन गरिएको छ । झापामा ३० वर्षभन्दा माथि उमेरका लागि ५ असोजबाट संघ सरकारसँगको समन्वयमा जेईविरुद्धको खोप अभियान सञ्चालन गर्ने तयारी छ । ‘बालबालिकालाई नियमित खोप कार्यक्रमअन्तर्गत जेईविरुद्धको खोप पनि लगाइएको हुन्छ । हाल ३० वर्षमुनिकाले जेईविरुद्धको खोप लगाएका छन्,’ उनले भनिन्, ‘अहिले ३० वर्षमाथिकाले त्यो वेलामा खोप लगाएका छैनन् । उनीहरूका लागि जेईविरुद्धको खोप अभियान झापामा सञ्चालन हुन लागेको हो ।’

झापामा ३० वर्षमाथिका चार लाख ९३ हजार ३१९ जनालाई जेईविरुद्धको खोप लगाउने तयारी भइरहेको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ । यसका लागि १३८ जना जनशक्ति तयारी गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

कसरी फैलिन्छ जेई ? 
जापानिज इन्सेफ्लाइटिसबाट बच्न क्युलेक्स प्रजातिको संक्रमित लामखुट्टेको टोकाइबाट बच्नुपर्ने दमक अस्पतालका फिजिसियन डा. अनुपम घिमिरेले बताए । जेईको संक्रमण नदी छेउछाउका क्षेत्र, धानबाली भएको क्षेत्र, सँगुर वा हाँसपालन भएको क्षेत्रका लामखुट्टेको टोकाइबाट हुने गरेको छ । जेईबाट बान्ता हुने, टाउको दुख्ने, उच्च ज्वरो आउने, स्नायु प्रणालीमा असर गर्दा स्मरण शक्ति गुम्दै जानेजस्ता लक्षण देखिने उनको भनाइ छ । ‘दमक अस्पतालमा पनि यस्ता लक्षण भएका बिरामी आउने गरेका छन् । जेईको परीक्षण यहाँ हुँदैन,’ उनले भने, ‘तर, हामी लक्षण हेरेर प्रोभिजनल डाइग्नोसिस गर्न सक्छौँ । सामान्यतः हामी यहीँ उपचार गर्छौँ । तर, गम्भीर बिरामी भएमा स्वास्थ्य कार्यालयसँग समन्वय गरेर परीक्षण र उपचार गर्छौँ ।’

उच्च ज्वरो आउने, बान्ता हुने र टाउको दुख्ने समस्या भएमा तुरुन्त अस्पताल जानुपर्ने उनको सुझाव छ । ‘उपचारमा ढिलाइ गर्दा ज्यानै पनि जान सक्छ । यो संक्रमणले अपांगतासमेत बनाउन सक्छ,’ उनी भन्छन्, ‘तसर्थ वेलैमा सतर्कता अपनाउनुपर्दछ । जेईको संक्रमणबाट बच्न जलचर, सँगुरपालन भएको क्षेत्रबाट टाढा रहनुपर्छ ।’

जेईविरुद्ध झापामा ५ असोजदेखि खोप लगाउने तयारी

झापामा ३० वर्षभन्दा माथि उमेरका लागि ५ असोजबाट संघ सरकारसँगको समन्वयमा जेईविरुद्धको खोप अभियान सञ्चालन गर्ने तयारी छ । ‘बालबालिकालाई नियमित खोप कार्यक्रमअन्तर्गत जेईविरुद्धको खोप पनि लगाइएको हुन्छ । हाल ३० वर्षमुनिकाले जेईविरुद्धको खोप लगाएका छन्,’ स्वास्थ्य मन्त्रालयकी प्रवक्ता डा. सभ्यता पन्थीले भनिन्, ‘अहिले ३० वर्षमाथिकाले त्यो वेलामा खोप लगाएका छैनन् । उनीहरूका लागि जेईविरुद्धको खोप अभियान झापामा सञ्चालन हुन लागेको हो ।’ झापामा ३० वर्षमाथिका चार लाख ९३ हजार ३१९ जनालाई जेईविरुद्धको खोप लगाउने तयारी भइरहेको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ । यसका लागि १३८ जना जनशक्ति तयारी गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । कोशीमा जेईको परीक्षण धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मात्रै हुन्छ । 

सुझावित समाचार