जाजरकोटको नलगाडमा तासुगाड खोलाले बगाउँदा एकजना बेपत्ता भएका छन्। सोमबार नलगाड नगरपालिका– १० र ११ को सीमामा पर्ने तासुगाड खोलाले बगाउँदा बारेकोट– ४ का रमेश सुनार बेपत्ता भएका जिल्ला प्रहरी कार्यालयका प्रमुख बुद्धिसागर पुरीले बताए। सुनारको खोजीकार्य जारी छ।
यसअघि उक्त खोलामा नलगाड नगरपालिका– ११, दम्काका ४६ वर्षीय रतनबहादुर दमाईं बेपत्ता भएका थिए। केही दिनअघि सोही खोलाले एकजना महिला बगाउँदा स्थानीयले बिचखोलाबाट उद्धार गरेका थिए।
भेरी करिडोरअन्तर्गत पर्ने उक्त खोलामा पुल नहुँदा वर्षायाममा सर्वसाधारणले जोखिम मोलेर वारपार गर्नुपर्ने बाध्यता छ। सो ठाउँमा गत साउन २९ गते आएको बाढीले स्थायी कजवे र झोलुंगे पुल बगाएपछि यात्रुहरूको आवतजावत जोखिमपूर्ण बनेको छ।