शनिबार साँझ ६ बजे हेटौँडा– ३, बासामाडीस्थित सहारा ग्यास उद्योगमा धमाधम ग्यास भर्ने काम भइरहेको थियो । उद्योगमा कार्यरत कर्मचारी खड्गबहादुर थापाका अनुसार काठमाडौंमा ग्यास आपूर्ति बढाउन ललितपुरको चल्नाखेलमा रहेको उद्योगबाट खाली सिलिन्डर ल्याउने र हेटौँडाको सहारा उद्योगमा भरेर पठाउने काम भइहरेको छ।
‘कृष्णभिरको पहिरोले पृथ्वी राजमार्ग बन्द भएयता एभरेस्ट र सुगम ब्रान्डका सिलिन्डरमा ग्यास भरेर काठमाडौं पठाइरहेका छौँ,’ उनले भने, ‘२४ घण्टा उद्योग चलाइरहेका कारण कामदार र कर्मचारी बिरामी पर्न थालेका छन् ।’ उनका अनुसार बिहान ६ देखि दिउँसो १ बजेसम्म सहारा, दिउँसो १ बजेदेखि राति १० बजेसम्म एभरेस्ट र राति १० बजेदेखि बिहान ६ बजेसम्म सुगम ब्रान्डका सिलिन्डरमा ग्यास भर्ने काम भइरहेको छ । काठमाडौंमा ग्यास पठाउने काम दिनभर नै चलिरहने उनले बताए । उक्त उद्योगमा एकपटकमा १८ सिलिन्डर ग्यास भर्ने मेसिन रहेको र एउटा सिलिन्डर ७० सेकेन्डमा भरिने उनले जानकारी दिए ।
त्यस्तै, बहुअरी–४, बाराको ग्यास उद्योगमा लोकप्रिय र श्रीमाया ब्रान्डका सिलिन्डरमा ग्यास भर्ने काम भएको सञ्चालक निर्मल खत्रीले जानकारी दिए । ‘हाम्रो उद्योग दुई सिफ्टमा चलिरहेको छ,’ उनले भने, ‘बिहान ७ देखि दिउँसो ३ बजेसम्म र दिउँसो ३ देखि राति ११ बजेसम्म उद्योग नियमित रूपमा चलिरहेको छ । कहिलेकाहीँ राति १ बजेसम्म पनि ग्यास भर्ने काम भएको छ ।’ लोकप्रिय र श्रीमाया ब्रान्डका तीन हजार सिलिन्डरमा दैनिक ग्यास भरेर पठाइरहेको उनले जानकारी दिए ।
पर्साको सुपर ग्यास उद्योगले काठमाडौंका लागि हिमाल ब्रान्डका सिलिन्डरमा ग्यास भरिरहेको छ । उद्योगमा कार्यरत एक कर्मचारीका अनुसार दैनिक औसत कम्तीमा एक हजार हिमाल ब्रान्डका सिलिन्डरमा ग्यास भर्ने काम भइरहेको छ ।
पर्साको वीरगन्ज महानगरपालिका– २१, परवानीपुरमा रहेको मनोज ग्यास उद्योगले काठमाडौंका लागि एसटिसी र लोकप्रिय ब्रान्डका सिलिन्डरमा ग्यास भरेर पठाइरहेको उद्योग इन्चार्ज सञ्जयकुमार मिश्राले जानकारी दिए । ‘हामीले अहिले उद्योगका मेसिनलाई विश्राम दिन पाएका छैनौँ,’ उनले भने, ‘एसटिसी र लोकप्रियको मात्रै दैनिक औसतमा १८ सय सिलिन्डरमा ग्यास भरेर पठाइरहेका छौँ,’ उनले भने, ‘यसमा एसटिसीको १२–१३ सय सिलिन्डर हुन्छ । बाँकी लोकप्रियका सिलिन्डर हुन् ।’ त्यस्तै, जितपुर–सिमरा उपमहानगरपालिका– ५, बाराको अम्बर ग्यास उद्योगले एसटिसी र सिद्धार्थ ब्रान्डका सिलिन्डरमा ग्यास भरेर पठाउने गरेको छ ।
अम्बर ग्यास उद्योगको बिलिङ विभागमा कार्यरत पन्नालाल साहका अनुसार दैनिक करिब १२ सय सिलिन्डर ग्यास काठमाडौंका लागि भरेर पठाउने गरिएको छ । ‘हामीले शनिबारसमेत नभनी सबै दिन उद्योग चलाएर सिलिन्डरमा ग्यास भर्ने काम गरिरहेका छौँ,’ उनले भने । आयल निगमको एलपिजी विभाग प्रमुखसमेत रहेका विनीतमणि उपाध्यायले तराईका उद्योगीलाई काठमाडौंमा ग्यास पठाउन प्रोत्साहन गरिरहेको बताए ।








