जनकपुरधामका गुठीअन्तर्गतका पोखरी तथा पोखरीका डिल अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउन थप १५ दिनको समय दिइएको छ । गुठी जग्गा संरक्षण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलका विभिन्न प्रतिवेदनले औँल्याएका अतिक्रमित पोखरीलाई चरणबद्ध रूपमा खाली गराउने अभियानअन्तर्गत गुठी संस्थानले सम्बन्धित व्यक्ति तथा संस्थालाई थप समय दिएको हो ।
यसअघि संस्थानले १९ भदौमा सार्वजनिक सूचना जारी गर्दै अनधिकृत संरचना सात दिनभित्र आफैँ हटाउन सम्बन्धित व्यक्ति तथा संस्थालाई आग्रह गरेको थियो । सो अवधिपछि २७ भदौदेखि संरचना हटाउने तयारी गरिएको थियो । तर, अनुगमनका क्रममा केही व्यक्तिले आफैँ संरचना हटाउन थालेको र थप समय माग गरेपछि कार्यान्वयन समितिले डोजर प्रयोग गर्नुअघि थप १५ दिनको समय दिएको हो ।
गुठी संस्थानका प्रवक्ता जनक पोखरेलका अनुसार रेखांकन तथा नक्सांकनका आधारमा पोखरी र पोखरीका डिलमा रहेका संरचनाको अनुगमन गर्दा कतिपय संरचना ठुलो हिस्सा अतिक्रमण गरी निर्माण गरिएको पाइएको छ । केही संरचना त पोखरीको सीमाभित्र आधा भागसम्म फैलिएको उनले बताए । ‘तत्काल डोजर लगाएर हटाउँदा संरचनासँगै अन्य क्षति हुन सक्ने भएकाले सम्बन्धित व्यक्तिलाई आफैँ हटाउन थप समय दिइएको हो,’ उनले भने ।
थप समय दिइएका पोखरीमा देवान पोखरी (चन्द्रकुप), मध्यमा सर, रुक्मिणी सर, विडाल सर (विराही), गोन्ही पोखरी, ठाडी पोखरी, लवकी पोखरी (रजौल), कपालमोचनी सर, पुरन्दर सर, लवकी पोखरी (जिरो माइलभन्दा उत्तरपूर्व), लक्ष्मण सर (बलराम सर), पापमोचनी सर, अग्निकुण्ड, सीताकुण्ड र विहारकुण्ड छन् ।
गुठी संस्थानले तोकेको थप १५ दिनभित्र पनि अतिक्रमित संरचना पूर्ण रूपमा नहटाए कार्यान्वयन समितिले आफैँ संरचना हटाउने जनाएको छ । त्यसका लागि आवश्यक प्रक्रिया अघि बढाइने संस्थानको भनाइ छ । जनकपुरधामका ऐतिहासिक तथा धार्मिक महत्व बोकेका पोखरीहरू लामो समयदेखि अतिक्रमणको चपेटामा पर्दै आएका छन् । गुठी संस्थानले नक्सांकन तथा रेखांकनका आधारमा यसअघि पनि केही अतिक्रमित संरचना हटाइसकेको छ । यसपटकको अभियानले जनकपुरधामका बाँकी अतिक्रमित पोखरी तथा गुठी जग्गालाई क्रमशः खाली गराउने लक्ष्य राखेको संस्थानले जनाएको छ ।