भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तिज पर्व आज देवाधिदेव महादेवको पूजा–आराधना गरी मनाइँदै छ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव-पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याण प्राप्ति हुने धार्मिक विश्वास छ । धर्म शास्त्रीय रूपमा महिला र पुरुष दुवैले हरितालिका तिजको व्रत गर्नुपर्ने भए पनि सामाजिक चर्चा भने महिलाले श्रीमानको दीर्घायुको कामनाका लागि गर्ने बुझाइ छ । तिजको अवसरमा पशुपतिनाथ मन्दिरको दर्शन गर्न जाने क्रम जारी छ । बिहानसम्म महिला भक्तजनहरूको उल्लेख्य उपस्थिति देखिएको छैन। विगतका वर्षहरूमा जस्तो अत्यधिक भिडभाड र लामो सास्ती नभई यसपटक भक्तजनहरूले सहज र सुव्यवस्थित रूपमा पशुपतिनाथको दर्शन तथा पूजा-आराधना गरिरहेका छन् । रातो, हरियो र पहेँलो पोसाकसँगै पोतेमा सजिएका महिलाहरूले मन्दिरप्रांगणमा नाचगान गर्दै रमाइलो गरिरहेका छन् । दर्शनार्थीहरूले शान्त र सहज वातावरणमा व्रत तथा पूजा सम्पन्न गरिरहेका छन् । हरितालिका तिजका अवसरमा पशुपतिनाथ मन्दिर क्षेत्रमा सुरक्षा व्यवस्था अत्यन्त चुस्त र कडा पारिएको छ।













