विध्वंसकारी बाढीपहिरोको चपेटामा नेपाल

आइतबार, २८ भदौ, २०८३
डिजिटल संस्करण

नेपाल बर्सेनि बाढीपहिरोजस्ता प्राकृतिक विपतको चपेटामा पर्दै आएको छ। पछिल्लो दशकमा बाढीपहिरोका घटनासँगै मानवीय तथा भौतिक क्षति पनि बढ्दै गएको तथ्यांकले देखाउँछ।

२०७२ यता नेपालमा बाढीका २ हजार ३९६ घटना भएका छन्। ती घटनामा ६६२ जनाको मृत्यु भएको छ। यस अवधिमा ५ हजार ६६४ पहिरोका घटना हुँदा १ हजार ६३० जनाले ज्यान गुमाएका छन्। बाढीपहिरोबाट भएको आर्थिक क्षति भने अझ ठुलो छ।

पछिल्लो समयको विनाशकारी भोटेकोशी बाढीबाट भएको क्षतिको पूर्ण विवरण सार्वजनिक भइसकेको छैन। तर, यसअघि पनि नेपालले ठुलो जनधनको क्षति हुने गरी बाढीपहिरोको सामना गर्दै आएको छ।

२०७८ असार १ गते सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीले हेलम्बु र पाँचपोखरी थाङ्पाल गाउँपालिका तथा मेलम्ची नगरपालिकामा ठुलो क्षति पुर्याएको थियो। बाढीमा २५ जनाको मृत्यु भएको थियो भने ५५१ घर बगेका थिए। राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजना, सातवटा झोलुंगे पुल र नौवटा पक्की पुलमा समेत क्षति पुगेको थियो। बाढीले करिब ५ हजार ४ सय रोपनी खेतीयोग्य जमिन बगरमा परिणत गरेको थियो।

त्यस्तै, २०८१ असोज ११ र १२ गतेको अविरल वर्षापछि आएको बाढीपहिरोले काभ्रेपलाञ्चोकमा ठुलो क्षति पुर्यायो। उक्त विपतमा ७९ जनाको मृत्यु र ७८ जना घाइते भएका थिए। बाढीपहिरोका कारण २ हजार ५७७ घर पूर्ण रूपमा र ७५१ घरमा आंशिक क्षति पुगेको थियो। त्यस्तै, १२ सरकारी भवन पूर्ण रूपमा र १३५ भवनमा आंशिक क्षति भएको थियो।

बाढीपहिरोले बिपी राजमार्गको करिब नौ किलोमिटर क्षेत्रमा समेत ठुलो क्षति पुर्याएको थियो। उक्त सडकखण्डको पुनर्निर्माण अझै पूर्ण रूपमा हुन सकेको छैन।

२०८२ साउन ३२ गते सोलुखुम्बुको पासाङल्हामु गाउँपालिकास्थित थामेमा आएको बाढीले घर, छात्रावास र होटेलसहित १५ वटा संरचना बगाएको थियो।

त्यसैगरी, भारी वर्षापछि २०८२ असोज १९ गते इलाममा गएको विनाशकारी पहिरोमा ३९ जनाको मृत्यु भएको थियो। रातिको समयमा पहिरो गएका कारण ३६ जनाको घरभित्रै ज्यान गएको थियो। पहिरोले करिब ३५० घर पूर्ण रूपमा र ९५० घरमा आंशिक क्षति पुर्याएको थियो। ७११ परिवार विस्थापित भएका थिए भने पहिरोबाट करिब १२ अर्ब रुपैयाँबराबरको क्षति भएको तथ्यांक छ।

तराईका जिल्लाहरूमा पनि बाढी बर्सेनि दोहोरिने गरेको छ। बाढीका कारण जनधनको क्षतिसँगै घर तथा खेतीयोग्य जमिन डुबान र कटानमा पर्ने गरेको छ।

सुझावित समाचार