पत्रकारिता क्षेत्रलाई संकटमा पार्ने कुनै पनि निर्णय स्वीकार्य छैन : कांग्रेस सभापति थापा

आइतबार, २८ भदौ, २०८३
डिजिटल संस्करण

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले स्वतन्त्र प्रेस समस्यामा पर्दा त्यसको प्रत्यक्ष असर लोकतान्त्रिक व्यवस्थामाथि पर्ने भएका कारण त्यसको संरक्षण र प्रवर्द्धन अपरिहार्य रहेको धारणा व्यक्त गरेका छन् ।

लोककल्याणकारी विज्ञापनको रकम कटौती, विज्ञापनसम्बन्धी नीतिगत व्यवस्था तथा छापा सञ्चारमाध्यमको अस्तित्वमा देखिएका चुनौतीलगायतका विषयमा नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित 'छापा माध्यम बचाउ सुझाव कार्यदल' ले हालै बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै सभापति थापाले सो धारणा व्यक्त गरेका हुन् ।

पार्टी मुख्यालय सानेपा पुगेको कार्यदल संयोजक दामोदरप्रसाद दवाडी नेतृत्वको टोलीलाई सम्बोधन गर्ने क्रममा सभापति थापाले स्वतन्त्र प्रेसमाथि संकुचन पत्रकारको पेसागत समस्या भए पनि आफ्नो पार्टीका लागि सो विषय लोकतन्त्रकै महत्वपूर्ण सवाल भएको धारणा व्यक्त गरेका थिए । पत्रकार र सञ्चारमाध्यमले उठाएका विषयलाई आफूले गम्भीर रूपमा लिएको बताउँदै उनले भने, 'यो तपाईंहरूको पेसागत समस्याको कुरा होला, तर कांग्रेसका लागि लोकतान्त्रिक प्रतिष्ठासँग जोडिएको विषय हो। प्रेस लोकतन्त्रको आधारस्तम्भ भएकाले त्यसको संरक्षण लोकतान्त्रिक दलको प्रमुख जिम्मेवारी भएको उनको भनाइ थियो।

छापा माध्यमको समस्या केवल पत्रकारको पेसासँग जोडिएको विषयका रूपमा नहेरी लोकतन्त्रको आधारभूत पक्षसँग जोडेर हेर्नुपर्ने थापाले बताए । प्रजातन्त्र पुनः स्थापनामा छापा माध्यमले पुर्याएको योगदान अति महत्त्वपूर्ण छ,' उनले भने,  'प्रेसमाथि समस्या आउँदा त्यसको असर समग्र लोकतान्त्रिक प्रणालीमै पर्छ भन्ने कुरा बिर्सिनुहुँदैन।'

त्यसैक्रममा नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको विषयलाई पार्टीको महत्वपूर्ण एजेन्डाका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए । सञ्चारमाध्यमलाई कमजोर बनाउने वा पत्रकारिता क्षेत्रलाई संकटमा पार्ने कुनै पनि अवस्थाले लोकतान्त्रिक अभ्यासलाई समेत कमजोर बनाउने भएकाले यस विषयमा पार्टी गम्भीर भएर प्रस्तुत हुने उनको भनाइ थियो।

सुझावित समाचार