करेन्ट र चट्याङ लागेर उदयपुरमा दुईजनाको मृत्यु

आइतबार, २८ भदौ, २०८३
डिजिटल संस्करण

उदयपुरमा करेन्ट र चट्याङ लागेर दुईजनाको मृत्यु भएको छ। चौदण्डीगढी नगरपालिका– ५, सिवाईका ६८ वर्षीय सुकदेव चौधरीको पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेर मृत्यु भएको हो भने कटारी नगरपालिका– ८ का ३५ वर्षीय रुद्रबहादुर तामाङको चट्याङ लागेर मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डिएसपी गणेशबहादुर बमका अनुसार चौधरीलाई आज आइतबार बिहान आफ्नै घरपछाडिको कलमा पानी तान्ने मोटर चलाउने क्रममा अचानक करेन्ट लागेको थियो।

घटनाको खबर पाएपछि इलाका प्रहरी कार्यालय सुन्दरपुर र बेल्टारबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले शवको प्रारम्भिक कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमपछि परिवारलाई बुझाएको छ।

त्यस्तै, तामाङलाई हिजो शनिबार दिउँसो आफ्नै घरको झ्याल बन्द गर्ने क्रममा अविरल वर्षासँगै परेको चट्याङको झट्का लागेको थियो।

गम्भीर घाइते भएका उनलाई उपचारका लागि प्रादेशिक अस्पताल कटारी लगिएको थियो। अस्पतालका चिकित्सकले साँझ नै उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ। दुवै घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सुझावित समाचार