विकास बैंकहरूको चुक्ता पुँजी ४५ अर्ब ४९ करोड रुपैयाँभन्दा बढी पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार ०८२/८३ को असार मसान्तसम्ममा राष्ट्रिय तथा क्षेत्रीयस्तरका विकास बैंकहरूको कुल चुक्ता पुँजी ४५ अर्ब ४९ करोड ५२ लाख ९७ हजार रुपैयाँ कायम भएको हो ।
बैंकहरूको प्राथमिक पुँजी ६४ अर्ब २६ करोड २९ लाख रुपैयाँ र कुल पुँजी कोष ७९ अर्ब ८१ करोड २१ लाख रुपैयाँ पुगेको छ । यसैगरी, बैंकहरूको कुल जोखिम भारित सम्पत्ति पाँच खर्ब ४७ अर्ब ६३ करोड १७ लाख रुपैयाँ रहेको छ । समग्र विकास बैंक क्षेत्रको औसत प्राथमिक पुँजीकोष अनुपात ११.७३ प्रतिशत र कुल पुँजीकोष अनुपात १४.५७ प्रतिशत रहेको छ ।
चुक्ता पुँजीका आधारमा मुक्तिनाथ विकास बैंक सबैभन्दा अगाडि रहेको छ । बैंकको चुक्ता पुँजी आठ अर्ब रुपैयाँ पुगेको छ । यस्तै, गरिमा विकास बैंक ६ अर्ब दुई करोड रुपैयाँसहित दोस्रो र साइन रेसुंगा डेभलपमेन्ट बैंक पाँच अर्ब दुई करोड रुपैयाँ चुक्ता पुँजीसहित तेस्रो स्थानमा छन् ।
पुँजीकोष अनुपातमा कर्पोरेट डेभलपमेन्ट बैंक सबैभन्दा बलियो देखिएको छ । कर्पोरेटको यस्तो अनुपात ३९.७३ प्रतिशत छ । सलपा विकास बैंकको ३२.६९ प्रतिशत र मितेरी डेभलपमेन्ट बैंकको २५.७५ प्रतिशतको पुँजीकोष अनुपात छ ।
राष्ट्रियस्तरका ठुला विकास बैंकहरूमध्ये महालक्ष्मी विकास बैंकको पुँजीकोष अनुपात १७.५७ प्रतिशत र प्राथमिक पुँजीकोष अनुपात १४.०४ प्रतिशत कायम भएको छ ।
समस्याग्रस्त बैंकको वर्गमा राखिएको कर्णाली डेभलपमेन्ट बैंकको पुँजी पर्याप्तता अनुपात भने १४२.६३ प्रतिशत ऋणात्मक रहेको छ ।असार मसान्त ०८३ सम्ममा विकास बैंकहरूको कुल निक्षेप संकलन ६ खर्ब ६१ अर्ब ९१ करोड १६ लाख रुपैयाँ र कुल कर्जा पाँच खर्ब ५१ अर्ब ४५ करोड ९६ लाख रुपैयाँ रहँदा औसत कर्जा निक्षेप अनुपात ८४.१० प्रतिशत कायम भएको छ ।
कुन बैंकको खराब कर्जा कति ?
१६ वटा विकास बैंकहरूले कुल पाँच खर्ब ५१ अर्ब ४५ करोड ९६ लाख रुपैयाँ कर्जा प्रवाह गर्दा औसत खराब कर्जा ५.३७ प्रतिशत पुगेको छ । विकास बैंकहरूमध्ये मितेरी डेभलपमेन्ट बैंकको खराब कर्जा सबैभन्दा कम ०.२६ प्रतिशत र सालपा विकास बैंकको ०.७९ प्रतिशत मात्र रहेको छ । त्यसैगरी, ग्रिन डेभलपमेन्ट बैंकको खराब कर्जा ३.२२ प्रतिशत र कामना सेवा विकास बैंकको ३.७७ प्रतिशत छ ।
त्यस्तै, सप्तकोशी डेभलपमेन्ट बैंकको खराब कर्जा ७.६८ प्रतिशत, सिन्धु विकास बैंकको ७.६६ प्रतिशत, लुम्बिनी विकास बैंकको ६.९४ प्रतिशत र ज्योति विकास बैंकको ६.५५ प्रतिशत रहेको छ । यसको विपरीत नारायणी डेभलपमेन्ट बैंकको खराब कर्जा अत्यधिक भई ४८.५१ प्रतिशत पुगेको छ । यस्तै, समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकको खराब कर्जा भने ९७.४५ प्रतिशतसम्म पुगेको छ ।
