एनआइसी एसिया क्यापिटलको वार्षिक साधारण सभा सम्पन्न

शनिबार, २७ भदौ, २०८३
डिजिटल संस्करण

एनआइसी एसिया क्यापिटल लिमिटेडको १०औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। क्यापिटलको रजिस्टर्ड कार्यालय थापाथलीमा शुक्रबार सम्पन्न सभाले विभिन्न प्रस्तावहरू पारित गरेको छ।

साधारण सभाले आर्थिक वर्ष ०८२/८३ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै ०८३ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायत वार्षिक वित्तीय विवरणउपर छलफल गरी पारित गरेको हो। सभाबाट सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम चुक्ता पुँजीको ५० प्रतिशत (करसहित) का दरले नगद लाभांश वितरण गर्ने प्रस्तावसमेत पारित भएको छ। 

सभामा सञ्चालक समितिका अध्यक्ष रुपेश लुइँटेलले २० करोड रुपैयाँ चुक्ता पुँजी भएको क्यापिटलले समीक्षा अवधिमा २८ करोड ९८ लाखभन्दा बढी आम्दानी गरी १० करोड ५१ लाख रुपैयाँभन्दा बढी खुद मुनाफा आर्जन गर्न सफल भएको व्यहोरा जानकारी गराए।

त्यसैगरी, व्यवसायतर्फ असार मसान्त, २०८३ सम्म ८ लाख ६३ हजारभन्दा बढी डिम्याट खाता खोल्न सफल भएको, म्युचुअल फन्ड सेवाअन्तर्गत ४ वटा बन्दमुखी र दुईवटा खुलामुखी योजनामार्फत ७ अर्बभन्दा बढी रकम व्यवस्थापन गर्न सफल भएको, लगानी व्यवस्थापन सेवाअन्तर्गत ७१० जना ग्राहकहरूबाट ३ अर्ब रुपैयाँभन्दा बढीको रकम व्यवस्थापन गर्न सफल भएको जानकारी गराइयो।

कम्पनीले सेयर रजिस्ट्रार सेवाअन्तर्गत २४ वटा कम्पनीलाई सेवा उपलब्ध गराइरहेको तथा ‘आइडिया टू आइपिओ’ सेवाअन्तर्गत २५ वटा कम्पनीको निष्कासन कार्य सम्पन्न गरिसकेको व्यहोरासमेत उनले सभालाई जानकारी गराए।

साथै, क्यापिटलले १०औँ वार्षिक साधारण सभामा प्रस्ताव गरेको लाभांशसहित आफ्ना सेयरधनीलाई हालसम्म ३४० प्रतिशत रिटर्न वितरण गर्न सफल भएको जनाएको छ।

सुझावित समाचार