एसिसी प्रिमियर कपको फाइनलमा नेपालका ओपनर आसिफ शेखले अर्धसतक बनाएर पेभिलियन फर्किएका छन् । शनिबार मलेसियाको बायुमास क्रिकेट ओभल चलिरहेको फाइनलमा आसिफले १०३ बलमा आठ चौका र चार छक्कासहित एक सय रन बनाएका हुन् ।
उनले सतक बनाउँदा नेपालले ३४ ओभरमा दुई विकेट गुमाएर १८५ रन बनाएको थियो । २५ वर्षीय आसिफको यो दोस्रो सतक हो । यसअघि उनले कीर्तिपुर मैदानमा पिएनजीविरुद्ध सन् २०२३ मा पहिलो पटक सतक बनाएका थिए ।
७६ एकदिवसीय खेल खेलिरहेका आसिफले हालसम्म दुई सतक र १५ अर्धसतक बनाएका छन् । टस जितेको नेपालको लागि ओपनर अर्जुन कुमाल र आसिफ शेखले उत्कृष्ट सुरुआत गरेका थिए । दुई खेलाडीबीच पहिलो विकेटको लागि ९७ रनको साझेदारी भएको थियो ।
अर्का युवा ओपनर अर्जुन ६३ बलमा ४३ रन बनाउँदा रन आउट भएका हुन् । उनले ६ चौका प्रहार गरेका थिए । तेस्रो नम्बर क्रिजमा आएका इशान पाण्डे १३ रन बनाएर आउट भए । अहिले रोहितकुमार पौडेल र गुल्शन झा ब्याटिङ गरिरहेका छन् । रोहितले २१ रन बनाएका छन् ।
यो फाइनल जित्ने टोली सन् २०२७ को एसिया कपमा स्थान बनाउने छ ।