सहकारीमा सम्पत्ति शुद्धीकरण र आतंकवादी वित्तीय लगानी रोक्न प्राधिकरणको मार्गदर्शन : एक करोडभन्दा माथिको कारोबार गर्दा वित्तीय सूचना एकाइमा जानकारी दिनुपर्ने

नेपालको राष्ट्रिय जोखिम मूल्यांकनले सहकारी क्षेत्रलाई सम्पत्ति शुद्धीकरणका दृष्टिले ‘मध्यम–उच्च’ जोखिमयुक्त सूचीमा राखेको छ

शनिबार, २७ भदौ, २०८३
डिजिटल संस्करण

सहकारी क्षेत्रमा अवैध धनको प्रवाह, सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) तथा आतंकवादी कार्यमा वित्तीय लगानी रोक्न राष्ट्रिय सहकारी नियमन प्राधिकरणले मार्गदर्शन जारी गरेको छ । वित्तीय क्षेत्रमा बैंक तथा वित्तीय संस्थाले कडा व्यवस्था लागू गरेपछि तुलनात्मक रूपमा खुकुलो मानिने सहकारी क्षेत्रलाई अवैध रकम लुकाउने र प्रयोग गर्ने माध्यम बनाउन सक्ने जोखिमलाई ध्यानमा राखेर प्राधिकरणले यो व्यवस्था ल्याएको हो ।

प्राधिकरणले जारी गरेको मार्गनिर्देशनअनुसार कुनै पनि सदस्यले एकै दिन एकपटकमा वा पटक–पटक गरी एक करोेड वा सोभन्दा बढीको नगद कारोबार गरेमा १५ दिनभित्र वित्तीय सूचना एकाइलाई जानकारी दिनुपर्ने भएको छ । शंकास्पद कारोबार वा गतिविधि देखिएमा वित्तीय जानकारी एकाइको गोएएमएल प्रणालीमार्फत तत्काल रिपोर्टिङ गर्नुपर्नेछ । यसका लागि सबै सहकारी संस्था गोएएमएलमा सूचीकृत हुनु अनिवार्य भएको छ । शंकास्पद रिपोर्टिङबारे सम्बन्धित सदस्य वा अन्य कसैलाई जानकारी दिन पाइनेछैन । जानकारी चुहावट गरेमा सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा ४४ (क) अनुसार कारबाही हुने निर्देशनमा उल्लेख छ ।

नेपालको राष्ट्रिय जोखिम मूल्यांकनले सहकारी क्षेत्रलाई सम्पत्ति शुद्धीकरणका दृष्टिले ‘मध्यम–उच्च’ जोखिमयुक्त सूचीमा राखेको छ । ठुलो आकार, व्यापक वित्तीय कारोबार, राजनीतिक रूपमा विशिष्ट व्यक्तिको प्रत्यक्ष वा अप्रत्यक्ष संलग्नता, सहकारी कानुनविपरीत रकमको दुरुपयोग, सदस्य पहिचानको सही कार्यान्वयन नहुनु, वास्तविक धनीको पहिचानमा कमजोरी, उच्च नगद कारोबार र शंकास्पद कारोबार पहिचानमा सीमितताका कारण सहकारी क्षेत्र उच्च जोखिममा परेको प्राधिकरणको निष्कर्ष छ ।

प्राधिकरणका अनुसार सहकारीहरू भ्रष्टाचार, घुसखोरी, ठगी, विभिन्न साइबर अपराध तथा अवैध धनको भण्डारण र शुद्धीकरणमा दुरुपयोग हुन सक्छन् । यसलाई रोक्न प्राधिकरणले अन्तर्राष्ट्रिय वित्तीय कारबाही कार्यदल (एफएटिएफ)को ढाँचाअनुसार वित्तीय संस्थाले अपनाउनुपर्ने सिफारिस सहकारीका लागि पनि अनिवार्य गरेको छ । 

मार्गदर्शनअनुसार अब सहकारी संस्थाले अनिवार्य रूपमा सदस्यको पहिचान गर्नुपर्नेछ । खाता खोल्दा, पुराना विवरण अपर्याप्त वा पुरानो हुँदा, शंकास्पद कारोबारमाथि आशंका हुँदा वा उच्च जोखिमयुक्त सदस्यसँग कारोबार गर्दा नागरिकता, राष्ट्रिय परिचयपत्र, पासपोर्ट वा सवारीचालक अनुमतिपत्रजस्ता सरकारी कागजातका आधारमा सदस्यको वास्तविक पहिचान, कारोबारको उद्देश्य र आम्दानीको स्रोत स्पष्ट खुलाउनुपर्नेछ । ‘तपाईँ को हो ?’, ‘पैसाको वास्तविक धनी को हो ?’, ‘यो अस्वाभाविक त छैन ?’ र ‘तपाईँ कत्तिको जोखिमयुक्त हुनुहुन्छ ?’ भन्ने प्रश्नहरूको निरूपण गरेर मात्र खाता सञ्चालन गर्न दिइनेछ । 

पाँच लाखभन्दा बढी झिक्न नपाइने
सहकारीसहित सम्पूर्ण वित्तीय संस्थाबाट एकपटकमा पाँच लाख रुपैयाँभन्दा बढी नगद झिक्न नपाइने नियमलाई कडाइका साथ पालना गराउन भनिएको छ । यद्यपि, स्पष्ट र व्यावहारिक कारणसहित परेको निवेदन जायज देखिएमा सीमाभन्दा बढी रकम निकाल्न दिन सकिनेछ । राजनीतिक वा उच्च सार्वजनिक पदमा रहेका व्यक्ति, तिनका परिवार र नजिकका साझेदारहरूको पहिचानका लागि सहकारीले स्वघोषणा, सार्वजनिक सूचना, सामाजिक सञ्जाल, व्यावसायिक डाटाबेस, सरकारी निकायका अभिलेख तथा वर्षको कम्तीमा एकपटक आन्तरिक सूची तयार गर्ने व्यवस्था मिलाउनुपर्नेछ ।

पदबाट हटेको वा अवकाश पाएको पाँच वर्षसम्म उनीहरूलाई ‘पिइपी’कै सूचीमा राखी कारोबारको सूक्ष्म अनुगमन गर्नुपर्नेछ ।सदस्यको पहिचान, खाता खोलिएका कागजात र कारोबारको सम्पूर्ण विवरण खाता बन्द भएको वा कारोबार सकिएको मितिले कम्तीमा पाँच वर्षसम्म सुरक्षित राख्नुपर्नेछ । कुनै मुद्दा वा अनुसन्धान चलिरहेको अवस्थामा भने मुद्दाको किनारा नलागेसम्म विवरण नष्ट गर्न पाइनेछैन ।

संयुक्त राष्ट्रसंघको प्रतिबन्ध सूची र नेपालको टिएफएस पोर्टलमार्फत नयाँ सूचीकृत व्यक्ति वा संस्था सहकारीमा आबद्ध छन् वा छैनन् भनेर कारोबारअघि नै जाँच गर्नुपर्नेछ । सूचीकृत व्यक्ति वा संस्थाको खाता वा सम्पत्ति भेटिएमा २४ घण्टाभित्र रोक्का गरी तीन दिनभित्र नियमनकारी निकायलाई खबर गर्नुपर्नेछ ।

२९ वटा प्रमुख ‘रेड फ्ल्याग’
प्राधिकरणले वित्तीय जानकारी एकाइको निर्देशिकाअनुसार सहकारीमा हुन सक्ने शंकास्पद कारोबारका २९ वटा प्रमुख ‘रेड फ्ल्याग’ तोकेको छ । नक्कली नाम वा विवरण दिएर खाता खोल्नु, सेवा क्षेत्रभन्दा बाहिरको व्यक्तिले तर्कसंगत कारणविना खाता खोल्नु, सदस्यको वित्तीय प्रोफाइल र कारोबारको ढाँचामा एक्कासि परिवर्तन आउनु, व्यावसायिक प्रयोजनका लागि व्यक्तिगत खाता वा व्यक्तिगत प्रयोजनका लागि व्यावसायिक खाता प्रयोग गर्नु, कर्जा सूचना केन्द्रको कालोसूचीमा परेका वा उच्च जोखिमयुक्त वर्गका सदस्यले शंकास्पद कारोबार गर्नु र जटिल रकम स्थानान्तरण गरी स्रोत लुकाउन खोज्ने कार्यलाई तोकिएको छ । 

यसैगरी, आतंकवादी संस्थासँग जोडिएका संस्थाको नाममा खाता खोल्नु, नदेखिएका वा नभएका सम्पत्ति बिक्रीको बहानामा बारम्बार पैसा जम्मा गर्नु, निष्क्रिय खाताबाट एक्कासि ठुलो रकम झिक्नु, स्पष्ट कारणविना सम्बन्धित व्यावसायिक खातासँग जोडिनु, संस्थागत खातामा मुख्यतः नगद नै जम्मा वा निकासा हुनु,घाटा हुने वा अव्यावहारिक रकमान्तरणको माग गर्नु र पर्याप्त मौज्दात नभएर बारम्बार चेक फिर्ता हुनु पनि रेड फ्ल्याग हुन् ।

त्यस्तै, नक्कली नोट वा सिक्काको प्रयोग हुनु, बचत खातामा सुरुवाती घोषणाभन्दा अस्वाभाविक धेरै कारोबार हुनु, एउटै खाताबाट पटक–पटक धेरै खातामा रकम पठाउनु, सहकारीको रकम सञ्चालक समितिका सदस्यको निजी बैंक खातामा ट्रान्सफर हुनु, सेयरको तुलनामा अस्वाभाविक लाभांश पाउनु, र गैरसदस्यको रकम लुकाउन वा सीमा छल्न कर्मचारीको खाता प्रयोग हुनुलाई शंकास्पद मानिनेछ ।

सहकारीसँग जोडिएका डिजिटल वा मोबाइल वालेटको अस्वाभाविक प्रयोग हुनु, गैरसदस्य वा असम्बन्धित तेस्रो व्यक्तिले बारम्बार कारोबार सञ्चालन गर्नु, सदस्यता वा ऋणका कागजात अपूरो वा नक्कली हुनु, सहकारीको वाणिज्य बैंक खाताबाट सदस्यका लागि सीमापार (क्रस–बोर्डर) रकम ट्रान्सफर गर्नु, चक्रिय वा दोहोरो कारोबार हुनु, अमुक लाभग्राहीका लागि नगद चन्दा उठाउनु, अस्वाभाविक रूपमा समयभन्दा धेरैअघि ऋण चुक्ता गर्नु र वास्तविक मूल्यांकन वा कानुनी दर्ताविना सहकारीको खाताबाट घरजग्गा वा अन्य सम्पत्ति खरिद गरिनुलाई पनि रेड फ्ल्यागभित्र राखिएको छ । सहकारीहरूले सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा ३५ अनुसार संस्थागत जोखिम मूल्यांकन प्रतिवेदनसमेत तयार गरी नियामक निकायमा बुझाउनुपर्नेछ ।

सबै सहकारी संस्था ‘गोएएमएल’मा अनिवार्य
सूचीकृत हुनुपर्ने, अब सहकारी संस्थाले अनिवार्य रूपमा सदस्यको पहिचान गर्नुपर्ने
राजनीतिक वा उच्चपदस्थ व्यक्तिको आन्तरिक
सूची तयार गर्नुपर्ने, सदस्यको सम्पूर्ण विवरण खाता बन्द भएको वा कारोबार सकिएको मितिले कम्तीमा पाँच
वर्ष सुरक्षित राख्नुपर्ने
संयुक्त राष्ट्रसंघको प्रतिबन्ध सूची र नेपालको टिएफएस पोर्टलमार्फत नयाँ सूचीकृत व्यक्ति वा संस्था सहकारीमा आबद्ध छन् वा छैनन् भनेर कारोबारअघि नै जाँच गर्नुपर्ने

सुझावित समाचार