सोलुखुम्बुको महाकुलुङ गाउँपालिका– २ र ४ को बिचमा पहिरो खसेर हुंगा खोला थुनिएपछि उदयपुरको सुनकोशी नदीतटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ। खोलामा बनेको अस्थायी ड्यामबाट पानीको बहाब जुनसुकै वेला बढ्न सक्ने भएकाले नदीआसपासका बासिन्दालाई सचेत रहन आग्रह गरिएको हो।
महाकुलुङ– २ स्थित गौरीशंकर हाइड्रोपावरको हेड अफिसबाट करिब सय मिटर तल शुक्रबार बिहान करिब सात बजे पहिरो खसेर हुंगा खोला थुनिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। करिब ३५ मिटर अग्लो पहिरो खसेपछि खोलामा करिब सय मिटर लामो र १५ मिटर अग्लो ड्याम बनेको बताइएको छ।
ड्याममा पानी जम्मा भएपछि बिहान करिब ९ः१० बजेदेखि पानी निकास हुन थालेको भए पनि खोलाको बहाबमा अचानक परिवर्तन आउन सक्ने भएकाले तल्लो तटीय क्षेत्रमा जोखिम कायमै रहेको प्रहरीले जनाएको छ। हुंगा खोलाको पानी सोताङ, थुलुङ दुधकोशी र नेचासल्यान क्षेत्र हुँदै दुधकोशी नदीमा मिसिन्छ। दुधकोशी नदी हुँदै सम्भावित बाढीको प्रभाव उदयपुरका सुनकोशी नदीतटीय क्षेत्रमा समेत पर्न सक्ने भएकाले प्रशासनले सतर्कता बढाएको हो।
उदयपुरका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मग्रांतीका अनुसार सुनकोशी नदीआसपासका कटारी, ताप्ली, लिम्चुङबुङ, रौतामाई, त्रियुगा, चौदण्डीगढी र बेलका क्षेत्रका बासिन्दालाई विशेष सतर्क रहन आग्रह गरिएको छ।
नदीमा पानीको सतह अचानक बढ्न सक्ने भएकाले नदी किनारमा अनावश्यक रूपमा नजान प्रशासनले आग्रह गरेको उनले बताए। ‘नदीको बहाबमा जुनसुकै वेला परिवर्तन आउन सक्ने भएकाले तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छौँ,’ प्रजिअ मग्रांतीले भने, ‘नदीकिनारमा माछा मार्ने, पौडी खेल्ने, दाउरा तार्ने वा अन्य प्रयोजनका लागि जाने काम नगर्न अनुरोध गरेका छौँ।’
उनले नदीआसपास बसोबास गर्ने नागरिकलाई स्थानीय तह र सुरक्षा निकायबाट जारी हुने सूचना निरन्तर सुन्न तथा जोखिम बढे सुरक्षित स्थानतर्फ जानसमेत आग्रह गरिएको बताए। हुंगा खोला थुनिएलगत्तै इलाका प्रहरी कार्यालय सोताङ र मातहतका प्रहरी टोली घटनास्थलमा परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। प्रहरीले घटनास्थलको अवस्था तथा खोलाको पानीको बहाबबारे निगरानी गरिरहेको जनाएको छ।
हुंगा खोला क्षेत्रमा सञ्चालित गौरीशंकर हाइड्रोपावर, दुधकोशी– २ हाइड्रोपावर नेपाल तथा सहास ऊर्जा लिमिटेडका आयोजनालाई समेत घटनाबारे जानकारी गराइएको प्रहरीले जनाएको छ। ती आयोजनामा कार्यरत कामदार तथा सवारीसाधनलाई सम्भावित जोखिमबाट सुरक्षित स्थानतर्फ सार्नसमेत सूचित गरिएको छ।
उदयपुरतर्फ पनि सम्भावित जोखिमलाई मध्यनजर गर्दै स्थानीय तह तथा सुरक्षा निकायले सुनकोशी नदीको तटीय क्षेत्रको अवस्थाबारे निगरानी बढाएका छन्। नदीमा पानीको सतह बढेको वा अन्य कुनै आकस्मिक अवस्था देखिए तत्काल सुरक्षा निकायलाई जानकारी गराउन प्रशासनले आग्रह गरेको छ।
जिल्ला प्रहरी कार्यालय उदयपुरले आकस्मिक अवस्था वा थप जानकारी आवश्यक परे प्रहरीको आपतकालीन नम्बर १०० तथा जिल्ला प्रहरी कार्यालय उदयपुरको ९८५२८३५२७७ नम्बरमा सम्पर्क गर्न आग्रह गरेको छ।