जापानको राजधानी नागोया र आइचीमा हुने २०औँ एसियाली खेलकुद प्रतियोगिता खेल्न जाने नेपाली टोलीको बिदाइ गरिएको छ। बिहीबार सिंहदरबारस्थित शिक्षा तथा खेलकुद मन्त्रालयमा मन्त्री सस्मित पोखरेलले खेलाडी तथा अफिसियललाई बिदाइ गरेका हुन्।
असोज ३ देखि १८ गतेसम्म हुने प्रतियोगितामा २२ खेलका ५७ महिला र ७८ पुरुष गरी कुल १३५ खेलाडी, २९ प्रशिक्षक र १७ व्यवस्थापक तथा २ खेल प्राविधिक गरी जम्मा १८४ जना सहभागी हुनेछन्।

यस्तै, मेडिकल टिम ६ जना, पत्रकार ४ जना तथा विशिष्ट अतिथि, सेभ द मिसन, डेपुटी सेभ द मिसन र अन्य अफिसियल समेत गरी नेपालबाट यसपटकको एसियाली खेलकुदमा जम्मा २११ जना सहभागी हुने मन्त्री पोखरेलले जानकारी गराए।
‘सरकारको तर्फबाट जाने २११ जना हुन्। त्यसबाहेक अन्य कोही आफ्नो खर्चमा जानै हुनुहुन्छ होला,’ मन्त्री पोखरेलले बताए।

बिदाइ कार्यक्रममा कराँते खेलाडी भने सहभागी थिएनन्। उनीहरू अघिल्लो साता नै जापान पुगिसकेका छन्। कराँते टिमले एसियन गेम्ससँगै अर्को प्रतियोगिता पनि जापानमै खेल्दै छ। बिदाइ कार्यक्रममा कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता, राखेप उपाध्यक्ष विशाल श्रेष्ठसँगै अन्य सदस्यहरू सहभागी थिए।