सरकारको केन्द्र ज्वागल सर्‍यो, सचिवालयकाे शैली गुन्डाजस्ताे : सांसद सिंह

‘पक्राउ गर्न प्रहरी परिचालन भएकै दिन गौरीकुमारीले राजीनामा दिनुपर्थ्यो’

बिहिबार, २५ भदौ, २०८३
डिजिटल संस्करण
सरकारको केन्द्र ज्वागल सर्‍यो, सचिवालयकाे शैली गुन्डाजस्ताे : सांसद सिंह

फाइल तस्बिर

सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीकै सांसदले सरकार र प्रधानमन्त्रीको सचिवालयको कार्यशैलीप्रति आपत्ति जनाएका छन्। बिहीबार प्रतिनिधिसभा बैठकमा रास्वपा सांसद अमरेशकुमार सिंहले ज्वागलबाट हुकुमी शैलीमा शासन सत्ता चलेको भन्दै असन्तुष्टि जनाएका हुन्।

क्षमता भए प्रधानमन्त्रीको कानमा सल्लाह दिन सुझाव दिँदै उनले भने, सरकारका केन्द्र मैले सिंहदरबार बुझेको थिएँ। तर, सरकारको केन्द्र ज्वागल बनेको छ। हुकुमी शासन चलिरहेको छ।’ प्रधानमन्त्रीको सल्लाहकारको योग्यतामा प्रश्न गर्दै उनले थपे, ‘मलाई लाग्दैन उहाँको सल्लाहकार हार्वर्ड, अक्सफोर्ड वा क्याम्ब्रिज पढेको हो।’

संविधानले गणतन्त्र, संघीयता, समावेशिता र धर्मनिरपेक्षतालाई चार पिल्लर मानेको उल्लेख गर्दै सांसद सिंहले यी चारवटै विषयमा प्रहार भइरहेको बताए। सरकार संविधानअनुसार नचलेको उनको आरोप छ।

सिंहले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका डिजीलाई मध्यराति कन्पट्टीमा पेस्तोल राखेर अमुक व्यक्तिको नाममा ‘रेड कर्नर नोटिस’ जारी गर्न धम्की दिइएको र प्रहरी प्रमुखलाई बेइज्जत गरिएको दाबी गरेका छन्।

कार्यसम्पादनमा चित्त नबुझे प्रधानमन्त्रीले जुनसुकै वेला मन्त्रीलाई बर्खास्त गर्न सक्ने भए पनि मध्यराति उद्योगमन्त्री गौरीकुमारी यादवलाई पक्राउ गर्न लगाएको उनको आरोप छ। उनले भने, ‘यो सचिवालयका केही साथीहरूको कुरा सुन्दा म आफैँ झसंग हुन्छु कि म कुन देशको सांसद हो– गुन्डा शैलीमा शासन गर्नुपर्छ भन्नुहुन्छ उहाँहरू।’
 

सुझावित समाचार