पुरानो सोचले नयाँ नेपाल बनाउन सकिँदैन, अझै पनि समय छ, सुध्रिनुस् : गृहमन्त्री गुरुङ

मंगलबार, २३ भदौ, २०८३
डिजिटल संस्करण

गृहमन्त्री सुधन गुरुङले पुराना राजनीतिक दलका नेताहरूले जेन–जी आन्दोलनलाई विभिन्न ढंगले व्याख्या गर्दै अपमान गरेको आरोप लगाएका छन्। जेन–जी सहिद दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले आन्दोलनको इतिहासलाई तोडमोड गर्ने प्रयास नगर्न पुराना दलका नेताहरूलाई चेतावनी दिएका हुन्।

गृहमन्त्री गुरुङले जेन–जी आन्दोलनलाई अपमान गर्नु भनेको देशका नागरिकको भावनालाई अपमान गर्नु भएको बताए। उनले भने, ‘त्यो दिन इतिहास हो र इतिहास कसैले फेरेर फेरिँदैन। इतिहासलाई फेर्ने कोसिस पनि नगर्नुस्।’

उनले पुराना दलका नेताहरूलाई आफ्नो सोच र कार्यशैली परिवर्तन गर्न आग्रह गर्दै नयाँ नेपाल पुरानो सोचबाट निर्माण हुन नसक्ने बताए। ‘अझै पनि समय छ, सुध्रिनुस्। त्यही पुरानो सोचले नयाँ नेपाल बनाउन सकिँदैन,’ उनले भने।

गुरुङले आफूहरू सत्ताको लोभ वा शक्तिको घमण्डका कारण राजनीतिमा नआएको दाबी गरे। भदौ २३ को आन्दोलनमा समेत आफूहरू तत्कालीन सत्ताको पक्षमा नरहेको उल्लेख गर्दै उनले जनताले विश्वास गरेर जिम्मेवारी दिएको बताए।

आफ्नो जिम्मेवारीप्रति आफू अत्यन्त सचेत रहेको बताउँदै गुरुङले कामका क्रममा कुनै कमजोरी नहोस् भनेर निरन्तर प्रयास गरिरहेको बताए। ‘मलाई सुत्न पनि डर लाग्छ। कुनै दिन मबाट कुनै कमजोरी पो भइहाल्ने हो कि, सयमा दिनुपर्नेमा ९९ मात्र पो दिने हो कि भन्नेमा,’ उनले भने।

उनले सुशासनको पक्षमा उभिएका युवामाथि तत्कालीन सरकारले गोली चलाएको आरोप पनि लगाए। अहिलेको सरकारले जेन–जी आन्दोलनका माग सम्बोधन गर्ने गरी काम गरिरहेको उनको दाबी छ।

सुझावित समाचार