काठमाडौंको ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गर्दै शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले १० जना बंगलादेशी नागरिकलाई पक्राउ गरेको छ।
काठमाडौं महानगरपालिका– २६ स्थित ठमेलका विभिन्न होटेल तथा गेस्टहाउसमा गैरकानुनी रूपमा बसोबास गरिरहेको र शंकास्पद गतिविधि गरिरहेको पाइएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक शरतकुमार थापा क्षेत्रीले जानकारी दिए।
पक्राउ पर्नेमा बंगलादेशको गाजीपुर, पुलिस स्टेसन गदबपुर घर भई ठमेलमा बस्दै आएका ४६ वर्षीय फहिमा अक्तार हसन, ४८ वर्षीय महामुद, ४५ वर्षीय महबुब हसन, ४९ वर्षीय रेपोन मेहमुद, ३० वर्षीय एमडी केरामोत अलिखान, ३० वर्षीय साहिदुर रहमान, ५० वर्षीय एमडी खलिलुर रहमान, २८ वर्षीय आरिफुर रहमान, ४२ वर्षीय एमडी मारुफ मृधा र ६४ वर्षीय मोहम्मद हनिफ मियाँ रहेका छन्।
प्रहरीका अनुसार उनीहरूलाई होटेल ढाका एक्सप्रेस, होटेल डी भेढा र होटेल अलरहमानलगायत विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको हो।
पक्राउ परेका सबैलाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि अध्यागमन विभाग पठाइएको प्रहरीले जनाएको छ।