एसिसी प्रिमियर कप : समूह विजेताका लागि नेपाल आज हङकङसँग प्रतिस्पर्धा गर्दैै

एसिया कप पाँचपटक खेलिसकेको अनुभवी हङकङले सेमिफाइनलमा स्थान बनाउन नेपाललाई हराउनुपर्ने

मंगलबार, २३ भदौ, २०८३
डिजिटल संस्करण

नेपाल एसिसी प्रिमियर कप, २०२६ को समूह ‘ए’मा विजेताका रूपमा अगाडि बढ्न चाहन्छ । मलेसियामा आयोजना भइरहेको एसिसी प्रिमियर कपमा सोमबार नेपालले समूह चरणकै अन्तिम खेलमा चिरपरिचित प्रतिद्वन्द्वी हङकङविरुद्ध प्रतिस्पर्धा गर्दै छ । यो खेल क्वालालम्पुरस्थित वायुमास क्रिकेट ओभलमा हुनेछ । नेपालले हङकङलाई हराउँदा समूह विजेता बन्नेछ । यस्तो अवस्थामा नेपालले सेमिफाइनलमा समूह ‘बी’को उपविजेताविरुद्ध खेल्नेछ । 

समूह ‘बी’को अंकतालिका रोमाञ्चक छ । शीर्ष स्थानमा अपराजित रहेको युएईले सर्वाधिक ६ अंक जोडेको छ । ओमान, कतार र कुवेतले समान ४ अंक जोडेका छन् । कतार र कुवेतले समूहका चार खेल सकाएका छन् । अब ओमान र युएईबिच अन्तिम खेल हुनेछ । युएईसँग पराजित हुँदा ओमान, कतार र कुवेतमध्ये एक टोली सेमिफाइनलमा पुग्नेछन् । युएईलाई हराउँदा ओमानको पनि ६ अंक हुनेछ । यस्तोमा ओमान र युएईबिचको रनरेटका आधारमा समूह विजेताको छिनोफानो हुनेछ । रनरेटमा युएई राम्रो अवस्थामा छ । 

सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपालले एक खेलअगाडि नै अन्तिम चारको स्थान पक्का गरेको छ । नेपालका मुख्य प्रशिक्षक स्टुआर्ट लले तेस्रो खेलमा साउदी अरेबियाविरुद्ध खेलेका प्लेइङ सेटका खेलाडीलाई मौका दिने सम्भावना छ । सन्दीपसँगै करण केसी, ललित राजवंशी, अलराउन्डर दीपेन्द्रसिंह ऐरी र गुल्सन झाले बलिङमा उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । ब्याटिङमा रोहितकुमार पौडेल, अर्जुन कुमाल, ईशान पाण्डे र पवन सर्राफले प्रशिक्षक स्टुवार्टका विश्वास तोडेका छैनन् । यसपटक मलेसियाको यात्रामा देव खनालसँगै शेर मल्ल, हेमन्त धामी, अर्जुन र पवनले अवसर पाएका हुन् । 

एसिसी प्रिमियर कपमा नेपालले लगातार ३ खेलमा ६ अंक जोडेको छ । नेपालले पहिलो खेलमा बहराइनलाई सात विकेट, दोस्रो खेलमा मलेसियालाई ६ विकेट तथा तेस्रो खेलमा साउदी अरेबियालाई पाँच विकेटले हराएको थियो । आयोजक मलेसिया र हङकङको समान ४ अंक छ ।

मलेसिया रनरेटमा बलियो हुँदै दोस्रो स्थानमा छ । समूह चरणको अन्तिम खेलमा नेपालविरुद्ध हङकङ गर या मरको स्थितिमा छ । पाँचपटक एसिया कप खेलेको हङकङलाई नेपालविरुद्ध जितको विकल्प छैन । हङकङ समूहमा बहराइनसँग ३२ रनले पराजित भएको थियो । हङकङ नेपालसँग पराजित हुँदा मलेसिया सेमिफाइनलमा पुग्नेछ । मलेसिया र हङकङबिचको खेल टाइ भएपछि भएको सुपर ओभरमा हङकङ नै विजयी भएको थियो । समूहमा समान दुई अंक रहेका साउदी र बहराइन भने बाहिरिसकेका छन् । 

निर्णायक खेलमा युएई र ओमान
समूह ‘बी’मा युएई र ओमानबिच समूह विजेताका लागि प्रतिस्पर्धा हुँदै छ । यसै खेलको विजेताले समूह विजेताको छिनोफनो गर्नेछ । यस समूहमा सिंगापुरले अंक जोड्न सकेन । १० टोली सहभागी लिगको समूह चरणका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । प्रतियोगिता विजेता एसिया कपमा छनोट हुनेछ । बंगलादेशमा हुने एसिया कपमा यसअघि नै टेस्ट राष्ट्रहरू भारत, श्रीलंका, पाकिस्तान, बंगलादेश र अफगानिस्तान छनोट भइसकेका छन् । 

२०औँ एसियाडको खेल तालिका सार्वजनिक
आगामी असोजमा जापानको नागोया र आइचीमा आयोजना हुने २०औँ एसियन खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ । एसियन क्रिकेट काउन्सिल (एसिसी)ले सहभागी राष्ट्रको टुंगो गरे पनि खेल तालिका सार्वजनिक गरेको थिएन ।

नेपालले समूह ‘ए’मा अफगानिस्तान र जापानसँग खेल्नेछ । समूह ‘बी’मा हङकङ, मलेसिया र ओमान छन् । भारत, बंगलादेश, श्रीलंका र पाकिस्तानले सोझै क्वार्टरफाइनल खेल्नेछन् । नेपालको पहिलो खेल २६ सेप्टेम्बरमा अफगानिस्तानसँग हुनेछ भने २७ सेप्टेम्बरमा आयोजक जापानसँग रहेको एसिसीले जनाएको छ ।  

नेपालले समूह चरण पार गरे क्वार्टरफाइनलमा भारत वा श्रीलंकामध्ये एक टोलीसँग खेल्नेछ । सन् २०२३ को एसियाडमा नेपाल क्वार्टरफाइनलमा पुगेको थियो । क्वार्टरफाइनलमा नेपाल भारतसँग पराजित भएको थियो । यसपटक नेपालले सिंगापुरमा भएको एसियन खेलकुद छनोटमा अपराजित रहेर एसियाडमा स्थान पक्का गरेको हो । 

सुझावित समाचार