कोशीटप्पु आरक्ष पुग्ने विदेशी पर्यटकको संख्या न्यून

सोमबार, २२ भदौ, २०८३
डिजिटल संस्करण

आठ वर्षको कुल पर्यटक आगमनमा विदेशीको हिस्सा १.८६ प्रतिशत मात्र

अर्ना अवलोकन, सिमसार र नदी पर्यटन तथा चराचुरुंगी अवलोकनजस्ता फरक पर्यटन उत्पादन दिने कोशीटप्पु आन्तरिक पर्यटककै भरमा 

व्यवस्थित पर्यटन उत्पादन, पूर्वाधार र अन्तर्राष्ट्रिय प्रचारप्रसारको अभावमा कोशीटप्पु वन्यजन्तु आरक्षमा विदेशी पर्यटकको संख्या अति न्यून देखिएको छ । आर्थिक वर्ष ०७५/७६ देखि ०८२/८३ सम्ममा कोशीटप्पु वन्यजन्तु आरक्ष घुम्न ९० हजार दुई सय ८३ पर्यटक आएका छन् । तीमध्ये विदेशी पर्यटकको संख्या एक हजार ६ सय ७९ मात्र छ । अर्थात्, आठ वर्षको कुल पर्यटक आगमनमा विदेशी पर्यटकको हिस्सा करिब १.८६ प्रतिशत मात्र छ ।

यो तथ्यांकले प्राकृतिक सम्पदाको दृष्टिले महत्वपूर्ण मानिएको कोशीटप्पु पर्यटन बजारमा गुमनामजस्तै देखाउँछ । विशेषगरी विदेशी पर्यटकका लागि वन्यजन्तु अवलोकन र सिमसार पर्यटनको गन्तव्यका रूपमा विकास गर्न सकिने सम्भावना हुँदाहुँदै त्यसअनुसारका पर्यटन संरचना पनि बन्न सकेका छैनन् ।

कोशीटप्पु वन्यजन्तु आरक्षका सहायक वार्डेन तथा सूचना अधिकारी मिथलेस महतोका अनुसार देशका अन्य राष्ट्रिय निकुञ्ज तथा आरक्षको तुलनामा यहाँ विदेशी पर्यटक आगमन निकै कम छ । गत आवमा १२ हजार आठ सय ८३ पर्यटक कोशीटप्पु आएका थिए । तीमध्ये विदेशी पर्यटकको संख्या तीन सय पाँच मात्र थियो । ‘चितवन बाघका लागि प्रसिद्ध छ, यहाँ अर्नाका लागि हो । तर, कमै मात्र विदेशी पर्यटक आउने गरेका छन्,’ उनले भने ।

आव ०८१/८२ मा ११ हजार ६ सय ६ पर्यटक आउँदा विदेशी पर्यटक तीन सय दुई यहाँ पुगेका थिए । त्यस्तै, आव ०८०/८१ मा कुल १२ हजार पाँच सय ५६ पर्यटकमध्ये तीन सय २७, ०७९/८० मा १२ हजार चार सय ७९ पर्यटकमध्ये तीन सय ११ र ०७८/७९ मा ११ हजार एक सय ६७ पर्यटकमध्ये एक सय ३० विदेशी पर्यटक कोशीटप्पु पुगेका थिए । ०७७/७८ मा नौ हजार आठ सय १८ पर्यटकमध्ये ७७, ०७६/७७ मा ११ हजार १४ पर्यटकमध्ये एक सय ८९ र ०७५/७६ मा आठ हजार सात सय ६३ पर्यटकमध्ये तीन सय ८८ विदेशी पर्यटकले कोशीटप्पु अवलोकन गरेका थिए । 

महतोका अनुसार पर्यटक आगमनको संख्या वार्षिक रूपमा स्थिर देखिए पनि विदेशी पर्यटकको संख्या बढ्ने प्रवृत्ति देखिएको छैन । बरु, पछिल्ला वर्षमा कुल पर्यटक संख्या १२ हजारआसपास पुग्दा पनि विदेशी पर्यटक तीन सय हाराहारीमै सीमित छन् । सूचना अधिकारी महतो पर्यटन पूर्वाधार र प्रचारप्रसारको अभावलाई मुख्य चुनौती मान्छन् । ‘देशका अन्य निकुञ्ज र आरक्षभन्दा धेरै कम विदेशी पर्यटक कोशीटप्पुमा आउने गरेका छन्,’ उनी भन्छन्, ‘चितवनजत्तिको पर्यटन विकास यहाँ हुन सकेन । प्रचारप्रसारको पनि अभाव भयो ।’

कोशीटप्पुको सबैभन्दा ठुलो आर्थिक सम्भावना यसको फरक प्राकृतिक पहिचान हो । नेपालमा वन्यजन्तु पर्यटन भन्नासाथ चितवनको गैँडा र बाघ तथा बर्दियाको जंगल सफारीको चर्चा हुने गर्छ । तर, कोशीटप्पुले अर्ना अवलोकन, सिमसार पर्यटन, नदी पर्यटन र चराचुरुंगी अवलोकनजस्ता फरक पर्यटन उत्पादन दिन सक्छ ।

व्यवस्थित प्रकृति पदयात्रा, बर्ड वाचिङ पदमार्ग, प्रशिक्षित स्थानीय गाइड, पर्यटक सूचना केन्द्र, व्याख्या केन्द्र, स्थानीय संस्कृति अनुभव गर्ने कार्यक्रम र समुदायमा आधारित होमस्टेजस्ता पर्यटन उत्पादन पर्याप्त रूपमा विकास हुन सकेका छैनन् ।

उदयपुरको चतरा क्षेत्रका पर्यटन व्यवसायी रमन भट्टराई सम्भावना हुँदाहुँदै पूर्वाधार अभावका कारण पर्यटकलाई लामो समयसम्म टिकाउन नसकिएको बताउँछन् । ‘हाम्रो बेलका बिच रिसोर्टबाट जंगल सफारी गराउन सुरु गरेको छु । तर, आरक्षभित्र जाने सडकको पूर्वाधार छैन,’ उनी भन्छन्, ‘त्रियुगा र सप्तकोशी नदीमा पैदल हिँड्ने पुल पनि छैन । पर्यटक गाइडको त कुरै छाडौँ ।’

०३२ मा स्थापना भएको कोशीटप्पु वन्यजन्तु आरक्ष सुनसरी, सप्तरी र उदयपुरमा एक सय ७३ वर्गकिलोमिटर क्षेत्रमा फैलिएको छ । ०४४ (सन् १९८७) देखि रामसार सूचीमा सूचीकृत यस आरक्ष जैविक विविधताका हिसाबले मुलुककै महत्वपूर्ण क्षेत्रमध्ये एक हो । आरक्षको कार्यालयका अनुसार स्तनधारीका ४२ प्रजाति, चराचुरुंगीका पाँच सय ३५, पुतलीका ७७, माछाका एक सय ४१, ढाड नहुने जीवका ५७, वनस्पतिमा सपुष्पक प्रजाति पाँच सय दुई, जडीबुटीका १८, डालेघाँसका ३३ र उन्युका १२ प्रजाति पाइन्छन् ।

स्तनधारीमा विशेषगरी जंगली हात्ती, अर्ना, गैँडा, बदेल, मृग, डल्फिन, गौरगाई, सालकलगायतका वन्यजन्तु पाइन्छन् । चराचुरुंगीमा खरमयुर, सानो खरमयुर, कालोभुँडी फोर, सेतोभुँडी फोरलगायत विभिन्न प्रजाति छन् । त्यस्तै, अजिंगर, सुनगोहोरो, घडियाल गोही, नीलगाई, चितल, लगुना, नीरबिरालो, वनबिरालो, दुम्सी र बँदेललगायतका वन्यजन्तु पनि पाइन्छन् । हिउँमा विदेशी चरा पनि यहीँ आउने गर्छन् । यीमध्ये अर्ना कोशीटप्पुको सबैभन्दा ठुलो पहिचान हो । विश्व संरक्षण संघको छैटौँ श्रेणीमा कोशीटप्पु पर्छ ।

सुझावित समाचार