नेपाली पुरुष क्रिकेट टोलीले लगातार तेस्रो जित निकालेर एसिसी प्रिमियर कप, २०२६ को सेमिफाइनलमा स्थान पक्का गरेको छ । मलेसियाको बायुमास ओभल मैदानमा आइतबार नेपालले साउदी अरेबियामाथि पाँच विकेटको सानदार जित निकालेको हो । नेपालले समूह ‘ए’को शीर्ष स्थानमा रहँदै अन्तिम चार स्थानमा पक्का गरेको हो । नेपालको जितमा ब्याटिङमा गुल्सन झा, ईशान पाण्डे र रोहितकुमार पौडेल चम्किए । बलिङमा कप्तान सन्दीप लामिछानेसँगै दीपेन्द्रसिंह ऐरी र ललितनारायण राजवंशीले धारिलो प्रदर्शन गरेका थिए ।
टस जितेर ब्याटिङ गरेको साउदी अरेबियाले ४९.२ ओभरमा सबै विकेट गुमाएर १९० रन बनाएको थियो । सहज देखिएको लक्ष्य पछ्याएको नेपालले ४१ ओभरमा पाँच विकेट गुमाएर १९३ रन जोड्यो । समूह ‘ए’मा नेपालले तीन खेलबाट ६ अंक जोडेको छ । नेपालले यसअघि बहराइनलाई सात तथा मलेसियालाई ६ विकेटले पराजित गरेको थियो ।
अब, नेपालले समूह चरणको अन्तिम खेल मंगलबार हङकङसँग खेल्नेछ । हङकङको ४ अंक छ । हङकङले अन्तिम चारको आशा जीवितै राख्न जित निकाल्नुपर्ने दबाब छ । यस समूहमा मलेसिया, बहराइन तथा साउदी अरेबियाले समान २ अंक बटुलेका छन् । समूह ‘ए’को विजेताले समूह ‘बी’को उपविजेताविरुद्ध फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ । त्यस्तै, समूह ‘बी’को विजेताले समूह ‘ए’को उपविजेतासँग प्रतिस्पर्धा गर्नेछ । १० टोली सहभागी प्रतियोगिताको च्याम्पियन एसिया कपमा छनोट हुनेछ । नेपाल सन् २०२३ पछि एसिया कप खेल्ने योजनामा छ । नेपालले रोहित पौडेलको कप्तानीमा पहिलोपटक एसिया कप खेलेको थियो ।
दुई बलियो साझेदारी साउदी अरेबियाले प्रस्तुत गरेको मध्यम लक्ष्य
पछ्याएको नेपाली ब्याट्सम्यानले संघर्ष गरेका थिए । निरन्तर विकेट पतन भए पनि नेपालको ब्याटिङ इनिङ्समा दुई महत्वपूर्ण साझेदारी नै जितको आधार बनेको थियो । नेपालका अलराउन्डर गुल्सन झाले ३५ बलको सामना गरी अविजित सर्वाधिक ४४ रन बनाए । उनले समान तीन चौका र छक्का प्रहार गरे । ईशान पाण्डेले ४० रन बनाए । उनले ५९ बलमा दुई चौका प्रहार गरे । देव खनालले ५८ बलमा समान एक चौका र छक्कासहित ३९ जोडे । पूर्वकप्तान रोहितले अविजित २४ तथा आसिफ शेखले २० रन बनाए ।
नेपालको ब्याटिङमा देव र ईशानले तेस्रो विकेटका लागि १०५ बलमा सर्वाधिक ७३ रनको साझेदारी गरे । यसैगरी छैटौँ विकेटका लागि गुल्सन र रोहितबिच अविजित ६१ रनको साझेदारी भएपछि नेपाल लगातार तेस्रो जित निकाल्न सफल भएको हो । साउदी अरेबियाका बलर महमद अतिफ र इस्तिआक महमदले समान दुई विकेट लिए । महमद हिसाम शेखले एक विकेट हात पारे ।
साउदी अरेबियाको ब्याटिङमा वाहिद चम्के
साउदी अरेबियाका ओपनर अब्दुल वाहिदले सर्वाधिक ७७ रनको योगदान दिएका थिए । उनले ८९ बलमा १० चौका र दुई छक्का प्रहार गरे । महमद अतिफले ३० तथा मोहमद हिसाम शेखले २८ रनको योगदान गरे । दोस्रो विकेटका लागि साउदी अरेबियाका अतिफ र वाहिदले सर्वाधिक ९४ रनको साझेदारी गरी टोलीको ब्याटिङ सम्हाले ।
साउदी अरेबियाले इनिङ्सको २.१ ओभरमा पहिलो विकेट गुमाएको थियो । अतिफ र वाहिदले २२.६ ओभरसम्म क्रिजमा रहँदै ९४ रनको बलियो साझेदारी गरेका हुन् । ओपनर तथा कप्तान वासी उल हसनलाई ललितले क्लिन बोल्ड गरेका थिए । त्यसपछि साउदी अरेबिया दबाबमा आएको थियो । नेपालका लागि सन्दीप र दीपेन्द्रसिंहले समान तीन विकेट लिए । सन्दीपले दुई मेडनसहित १९ रन खर्चिए । दीपेन्द्रसिंहले ९.२ ओभरमा ४३ रन खर्चिएका थिए । ललितले दुई विकेट हात पारे । शेर मल्ल र गुल्सन झाले समान एक विकेट लिएका थिए ।
युएईको सेमिफाइनल सम्भावना बलियो
प्रतियोगिताअन्तर्गत समूह ‘बी’मा युएई लगातार तेस्रो जित निकाल्दै सेमिफाइनलनजिक पुगेको छ । आइतबार नै भएको खेलमा युएईले सिंगापुरलाई सात विकेटले हरायो । सिंगापुरले दिएको १७३ रनको लक्ष्य युएईले २४.३ ओभरमा तीन विकेट गुमाउँदै जित निकालेको थियो । समूह विजेता बन्न युएईले अन्तिम खेलमा अर्काे बलियो टोली ओमानसँग खेल्नेछ ।
समूहमा युएई ६ अंकसहित शीर्ष स्थानमा छ । ओमान र कुवेतको समान ४ अंक छ । यस समूहमा तीन टोलीबिच सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुनेछ । कुवेतसँग चार विकेटले पराजित भएपछि ओमान दबाबमा छ । युएईविरुद्धको खेलमा ओमान गर या मरको स्थितिमा हुनेछ । कतारको २ अंक रहँदा सिंगापुर भने जितविहीन छ ।
