काठमाडौँमा रात्रिकालीन यातायात सेवालाई विस्तार गरी अन्तर नगर यातायात सञ्जाल विकास गर्न सिफारिस भएको छ । काठमाडौं महानगरपालिकाले गठन गरेको अध्ययन समितिले आठवटा नगरपालिका छुने गरी सेवा विस्तार गर्न सुझाव दिएको हो ।
काठमाडौं महानगरपालिकाका ट्राफिकविज्ञ सल्लाहकार जगतमान श्रेष्ठको संयोजकत्वमा गठित समितिले यो अध्ययन गरेको हो । अध्ययन समितिमा महानगरपालिकाका वरिष्ठ लेखा अधिकृत विपुल तिवारी, सिभिल इन्जिनियर आँचल आचार्य, साझा यातायातका सहायक प्रबन्धक इन्जिनियर जनक रिसाल र यातायात व्यवस्थापन अधिकृत शंकर बस्याल सदस्य थिए।
प्रतिवेदन बुझ्दै महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले उपत्यकाका स्थानीय तहको सहभागिता सुनिश्चित गरेर दिगो प्रणाली स्थापना तयारीमा रहेको बताइन्।
३ महिनामा ६६ हजार यात्रुले लिए सेवा
प्रतिवेदन बुझ्ने क्रममा परीक्षणकालीन सेवाको ३ महिना अवधिको समीक्षा गर्दै गरिएको थियो। यस अवधिमा ६६ हजार ९५२ जना यात्रीले सेवा लिएका छन् । एउटा बसले दैनिक औसत १४२ जना यात्री बोक्ने गरेको र यसबाट दैनिक ३ हजार १३४ रुपैयाँ आम्दानी हुने गरेको देखिएको छ । एउटा बसको दैनिक सञ्चालन लागत ४ हजार ८१४ रुपियाँ रहेको छ । यसरी हेर्दा दैनिक प्रतिबस १ हजार ६९० रुपियाँ (करिब ३५ प्रतिशत) घाटा भइरहेको प्रतिवेदनले औँल्याएको छ ।
अध्ययनले रातको ८ बजेदेखि ९ बजेसम्मको समयमा सबैभन्दा बढी (४१.५६ प्रतिशत) यात्रीको चाप रहने गरेको देखाएको छ । यसमा कार्यालयबाट ढिलो फर्कने कर्मचारी, श्रमिक र दैनिक ज्यालादारी गर्ने मजदुरहरूको संख्या धेरै छ ।
रुटअनुसारको चाप हेर्दा, थानकोट एअरपोर्ट रुटमा ५१.५५ प्रतिशत र बुढानीलकण्ठ लगनखेल रुटमा ४८.४५ प्रतिशत यात्रुको भार देखिन्छ । यसरी यात्रा गर्ने यात्रीमध्ये ४७ प्रतिशत यात्रीले छोटो दूरी अर्थात् ५ किलोमिटरभित्रको दूरीमा यात्रा गर्नुभएको थियो । ३२ प्रतिशत यात्री मध्यम दूरीका र २१ प्रतिशत यात्री लामो दूरीका हुनुहुन्थ्यो । छोटो दूरीका भाडा २० रुपैयाँ, मध्यम दूरीको भाडा २५ रुपैयाँ र लामो दूरीको भाडा ३० रुपियाँ हो ।
अहिले ७ वटा बसबाट नागढुंगा एयरपोर्ट र लगनखेल बुढानीलकण्ठ रुटमा सेवा प्रदान गरिएको छ । यसलाई बढाएर २८ पुर्याउन समितिले सिफारिस गरेको छ । प्रस्तावित नयाँ रुटहरूमा गोदावरी–बुढानीलकण्ठ, चक्रपथ (रिङरोड)मा दोहोरो सेवा, जगाती–ठमेल र कीर्तिपुर–नेपाल वायु सेवासम्म रहेका छन् । यी रुटहरूले उपत्यकाका प्रमुख अस्पताल, व्यावसायिक केन्द्र र नाकाहरूलाई जोड्नेछन्।
वित्तीय दिगोपनाका लागि प्रिमियम भाडा र लागत साझेदारी
रात्रिकालीन सेवालाई आर्थिक रूपमा दिगो बनाउन कार्यदलले तीनवटा मुख्य विधि प्रस्ताव गरेको छ ।
रात्रिकालीन समयमा कर्मचारीको अतिरिक्त भत्ता र प्राविधिक खर्च बढी हुने भएकाले हालको भाडामा १२ रुपैयाँ थप गरी ‘रात्रिकालीन प्रिमियम रेट’ कायम गर्न सकिने समितिले दिएको सुझावको पहिलो विकल्प हो ।
सेवामा हुने कुल घाटाको ५० प्रतिशत रकम ८ वटा नगरपालिकाले समान रूपमा व्यहोर्ने र बाँकी ५० प्रतिशत रकम नगरपालिकाको आकार, जनघनत्व र सञ्चालन दूरीका आधारमा बाँडफाँट गर्ने (भाइबिलिटी ग्याप फन्डिङ) मोडल दोस्रो प्रस्ताव हो ।
यात्रीहरूमा वास्तविक अवस्थिति र समयतालिका हेर्न सकिने प्रविधिलगायत यात्रीहरूमा विश्वास र भरोसा बढाउने कार्यक्रम गरेर लागत जुटाउने समितिले दिएको तेस्रो विकल्प हो ।
प्रतिवेदनले रात्रिकालीन सेवामा महिला, ज्येष्ठ नागरिक र पर्यटकहरूको सुरक्षालाई उच्च प्राथमिकतामा राख्नुपर्ने भनेको छ । यसका लागि बसभित्र सिसिटिभी क्यामरा, जिपिएस ट्रयाकिङ र ‘डेडिकेटेड’ बस स्टपहरूको व्यवस्था गर्न सुझाइएको छ।
काठमाडौं, ललितपुर, बुढानीलकण्ठ, चन्द्रागिरि, सूर्यविनायक, मध्यपुर थिमि, गोदावरी र कीर्तिपुर नगरपालिकाको सक्रिय सहभागितामा यो सेवा विस्तार गरिएमा उपत्यकाको रात्रिकालीन अर्थतन्त्र चलायमान हुने र निजी सवारीमाथिको निर्भरता घट्ने प्रतिवेदनले औँल्याएको छ ।
संघीय राजधानी सार्वजनिक यातायातलाई व्यवस्थित गर्न ‘सहरी क्षेत्र सार्वजनिक यातायात प्राधिकरण’ मार्फत यसको नियमन र सुशासन कायम हुन सक्ने प्रतिवेदनमा उल्लेख छ ।
सुरुवाती तीन महिना (वैशाख–असार) मा ७ वटा विद्युतीय बसमार्फत २ वटा रुटमा सेवा सञ्चालन गरिएको थियो। यो सेवालाई थप प्रभावकारी बनाउन उपत्यकाका ८ वटा नगरपालिकाहरूलाई समेट्ने गरी सेवा विस्तार गर्न सिफारिस गरेको छ । समितिले २८ वटा बस थपेर ६ वटा नयाँ रुटमा सञ्चालन गर्न सिफारिस गरेको छ ।