लगातार तेस्रो जितपछि म्यानचेस्टर सिटी शीर्षमा

आइतबार, २१ भदौ, २०८३
डिजिटल संस्करण

एर्लिङ हाल्यान्डको निर्णायक गोलसँगै म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा लगातार तेस्रो जित निकालेको छ । योसँगै सिटीले शीर्ष स्थानमा आफूलाई उभ्याएको छ । शनिबार राति घरेलु मैदान इत्तिहादमा सिटीलाई जित दिलाउन हाल्यान्डले खेलको २६औँ मिनेटमा विजयी गोल गरेका थिए । एन्टोइन सेमेन्योको पासमा हाल्यान्डले गोल गरेका हुन् । बाँकी समय दुवै टोलीले गोलको अवसर बनाएपछि सदुपयोग गर्न सकेनन् । लगातार तेस्रो जितपछि सिटी नौ अंकसहित शीर्ष स्थानमा यथावत् छ । सिटीले तीन खेलमा सात गोल गरेको छ । मात्र दुई गोल व्यहोरेको छ । साबिक विजेता आर्सनलले एक खेल कम खेल्दा ६ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

फर्नान्डेजको डेब्यु
अर्जेन्टिनी स्टार एन्जो फर्नान्डेजले म्यानचेस्टर सिटीबाट अविस्मरणीय डेब्यु गरेका छन् । दुई खेल बेन्चमा रहेका एन्जो लन्डन क्लब चेल्सीबाट बेलायतको कीर्तिमानी मूल्यमा म्यानचेस्टर सिटी आएका हुन् । प्रशिक्षक एन्जो मारेस्काले आफ्नो प्रिय २५ वर्षीय मिडफिल्डरलाई प्लेइङ सेटमै खेलाएका थिए । ७६औँ मिनेटमा एन्जोले मैदान छाडेका थिए । एन्जोले सन् २०२२ मा अर्जेन्टिनालाई फिफा विश्वकपको उपाधि जिताउँदा महत्वपूर्ण योगदान दिएका थिए । यस्तै, उत्तर अमेरिकामा भएको फिफा विश्वकपमा टिमलाई उपविजेता बनाउँदा पनि सानदार प्रदर्शन गर्न सफल भएका थिए । सन् २०२२ मा विश्वविजेता बनेपछि पोर्चुगिज क्लब बेन्फिकाबाट उनी चेल्सी आएका हुन् ।

टोटनह्यामलाई पहिलो अंक 
टोटनह्यामले नयाँ सिजनमा आफ्नो खराब प्रदर्शनलाई निरन्तरता दिएको छ । सिजनको तेस्रो खेलमा टोली नटिंघम फोरेस्टसँग गोलसहित बराबरीमा रोकियो । योसँगै टोलीले तेस्रो खेलमा एक अंक जोडेको छ । एक अंकसहित टोली १७औँ स्थानमा छ । यता, अर्को खेलमा बराबरी खेलेको फोरेस्टले दुई अंक जोड्यो ।

पछिल्लो सिजनसमेत लय गुमाएको टोटनह्यामले यस सिजनमा पनि उस्तै प्रदर्शनलाई निरन्तरता दिएको छ । पहिलो खेलमा टोली ब्रेन्टफोर्डसँग ३–० र दोस्रो खेलमा न्युक्यासल युनाइटेडसँग २–० ले पराजित भएको थियो । यस्तै, राति नै भएको खेलमा क्रिस्टल प्यालेसले फुलहमलाई तीन–दुईले पराजित गर्यो । अर्को खेलमा ब्राइटन र लिड्सले एक–एकको बराबरी खेले । यो बराबरीपछि दुवै टोलीले स्थानमा उक्लने अवसर गुमाए । त्यस्तै, एकै समयमा भएको खेलमा ब्रेन्टफोर्ड र सन्डरल्यान्डले पनि एक–एकको बराबरी खेलेका छन् ।

लिभरपुलको पहिलो जित
स्विडिस स्ट्राइकर एलेक्जान्डर इसाक चम्किएपछि लिभरपुलले इंग्लिस प्रिमियर लिगको नयाँ सिजन २०२६/०२७ मा पहिलो जित निकालेको छ । तेस्रो खेलमा लिभरपुलले इप्सबिच टाउनलाई २–० ले पराजित गर्यो । योसँगै नयाँ प्रशिक्षक आन्दोनी इराओलाको नेतृत्वमा टोलीले पहिलो जित निकालेको छ ।

शुक्रबार राति इपस्विचको घरेलु मैदान पोर्टम्यान रोडमा लिभरपुललाई जिताउन दुवै गोल इसाकले गरे । २६ वर्षीय खेलाडीले सुरुवाती नौ मिनेटभित्रै दुई गोल गर्दै टोलीलाई महत्वपूर्ण तीन अंक दिलाएका हुन् । उनका दुवै गोलमा २७ वर्षीय डच स्टार कोडी गाक्पोले असिस्ट गरेका थिए ।

यो खेलसँगै लिभरपुलका नयाँ खेलाडी ब्राड्ली बार्कोला डेब्यु गरेका छन् । उनलाई दोस्रो हाफमा मैदान प्रवेश गराइएको थियो । फ्रान्सका २४ वर्षीय अट्याकरको अनुबन्धसँगै लिभरपुलको आक्रमण थप बलियो हुने विश्वास गरिएको छ ।

इप्सबिच टाउनको मैदानमा इसाकले छैटौँ मिनेटमै पहिलो गोल गरे । गाक्पोको पासलाई सदुपयोग गर्दै उनले उत्कृष्ट फिनिसिङ गरेका थिए । त्यसको तीन मिनेटपछि नै इसाकले व्यक्तिगत दोस्रो गोल थप्दै लिभरपुललाई जिततर्फ अगाडि बढाएका हुन् । त्यसपछि बाँकी समय दुवै टोलीबाट गोल नहुँदा लिभरपुल सिजनको पहिलो तीन अंक हासिल गर्न सफल भएको छ । 

सुझावित समाचार