शनिबार १० बजेसम्मका प्रमुख १० खबर

शनिबार, २० भदौ, २०८३
डिजिटल संस्करण

बाढीपीडित ज्येष्ठ नागरिकलाई सुरक्षित बसोबासको व्यवस्था गर्ने प्रधानमन्त्री शाहको प्रतिबद्धता

प्रधानमन्त्री बालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रका ज्येष्ठ नागरिकलाई सरकारले कहिल्यै अलपत्र नछाड्ने प्रतिबद्धता व्यक्त गरेका छन्। प्रधानमन्त्री शाहले केहीबेर अघि सामाजिक सञ्जाल फेसबुकमार्फत नुवाकोटको विदुर–१०, वेत्रावतीमा सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीको संयुक्त उद्धार टोलीले ६४ वर्षीया चन्द्रिका श्रेष्ठको उद्धार गरेको घटनाले देशमा आशा जगाएको बताएका छन्। उनले खोज तथा उद्धार कार्य अझै निरन्तर भइरहेको उल्लेख गरेका छन्।

बाढीको ११ औँ दिनसम्म चारजनाको जीवितै उद्धार, खोजी जारी

भोटेकोशी बाढी आएको ११औँ दिनसम्म जलविद्युत् आयोजनाका सुरुङ र बाढीले क्षति पुर्याएका घरबाट चारजनाको जीवितै उद्धार गरिएको छ।

शुक्रबार त्रिशूली–३ ए आयोजनाको सुरुङबाट सञ्जय साह र कविर महर्जनको उद्धार भएको थियो। शनिबार अपर त्रिशूली–१ को सुरुङबाट एक चिनियाँ नागरिक तथा नुवाकोटको वेत्रावतीस्थित बाढीले क्षति पुर्याएको घरबाट चण्डिका श्रेष्ठलाई जीवितै उद्धार गरिएको हो।

देवीघाटमा बेलिब्रिज जडान हुँदै

नुवाकोटको देवीघाटस्थित तादी नदीमाथि बेलिब्रिज जडानको काम अघि बढेको छ। नेपाली सेनाले शुक्रबारदेखि नै पुल जडान गर्न थालेको हो। 

गजुरीमा राखिएको बेलिब्रिजलाई लगेर जडान गर्न थालिएको हो। १० भदौमा आएको बाढीले पुल बगाएको थियो। 

अत्यावश्यक ठाउँमा तत्कालै बेलिब्रिज जडानको गृहकार्य भइरहेको सरकारले जनाएको छ। बाढीले रसुवा, नुवाकोट र धादिङमा ३५ भन्दा धेरै पुल बगाएकाे छ। 

भोटेकोशी बाढीपछि नेपाल–चीन सीमा क्षेत्रमा राष्ट्रिय झन्डा पुनर्स्थापना

भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीले नेपाल–चीन सीमा क्षेत्रमा ठुलो क्षति पुर्याउनुका साथै सीमा स्तम्भ तथा अन्य भौतिक संरचनासमेत बगाएपछि नेपाली सीमा क्षेत्रमा राष्ट्रिय झन्डा पुनर्स्थापना गरिएको छ।

बाढीपछि सीमा क्षेत्रमा नेपालको पहिचान कायम राख्न पछिल्लो तीन दिनदेखि निरन्तर प्रयास गरिएको थियो। बाढीको प्रभाव र नदी कटान अझै जारी रहेकाले नेपाली भू–भागतर्फ सीमा पहिचान गरी राष्ट्रिय झन्डा गाड्ने कार्य निकै चुनौतीपूर्ण बनेको थियो।

बहुआयामिक चुनौतीको चाङका हामी आफ्नो कर्तव्य पथमा सदैव अडिग छौँः नेपाल प्रहरी

भोटेकोशी बाढीका कारण देखापरेका चुनौतीहरूलाई सम्बोधन गर्न सीमित साधनस्रोतका बाबजुद पनि नेपाल प्रहरीले सम्पूर्ण संयन्त्रहरू प्रयोग गरी आफ्नो कार्यलाई थप प्रभावकारी बनाउन निरन्तर लागि परेको जनाएको छ। सूचना संकलन एवं विश्लेषण, आवश्यक रणनीति अवलम्बन, उपलब्ध साधनस्रोत, दक्ष जनशक्ति एवं प्रविधिको प्रयोगलाई समेत प्राथमिकतामा राखी नेपाल प्रहरी खोज, उद्धार तथा व्यवस्थापनमा खटिएको छ। 

पछिल्लो तथ्यांकअनुसार समग्र विपत् व्यवस्थापनका लागि ७ हजार ९१२ जना प्रहरी कर्मचारीहरू परिचालन भएका छन्। बाढी प्रभावित क्षेत्रहरूबाट ६ हजार ८५३ जनाको उद्धार गरिएको छ भने हालसम्म ५ हजार १५ जना बेपत्ता छन्। 

बाढीपहिरो प्रभावित क्षेत्रमा खोज तथा उद्धार तीव्र, ३९९७ जनाको हवाई उद्धार

बाढीपहिरोबाट प्रभावित विभिन्न क्षेत्रमा नेपाली सेनाले खोज तथा उद्धार कार्यलाई तीव्रता दिएको छ। नेपाली सेनाका अनुसार शनिबार साँझ ७ बजेसम्म विभिन्न प्रभावित क्षेत्रबाट दुई विदेशी नागरिकसहित ३९ जनाको हवाई उद्धार गरिएको छ। यससँगै नेपाली सेनाले हवाई साधनमार्फत हालसम्म २७५ जना विदेशी नागरिकसहित कुल ३ हजार ९९७ जनाको उद्धार गरेको जनाएको छ। नुवाकोटको विदुर नगरपालिका–५, देवीघाटस्थित तादी नदीमा नेपाली सेनाको इन्जिनियरिङ फौजबाट खटिएको ५५ जनाको टोलीले एक्रो ब्रिज जडानको काम गरिरहेको सेनाले जनाएकाे छ। 

यसैबिच, विभिन्न जलविद्युत् आयोजनाका सुरुङमा फसेकाहरूको खोज तथा उद्धार कार्य पनि जारी छ। रसुवागढी जलविद्युत् आयोजनामा संयुक्त उद्धार टोलीले पावर हाउसको छैटौँ तलासम्म पुगेर खोजी गर्दा कोही फेला नपरेको सेनाले जनाएको छ। पाँचौँ तलासम्म लेदोले भरिएकाले थप खोजी भइरहेको छ। त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाहरूको खोजीका लागि नेपाली सेनाका ७५, सशस्त्र प्रहरी बल नेपालका १८ तथा नेपाल प्रहरी र विज्ञसहितको संयुक्त टोली परिचालन गरिएको सेनाकाे भनाइ छ। 

प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी संकलन

रसुवाका बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढेसँगै प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा ११ अर्ब रुपैयाँभन्दा बढी मौज्दात रहेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार हाल कोषमा रु. ११ अर्ब ५ करोड ५६ लाख २६ हजार ९७१ मौज्दात रहेको छ।

सरकारले यसअघि कोषमा जम्मा भएको रु. १ अर्ब बाढी प्रभावित क्षेत्रको राहत तथा उद्धारका लागि निकासा गरिसकेको छ।

दुई करोडभन्दा बढीको एप्पल कम्पनीको एयर वर्डस् बरामद

महोत्तरीमा भारतबाट अवैध रूपमा नेपाल भित्र्याउँदै गरेको करिब २ करोड ४० लाख रुपैयाँबराबरका एप्पल कम्पनीका एयर वर्डस् बरामद भएका छन्।

सशस्त्र प्रहरीका अनुसार सोनमा गाउँपालिका–६ मगरथानाबाट शनिबार बिहान १ हजार २०० थान  एयर वर्डस् बरामद गरिएको हो।

सशस्त्र प्रहरी बल नेपाल नं. ९ गण महोत्तरी, सीमा सुरक्षा गुल्म रघुनाथपुर र बोर्डर आउटपोस्ट खैरवनीको संयुक्त टोलीले भारतबाट अवैध रूपमा ल्याउँदै गरेको अवस्थामा ती सामान बरामद गरेको जनाएको छ।

प्रहरीको गस्ती टोलीलाई देखेपछि  एयर वर्डस् ल्याउने व्यक्ति भने सामान छाडेर फरार भएका थिए। फरार व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ।

मानव बेचबिखनमुक्त समाज निर्माणमा सबै तहको सहकार्य आवश्यक : प्रधानमन्त्री शाह

प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज निर्माणका लागि संघ, प्रदेश र स्थानीय तहसँगै सबै सरोकारवालाबीच प्रभावकारी सहकार्य र समन्वय आवश्यक रहेको बताएका छन् ।

मानव बेचबिखनविरुद्धको २०औँ राष्ट्रिय दिवसका अवसरमा शनिबार शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले मानव बेचबिखनलाई मानव सभ्यताकै कलंकका रूपमा चित्रण गरेका छन् । उनले मानव बेचबिखन संगठित अपराधका रूपमा विश्वभर फैलिँदै गएको भन्दै यसको नियन्त्रणका लागि सामूहिक प्रयास आवश्यक रहेको बताए ।

सुरुङभित्र उद्धारका लागि स्विट्जरल्यान्डद्वारा अत्याधुनिक ड्रोन सहयोग

जलविद्युत् आयोजना तथा अन्य जोखिमपूर्ण क्षेत्रमा रहेका सुरुङभित्र उद्धार तथा खोजी कार्यलाई थप प्रभावकारी बनाउन स्विट्जरल्यान्डले नेपाललाई अत्याधुनिक ड्रोन उपलब्ध गराएको छ।

 ती ड्रोन नेपाल विद्युत् प्राधिकरणलाई हस्तान्तरण छ।  स्विट्जरल्यान्डको चर्चित ड्रोन निर्माता कम्पनी ‘फ्लाइबिलिटी’ले निर्माण गरेको यो ड्रोन मानवीय उद्धार तथा जोखिमपूर्ण संरचनाको निरीक्षणका लागि प्रयोग गरिन्छ। स्विट्जरल्यान्डका मानवीय सहायता विज्ञहरूले उक्त ड्रोन नेपाल विद्युत् प्राधिकरणका प्रतिनिधिलाई हस्तान्तरण गरेका हुन्।

सुझावित समाचार