बाढीपहिरोबाट प्रभावित विभिन्न क्षेत्रमा नेपाली सेनाले खोज तथा उद्धार कार्यलाई तीव्रता दिएको छ। नेपाली सेनाका अनुसार शनिबार साँझ ७ बजेसम्म विभिन्न प्रभावित क्षेत्रबाट दुई विदेशी नागरिकसहित ३९ जनाको हवाई उद्धार गरिएको छ। यससँगै नेपाली सेनाले हवाई साधनमार्फत हालसम्म २७५ जना विदेशी नागरिकसहित कुल ३ हजार ९९७ जनाको उद्धार गरेको जनाएको छ। नुवाकोटको विदुर नगरपालिका–५, देवीघाटस्थित तादी नदीमा नेपाली सेनाको इन्जिनियरिङ फौजबाट खटिएको ५५ जनाको टोलीले एक्रो ब्रिज जडानको काम गरिरहेको सेनाले जनाएकाे छ।
यसैबिच, विभिन्न जलविद्युत् आयोजनाका सुरुङमा फसेकाहरूको खोज तथा उद्धार कार्य पनि जारी छ। रसुवागढी जलविद्युत् आयोजनामा संयुक्त उद्धार टोलीले पावर हाउसको छैटौँ तलासम्म पुगेर खोजी गर्दा कोही फेला नपरेको सेनाले जनाएको छ। पाँचौँ तलासम्म लेदोले भरिएकाले थप खोजी भइरहेको छ। त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाहरूको खोजीका लागि नेपाली सेनाका ७५, सशस्त्र प्रहरी बल नेपालका १८ तथा नेपाल प्रहरी र विज्ञसहितको संयुक्त टोली परिचालन गरिएको सेनाकाे भनाइ छ।
त्रिशूली–३ ‘बी’ आयोजनामा नेपाली सेनाका ८९, गैरसैनिक तीनजना तथा आयोजनाका प्रबन्ध निर्देशकसहितको टोलीले तीनवटा बोबक्याट र जेनेरेटर प्रयोग गरी खोजी गरिरहेको छ। टोलीले अडिट–२ टनेलबाट एक्स्काभेटर लैजान सक्ने गरी बाटोसमेत सफा गरेको छ। चिलिमे हाइड्रोपावरमा विदेशीसमेत सम्मिलित संयुक्त टोलीले मिनी एक्स्काभेटर र मड पम्पको सहयोगमा लेदो हटाउँदै पुनः १०५ मिटरभित्रसम्म पुगेर खोज तथा उद्धार कार्य गरिरहेको छ।
यस्तै, माथिल्लो त्रिशूली–१ को हाकुस्थित सुरुङबाट एक चिनियाँ नागरिक लु हाइताओलाई जीवितै उद्धार गरिएको छ। सोही क्रममा थप दुईवटा शव फेला पारेर उद्धार गरिएको सेनाले जनाएको छ। सुरुङभित्रको लेदो हटाउँदै थप खोजी कार्य जारी राखिएको छ।
जमिनतर्फ पनि मैलुङदेखि स्याफ्रुबेँसीसम्मका प्रभावित क्षेत्रमा पैदल गस्तीमार्फत खोज तथा उद्धार भइरहेको छ। नेपाली सेनाले त्रिशूली र धुन्चेमा स्थापना गरेका आपत्कालीन उपचार केन्द्र तथा मेडिकल पेट्रोलमार्फत शनिबार ३१ जनालाई स्वास्थ्य सेवा दिएको छ। हालसम्म यी केन्द्रबाट ३ हजार २९७ जनाले स्वास्थ्य सेवा प्राप्त गरेका छन्।
रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वका प्रभावित क्षेत्रसम्म नेपाली सेनाका नाै हजार तीन सयभन्दा बढी जनशक्ति प्रत्यक्ष रूपमा परिचालन गरिएको छ। उनीहरूले घाइतेको खोज तथा उद्धार, शव व्यवस्थापनमा सहयोग, राहत सामग्री ढुवानी, अवरुद्ध सडक तथा पुल सञ्चालन र आपत्कालीन उपचारलगायतका कार्य गरिरहेका छन्। नेपाली सेनाले प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई समन्वयात्मक रूपमा निरन्तरता दिइरहेको जनाएको छ।