बहुआयामिक चुनौतीको चाङका हामी आफ्नो कर्तव्य पथमा सदैव अडिग छौँः नेपाल प्रहरी

शनिबार, २० भदौ, २०८३
डिजिटल संस्करण

भोटेकोशी बाढीका कारण देखापरेका चुनौतीहरूलाई सम्बोधन गर्न सीमित साधनस्रोतका बाबजुद पनि नेपाल प्रहरीले सम्पूर्ण संयन्त्रहरू प्रयोग गरी आफ्नो कार्यलाई थप प्रभावकारी बनाउन निरन्तर लागि परेको जनाएको छ। सूचना संकलन एवं विश्लेषण, आवश्यक रणनीति अवलम्बन, उपलब्ध साधनस्रोत, दक्ष जनशक्ति एवं प्रविधिको प्रयोगलाई समेत प्राथमिकतामा राखी नेपाल प्रहरी खोज, उद्धार तथा व्यवस्थापनमा खटिएको छ। 

पछिल्लो तथ्यांकअनुसार समग्र विपत् व्यवस्थापनका लागि ७ हजार ९१२ जना प्रहरी कर्मचारीहरू परिचालन भएका छन्। बाढी प्रभावित क्षेत्रहरूबाट ६ हजार ८५३ जनाको उद्धार गरिएको छ भने हालसम्म ५ हजार १५ जना बेपत्ता छन्। 

 प्रहरी कुकर परिचालन एवं ड्रोन क्यामेराको प्रयोग 
हजारौँ संख्यामा सम्पर्कमा नआएका नागरिकहरूको खोजीका लागि नेपाल प्रहरीले हरप्रयास गरिरहेको नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक अबिनारायण काफ्ले बताउँछन्। उनी भन्छन्, ‘उद्धार तथा खोज कार्यलाई प्रभावकारी बनाउन आवश्यकताअनुरूप विशेष टोलीहरू परिचालन गरिएको छ। नेपाल प्रहरी प्रधान कार्यालयमा डिआइजी को नेतृत्वमा नेपाल प्रहरी विपत् उद्धार तथा समन्वय सूचना व्यवस्थापन केन्द्र गठन गरी २४सै घण्टा मोनिटरिङ गर्ने गरिएको छ।’ उक्त केन्द्रमा सम्पर्कविहीन आफन्तको खोजी तथा उद्धारका लागि आफन्तका परिवारहरूको फोन आउने गरेको र सोही विवरणअनुसार खोजीका लागि सम्बन्धित प्रहरी युनिटहरूमा जनाकारी गराउँदै आइरहेको उनी बताउँछन् । प्राप्त तथ्यांकअनुसार १ हजार ३५१ पटक यस केन्द्रमा आफन्तको खोजी र उद्धारका लागि अनुरोध आएको छ।  

मृतक तथा बेपत्ता विदेशी नागरिकहरूको नेपालस्थित विभिन्न देशहरूका दूतावास, कूटनीतिक नियोगका साथै अन्य विदेशी संस्थाहरूलाई सूचना आदानप्रदानका लागि नेपाल प्रहरी प्रधान कार्यालय र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मिसिङ हेल्प डेस्क स्थापना गरिएको छ।

प्रहरीले साधनस्रोतको सीमिततालाई कमजोरी नमानी उपलब्ध साधनस्रोतलाई नै उच्चतम् प्रयोग गरिरहेको छ। स्थानीय तह एवं विभिन्न संघसंस्थाहरूले समेत प्रहरीलाई आवश्यक साधनस्रोत जुटाउन सहयोग गरिरहेका छन्। केनाइन(तालिम प्राप्त कुकुर)को परिचालन गरी प्रभावित क्षेत्रमा खोजी कार्यमा जुटिरहेको छ भने भौतिक जटिलतामा ड्रोन क्यामेराको समेत प्रयोग गर्दै खोजी कार्यलाई थप प्रभावकारी बनाउन नेपाल प्रहरी तल्लीन छ। ड्रोन क्यामेराको प्रयोगमा नै प्रहरीले नुवाकोट विदुर नगरपालिका–१०, वेत्रावतीस्थित एउटै घरबाट २४ वटा शव फेला पारेको थियो। नजिकै भग्नावशेषबाट प्रहरीले जस्ताको पाता, काठ, डोरीलगायतका सामग्रीहरू प्रयोग गरी शव भएको घरसम्म पुगेको थियो। 

वैज्ञानिक रूपमा शव व्यवस्थापन, डिएनए प्रोफाइलिङ हुँदै 
नेपाल प्रहरीले उद्धार र खोजी अभियानसँगै पहिचान हुन नसकेका शव र मानव अंगको व्यवस्थापनका लागि फोरेन्सिक विशेषज्ञको सहयोगमा काम गरिरहेको छ। संकलित शवहरूको संख्या बढ्दै गइरहेको र शवहरू सडी संक्रमण तथा महामारी फैलिन सक्ने जोखिम हुने हुँदा शवको व्यवस्थापनमा वैज्ञानिक विधि अवलम्बन गरिएको प्रहरीले जनाएको छ। सोसहितको टोली मृत्यु भएका व्यक्तिहरूको शव पहिचान, घटनास्थल मुचुल्का तथा आवश्यक सम्पूर्ण कानुनी प्रक्रिया पूरा गर्दै शव व्यवस्थापनमा कार्य गर्‍यो। शवलाई सुरक्षित रूपमा डेड बडी ब्यागमा राख्ने, फोरेन्सिक विशेषज्ञको सहयोगमा शव परीक्षण गर्ने र सर्वसाधारणलाई शव पहिचान गर्न सहज होस् भन्ने उद्देश्यले शवका फोटो तथा उपलब्ध पहिचानसम्बन्धी विवरणहरू प्रदर्शन पनि गरेको थियो। वैज्ञानिक रूपमा शवको पहिचान गर्न सकिने गरी डिएनए नमुना संकलन गरी सुरक्षित संरक्षण गर्ने व्यवस्था गरिएको छ। यस्तै, फेला नपरी हराइरहेका नेपाली तथा विदेशी नागरिकका परिवारहरूले डिएनए परीक्षणमार्फत फेला परेका शव तथा शरीरका अंग यकिन गर्न सक्ने प्रक्रियाका लागि नेपाल प्रहरी अस्पताल महाराजगन्जले डिएनए प्रोफाइलिङसमेत गरिरहेको छ।   

 आपराधिक घटनाप्रति निगरानीलाई बढाउँदै 
विस्थापितका खाली घरको सुरक्षा तथा विपतको नाममा हुन सक्ने अपराध र गलत सूचना नियन्त्रणमा समेत आफूहरू चनाखो रहेको प्रहरीले जनाउको छ । सुरक्षाकर्मी विपतको समयमा खोज तथा उद्धारमा व्यस्त रहेको मौका छोपी लुटपाट, चोरी गर्नेजस्ता आपराधिक गतिविधिलाई नियन्त्रण गर्न नियमितभन्दा प्रहरीले आफ्नो गस्ती एवं निगरानीलाई थप वृद्धि गर्दै अगाडि बढेको छ । विपतको मौका छोपी राहत संकलनको नाममा हुन सक्ने ठगीलाई पनि नियन्त्रण पनि सक्रिय रहेको प्रवक्ता काफ्ले बताउँछन् । 

सामाजिक सञ्जालमार्फत प्रवाह भएको गलत सूचना, अफवाह, भ्रामक समाचारलगायतका सामग्री प्रति पनि प्रहरीले आफ्नो निगरानी बढाएको छ। विपतको समयमा गलत सूचना फैलाएर नागरिकमा भ्रम सिर्जना गर्ने वा राहत तथा उद्धार कार्यमा अवरोध पुर्‍याउनेहरूलाई प्रहरीले कानुनी दायरामा ल्याइरहेको छ। 

 स्वास्थ्य उपचार प्रदान गर्नुका साथै राहत वितरण एवम् सामुदायिक सचेतना अभिवृद्धिमा समेत  सक्रिय 
बाढी प्रभावित क्षेत्रमा घाइते भएका व्यक्तिहरूको स्वास्थ उपचारमा समेत प्रहरी अग्रसर छ । नेपाल प्रहरी अस्पतालबाट खटिएको विशेषज्ञ चिकित्सक टोलीले घाइतेहरूको स्वास्थ्य उपचारमा निरन्तर लागि परेका छन् । घाइतेहरूलाई सामान्य अवस्थामा ल्याउन र विनाशकारी बाढीको कारण उत्पन्न हुन सक्ने मानसिक तनावलाई न्यूनीकरण गर्न उनीहरूको स्वास्थ्यको साथ साथै मनोचिकित्सक परामर्शमा समेत प्रहरी अस्पतालका विशेषज्ञ टोली क्रियाशील छन् । विभिन्न जिल्लाहरूमा स्थापित होल्डिङ सेन्टरमा रहेका उद्दार गरिएका व्यक्तिहरूलाई पारदर्शी राहत वितरणमा स्थानीय तह एवम् सरोकारवाला निकायसँग समन्वय गर्दै प्रहरीले काम गरिरहेको छ । 

‘यस विषम परिस्थितको दुःखद घडीमा नागरिकको साथमा रहेर प्रहरीले नागरिकको घाउमा मलम लगाउने मात्र होइन उनीहरूप्रतिको दायित्वबोध गरी जिम्मेवारी वहन गर्दै आइरहेको छ’ प्रवक्ता काफ्ले भन्छन्,‘पछिल्लो तथ्याङ्क अनुसार प्रहरीले बाढी प्रभावित क्षेत्रहरूमा कुल ९२ वटा सामुदायिक सचेतना कार्यक्रम संचालन गरेको छ । सचेतना कार्यक्रमहरूमा ४१ हजार २ सय ५७ जना व्यक्तिहरू सहभागी समेत भएका छन् । यसबाट प्रहरीले नागरिकहरूलाई सामान्य जीवनयापनमा फर्काउन प्रयासरत छ।’ 

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकप्रति थप संवेदनशील  
विपद् प्रभावित जिल्लाहरूका होल्डिङ सेन्टरमा रहँदै आएका महिला तथा बालबालिकाहरू विरूद्ध हुन सक्ने दुव्र्यवहार, हिंसा लगायतका घटना प्रति संवेदनशील भएर काम भइरहेको प्रवक्ता काफ्ले बताउँछन् महिला तथा बालबालिका विरूद्ध कुनै पनि अप्रिय घटना हुन नदिन महिला प्रहरी कर्मचारी सहितको थप टोलीहरू परिचालित भएका छन् । उनीहरूले महिला तथा बालबालिका सँग सम्बन्धित समस्या एवम् गुनासाहरू सम्बोधन गर्दै आवश्यक मनोपरामर्श समेत प्रदान गर्नेछन् । नेपाल प्रहरी अस्पतालबाट खटिएको विशेषज्ञ चिकित्सक सहितको टोलीले पनि स्वास्थ्य जाँचका साथै मनोपरामर्श समेत दिँदै आइरहेका छन् ।  

स्थानीय तह एवं अन्य निकायसँग समन्वय  
प्रहरीले स्थानीय तह र अन्य सुरक्षा निकायसँग समन्वय गरी बाढी प्रभावित क्षेत्रका नागरिकलाई सहजीकरण गरिरहेको छ । बाढीले हिल्लाम्मे भएका विद्यालय, स्वास्थ्य चौकी, अस्पताल, विस्थापित नागरिकका घरहरूमा सरसफाई तथा मर्मत संभार गरी पुनः प्रयोगमा आउन सक्ने अवस्थामा ल्याई विस्थापित नागरिकहरूको दैनिकीलाई सहज बनाउने प्रयास भइरहेको छ । बाढीका कारण विभिन्न ठाउँमा अवरोध भएका सडकहरूको समयमै सूचना प्रवाह गर्ने र प्रयोग गर्न मिल्ने वैकल्पिक मार्गहरूको सूचना समेत प्रवाह गरी यात्रुहरूलाई सहजीकरण गरिरहेको छ । साथै अवरोध सडक पुनःसंचालनको लागि सरोकारवाला निकायसँग सहकार्य गरी यात्रुलाई आ–आफ्नो गन्तव्यमा सुरक्षित पु¥याउन समेत प्रहरी खटिएको छ । 

बहुआयमिक चुनौती तर आफ्नो कर्तव्य पथमा अडिगः नेपाल प्रहरी  
जस्तोसुकै परिस्थिति किन नहोस्, सुख होस् वा दुःख, आपत होस् वा विपद् हरेक पाइला पाइलामा नागरिकको साथमा रहेर प्रहरी आफ्नो कर्तव्य पथमा अडिग रहेको जनाएको छ । आफ्नो दुःख पीडा भुलाउँदै नागरिकलाई नै सर्वोपरी मानेर उनीहरूको हरेक दुःखमा साथ दिँदै प्रहरी अगि बढिरहेको प्रहरी अधिकारी बताउँछन् ।  
बाढी प्रभावित क्षेत्रमा ठूलो मात्रामा थुप्रिएको हिलो, पाँगो माटो, ढुंगा एवं पुनः बाढी आउन सक्ने जोखिम कायमै छ । जोखिमको अवस्थामा पनि नागरिकको दैनिक जीवनयापनलाई सहजीकरण गर्न नेपाल प्रहरी अहोरात्र खटिरहेको छ । उद्दार कार्य, सम्पर्कविहीनको खोजी, शव व्यवस्थापन, पीडित समक्ष राहत पु¥याउने, विपद्को मौका छोपी हुन सक्ने आपराधिक गतिविधि, विस्थापित नागरिकको घरको सुरक्षा लगायत बहुआयमिक सुरक्षा चुनौतीको सामना गर्दै आफ्नो कर्तव्य पूरा गर्न नेपाल प्रहरी अग्रसर रहेको प्रवक्ता काफ्ले बताउँछन् । 
 

सुझावित समाचार