- लिगको पहिलो दिन शुक्रबार कर्णाली र सगरमाथाले आ–आफ्ना प्रतिद्वन्द्वीलाई समान ३–१ को सेटमा पाखा लगाए
पुरुषतर्फको पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभिएल) फ्रेन्चाइजमा शुक्रबार कर्णाली शिवराज र सगरमाथा स्म्यासर्सले रोमाञ्चक खेलमा जित निकालेका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा दिनको दोस्रो खेलमा कर्णालीले तीनजना मंगोलियन राष्ट्रिय टोलीका अनुभवी खेलाडी सम्मिलित अन्नपूर्ण स्पाइकरलाई ३–१ को सेटमा पाखा लगायो । कर्णालीले २२–२५, २५–१९, २४–२६ र २२–२५ मा बाजी मारेको हो ।
कर्णालीले अन्नपूर्णलाई निराश बनाउने क्रममा पहिलो, तेस्रो तथा चौथो सेट जितेको थियो । पहिलो सेटमा तीन अंकले पछि रहँदा अन्नपूर्ण पराजित भएको थियो । यद्यपि, अन्नपूर्णले दोस्रो सेटमा सुधार गर्यो । मंगोलियनका खेलाडीको उत्कृष्ट तालमेलबिच अन्नपूर्णले दोस्रो सेट २५–१९ ले जित्यो । दुई सेट सकिँदासम्म दुवैले १–१ को बराबरी गरे ।
तुलनात्मक रूपमा तेस्रो र चौथो सेटमा अन्नपूर्ण र कर्णालीबिच कडा प्रतिस्पर्धा भयो । तेस्रो सेटमा अन्नपूर्णले दुई सहज अंक गुमाउँदा कर्णालीले २६–२४ मा बाजी मारेको हो । यो अवस्थामा अन्नपूर्णले खेलमा टिकिरहन चौथो सेट जित्नैपर्ने थियो । चौथो सेटको एक समयमा कर्णालीले २२ र अन्नपूर्णले २१ स्कोर गरेका थिए । अन्नपूर्णका मंगोलियन खेलाडीले दुईपटक स्पाइकमा गल्ती गर्दा कर्णाली २४–२१ मा पुग्यो । अन्नपूर्णले एक अंक खोस्दै खेल २२–२४ मा पुर्यायो । अन्नपूर्णको सर्भिसमा कर्णालीले म्याच प्वाइन्ट रक्षा गर्दै जित हात पार्यो ।
दिनको उद्घाटन खेलमा सगरमाथाले मधेश वारियर्सलाई २५–२१, २५–२१, २३–२५ र २५–१५ ले हरायो । सगरमाथाको जितमा तीन विदेशी खेलाडी चम्किएका थिए । जितपछि उत्सव खड्काको प्रशिक्षणमा रहेको सगरमाथाले पहिलो तीन अंक जोडेको छ । भरत यादवको प्रशिक्षण रहेको मधेशले हारबाट प्रतियोगिता सुरु गरेको छ । पहिलो संस्करणमा सगरमाथा, मधेश, काठमाडौं रेड्स, अन्नपूर्ण, कर्णाली र खप्तड फाल्कन्स सुदूरपश्चिम सहभागी छन् ।
विजेताले २० लाख रुपैयाँ पाउने
प्रतियोगिता एकल राउन्ड रोबिनअनुसार चलिरहेको छ । लिग चरणपछि शीर्ष स्थानमा रहने टोलीले सिधै फाइनलमा स्थान बनाउनेछ । दोस्रो र तेस्रो स्थानमा रहने टोलीले फाइनल प्रवेशका लागि प्ले अफ खेल्नेछन् । नेपाल भलिबल संघ (एनभिए)को स्वीकृतपछि केडिया ग्रुपले प्रतियोगिता आयोजना गर्न स्वीकृत पाएको थियो । सम्झौताको दुई वर्षपछि प्रतियोगिता सम्भव भएको हो । आयोजकका अनुसार प्रतियोगिताको विजेताले २० लाख रुपैयाँ पाउनेछ । नेपालमा आयोजना हुने भलिबल प्रतियोगितामा यो पुरस्कार धनराशि अहिलेसम्मकै सर्वाधिक हो । आयोजकका अनुसार लिगको कुल पुरस्कार राशि ३२ लाख रुपैयाँ रहेको छ । विजेता पाउने रकमपछि बाँकी १२ लाख उपविजेतादेखि विधागत अवार्ड र प्लेयर अफ म्याचको पुरस्कारमा छुट्याइएको पनि आयोजकले जनाएको छ ।
लिगमा १८ विदेशी खेलाडी
लिगमा ६ टोलीले अनिवार्य रूपमा समान तीन विदेशी खेलाडी भित्र्याएका छन् । अहिले लिगमा १० देशका १८ खेलाडी राखेपको कोर्टमा देखिनेछन् । भारत र पाकिस्तानका खेलाडी छन् । त्यसबाहेक इरान, मंगोलिया, ब्राजिल, इरान, रुस, पोल्यान्ड, बेलारुस, सर्बिया, ब्राजिल र बेनिनबाट खेलाडी नेपाल आएका छन् । उद्घाटन खेलमा सगरमाथाले तीन पाकिस्तानी खेलाडी कोर्टमा उतारेको थियो । मधेशले पनि तीन भारतीय खेलाडी कोर्टमा उतारेको हो । यसै कारण उद्घाटन खेल रोमाञ्चक बन्यो । हरिहजुर थापाको कप्तानीमा रहेको सगरमाथाले दीपकराज जोशी र रूपेन्द्र नेपालीसहित पाकिस्तानका फखर ऐमल खान र फैजल उल्लाहलाई प्रतिस्पर्धा गराएको थियो । मधेशले भारतका उत्रकापन्डिय मोहन, रमन कुमार, विबिन सेबास्टियनलाई खेलायो । नेपाली खेलाडीमा कप्तान रविन नगरकोटी, सन्तोष महता र धनबहादुर भट्ट रहे । मधेशविरुद्ध चौथो पाकिस्तानी खेलाडीले एकोहोरो प्रभाव जमाएपछि सगरमाथा चौथो सेट सहज रूपमा २५–१५ ले विजयी भयो ।
दुई घण्टापछि खेल
आयोजकले पहिलो संस्करणको उद्घाटन सत्र दिउँसो २ः३० बजे तोकेको थियो । तर, उद्घाटन सत्र लगभग दुई घण्टासम्म चल्यो । सगरमाथा र मधेशबिचको खेल भने चार बजे राखिएको थियो । उद्घाटन निकै लामो भएपछि समर्थकले कभर्ड हलमा चर्को असन्तुष्टि जनाए । खेल सुरु हुँदा घडीमा सवा पाँच बजेको थियो । खेल नै निर्धारित समयभन्दा धेरै ढिला सुरु भएपछि दर्शक निराश थिए । प्रमुख अतिथि शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल उद्घाटन सत्रमा सहभागी भएनन् । त्यसपछि नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले प्रतियोगिताको उद्घाटन गरे । उद्घाटन सत्र लगातार भाषणमै केन्द्रित भएपछि समर्थकले चर्को आवाज गर्दै असन्तुष्टि जनाएका थिए । अध्यक्ष श्रेष्ठ र केडिया ग्रुपका अध्यक्ष विमल केडियाले भाषण गर्दा दर्शकले चर्को आवाज गर्दै खेल सुरु गर्न दबाब सिर्जना गरे । अर्कोतर्फ टिकट मूल्य अत्यधिक महँगो भएकोमा समर्थकले असन्तुष्टि जनाएका छन् ।