फुटबलर भरत मेजरमा बढुवा

शनिबार, २० भदौ, २०८३
डिजिटल संस्करण
  • १० भदौको बाढीपछि नुवाकोटको त्रिशूली क्षेत्रमा उद्धार र राहत कार्यमा खटिएका फुटबलर भरत खवासले कार्यक्षेत्रमै दर्ज्यानी चिह्न पाए

नेपाली राष्ट्रिय फुटबल टोली तथा त्रिभुवन आर्मी क्लबका स्ट्राइकर भरत खवास नेपाली सेनाको सेनानी (मेजर) पदमा पदोन्नति भएका छन् । १० भदौमा भोटेकोशीमा गएको विनाशकारी बाढीको व्यवस्थापन र उद्धारक्रममा खवास त्रिशूलीमै छन् । ड्युटीमा खटिएका उनलाई सोही स्थानमै शुक्रबार नेपाली सेनाले दर्ज्यानी चिह्न प्रदान गरेको छ । सहसेनानी (क्याप्टेन)बाट नियमित प्रक्रियामार्फत खवास सेनानीमा बढुवा गरिएको सेनाले जनाएको छ । खवास गत १० भदौको बाढीपछि नुवाकोटको त्रिशूली क्षेत्रमा उद्धार र राहत कार्यमा खटिएका छन् । 

‘लामो समयदेखि देशको सेवामा समर्पित छु । मेजर पदमा पदोन्नति हुन पाउँदा निकै गर्व गर्छु,’ भरतले नयाँ पत्रिकासँग भने, ‘एउटा खेलाडीका लागि यो ठुलो उपलब्धि हो ।’ खवास पछिल्लो दशकमा राष्ट्रिय टोलीबाट नियमित खेलाडीका रूपमा थिए । 

एक वर्षअघि भदौमै बंगलादेशविरुद्ध दशरथ रंगशालामा हुने भनिएको मैत्रीपूर्ण खेलमा उनले सन्न्यास लिने घोषणा गरेका थिए । गत वर्षको २२ र २३ भदौको जेन–जी आन्दोलनका कारण उनले राष्ट्रिय टोलीबाट अन्तिम खेल खेल्न पाएनन् । नेपाल आएको बंगलादेशको टोली पनि अवस्था असहज बनेपछि स्वदेश फर्किएको थियो । बंगलादेशमै भएको मैत्रीपूर्ण खेलमा भने भरत टिममा पर्न सकेनन् । त्यसैले उनको सन्न्यास पनि अन्योलमा परेको छ । 

फ्रेन्ड्स क्लब हुँदै खवासले लामो समय अर्को विभागीय टोली नेपाल पुलिस क्लबबाट खेले । उत्कृष्ट लयमा रहेका उनले अधिकृत क्याडेटमा नेपाली सेनामा नाम निकाले । यद्यपि, खवास लगातार आर्मी र राष्ट्रिय टोलीबाट खेल्दै आइरहे । सेनाको त्रिभुवन आर्मी क्लब पनि उनको आगमनपछि घरेलु प्रतियोगितामा सफल भएको थियो । सहिद स्मारक ‘ए’ डिभिजन लिगमा खवासले व्यक्तिगत कीर्तिमान राखेका छन् । 

सुझावित समाचार