विपतका वेला बीभत्स दृश्य र अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन

शुक्रबार, १९ भदौ, २०८३
डिजिटल संस्करण

प्रेस काउन्सिल नेपालले विपतका वेला बीभत्स दृश्य, अपुष्ट सूचना तथा पीडितको गोपनीयता उल्लंघन हुने सामग्री प्रकाशन तथा प्रसारण नगर्न पत्रकार र सञ्चारमाध्यमलाई निर्देशन दिएको छ।

काउन्सिलले ‘विपतका वेला सकारात्मक, मानवीय तथा जिम्मेवार सञ्चारसम्बन्धी सम्पादकीय निर्देशिका, २०८३’ जारी गर्दै सही, पुष्टि भएको र जीवनोपयोगी सूचनालाई प्राथमिकता दिन आग्रह गरेको हो।

निर्देशिकाअनुसार मृत्यु, घाइते, बेपत्ता, क्षति तथा उद्धारसम्बन्धी सूचना आधिकारिक वा विश्वसनीय स्रोतबाट पुष्टि भएपछि मात्र प्रकाशन गर्नुपर्नेछ। क्षतविक्षत शव, अत्यधिक बीभत्स दृश्य, मृतकको अनुहार तथा शोकमा रहेका परिवार र बालबालिकाका निजी दृश्य सामान्यतः प्रकाशन नगर्न भनिएको छ।

सामाजिक सञ्जालबाट प्राप्त सामग्री पुनः प्रकाशन गर्नुअघि स्रोत, स्थान, समय, सन्दर्भ र स्वतन्त्र प्रमाणबाट पुष्टि गर्नुपर्ने काउन्सिलले जनाएको छ। एआईबाट सिर्जित दृश्य प्रयोग गर्दा त्यसलाई वास्तविक घटनाको दृश्यजस्तो प्रस्तुत नगरी स्पष्ट रूपमा ‘एआईद्वारा सिर्जित सांकेतिक दृश्य’ उल्लेख गर्नुपर्नेछ।

काउन्सिलले विपतका समाचारमा राहत, उद्धार, अस्पताल, सुरक्षित स्थान, पूर्वचेतावनी र आपतकालीन सम्पर्कजस्ता जीवनोपयोगी सूचनालाई प्राथमिकता दिनसमेत आग्रह गरेको छ।

सुझावित समाचार