सुदूरपश्चिममा बेपत्ताका आफन्तको डिएनएको नमुना संकलन गरिँदै

शुक्रबार, १९ भदौ, २०८३
डिजिटल संस्करण

भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीपछि बेपत्ता नागरिकका आफन्तको डिएनए परीक्षणका लागि सुदूरपश्चिममा नमुना संकलन थालिएको छ। हालसम्म बेपत्ता भएका व्यक्तिका १४ जना आफन्तको नमुना संकलन गरिएको सुदूरपश्चिम प्रहरी कार्यालयले जनाएको छ।

धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा कैलालीका ६ जना, महाकाली प्रादेशिक अस्पतालमा कञ्चनपुरका ६ जना र डडेलधुरा अस्पतालमा डडेलधुराका दुईजनाको डिएनएको नमुना संकलन गरिएको छ। संकलित नमुना परीक्षणका लागि काठमाडौं पठाइने प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक पदम विष्टले बताए। सुदूरपश्चिमका अन्य अस्पतालहरूमा पनि नमुना संकलन गरिने उनले बताए।

प्रदेश प्रहरी कार्यालयका अनुसार बाढी प्रभावित क्षेत्रमा रहेका सुदूरपश्चिमका १४६ जना बाढीपछि सम्पर्कविहीन छन्। १८४ जना सम्पर्कविहीन रहेको भनेर सम्बन्धित परिवारले यहाँका विभिन्न जिल्लास्थित प्रहरी कार्यालयमा जानकारी गराएकोमा ३८ जना सम्पर्कमा आएका प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

सबैभन्दा बढी कैलालीका ८५ जना बेपत्ता रहेकोमा २५ जना सम्पर्कमा आएका छन् भने ६० जना अझै सम्पर्कविहीन छन्। कञ्चनपुरका ४६ जना सम्पर्कविहीन थिए। त्यसमध्ये १० जना सम्पर्कमा आएका छन् भने ३६ जना सम्पर्कविहीन छन्। बाजुराका १८ र डडेलधुराका १६–१६, बैतडीका आठ, दार्चुलाका चार तथा डोटी, अछाम र बझाङका दुई–दुई जना सम्पर्कविहीन भएका थिए। त्यसमध्ये बाजुराका दुई र डडेलधुराका एकजना सम्पर्कमा आएका प्रवक्ता विष्टले जानकारी दिए।

प्रहरीका अनुसार बेपत्तामध्ये प्रभावित क्षेत्रमा रहेका जलविद्युत् आयोजनामा काम गर्ने कामदारको संख्या धेरै छ। उनीहरूका आफन्त खोजबिनका लागि प्रदेश सरकार र प्रहरी कार्यालयहरूलाई गुहारिरहेका छन्। बेपत्ता व्यक्तिहरूको खोजबिनका लागि नेपाल प्रहरीको केन्द्रीय डेस्कमार्फत खोज समन्वय भइरहेको प्रहरी वरिष्ठ उपरीक्षक विष्टले बताए।
 

सुझावित समाचार