हालैको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि मेराे माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा १४ लाख ५५ हजार रुपैयाँ सहयोग प्रदान गरेको छ।
विशेषगरी रसुवा, नुवाकोट, र धादिङलगायतका क्षेत्रमा आएको बाढीपहिरोले ठुलो मानवीय तथा भौतिक क्षति पुऱ्याएको छ। उक्त प्राकृतिक विपतका कारण संस्थाको बट्टार, नुवाकोटस्थित केन्द्रीय कार्यालयका साथै पाँचवटा शाखा कार्यालयहरूसमेत प्रत्यक्ष रूपमा प्रभावित भएका छन्।
प्राकृतिक विपत्तिबाट जीवन गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै संस्थाले शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ। साथै, प्रभावित नागरिकहरूको शीघ्र पुनर्स्थापना र घाइतेहरूको स्वास्थ्यलाभको कामना गरिएको छ।
संस्थाका अनुसार उक्त सहयोग रकम वित्तीय संस्थाको तर्फबाट तथा त्यहाँ कार्यरत कर्मचारीहरूको योगदानबाट संकलन गरी ‘प्राइम मिनिस्टर डिजास्टर रिलिफ फन्ड’को खातामा हस्तान्तरण गरिएको हो। विपतकाे यस कठिन घडीमा उद्धार तथा राहत कार्यमा खटिने नेपाल सरकार, सुरक्षा निकाय, स्थानीय तह तथा सम्पूर्ण स्वयंसेवकहरूप्रति समेत संस्थाले आभार प्रकट गरेको छ।