भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि शाइन रेसुंगा डेभलपमेन्ट बैंक लिमिटेडले ६५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।
बैंकले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा आफ्नोतर्फबाट ५५ लाख रुपैयाँ र कर्मचारीहरूको तर्फबाट १० लाख रुपैयाँ गरी कुल ६५ लाख रुपैयाँ सहयोग गरेको हो।
प्राकृतिक विपतका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवनलगायत जिल्लामा मानवीय तथा भौतिक क्षति हुनुका साथै नागरिकको दैनिक जीवन प्रभावित भइरहेका वेला राहत तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्याउने उद्देश्यले कोषमा रकम प्रदान गरिएको बैंकले जनाएको छ।
‘विपतकाे कठिन घडीमा प्रभावित नागरिकहरूको साथमा रहँदै खोजी, उद्धार, राहत तथा पुनर्स्थापनाका कार्यमा सरकार र सम्बन्धित निकायलाई सहयोग पुर्याउने मानवीय कार्यमा बैंकले ऐक्यबद्धता जनाएको हो,’ बैंकद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ।
बैंकले बाढीमा परी ज्यान गुमाएका नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ। साथै, बाढीपछि हालसम्म सम्पर्कविहीन नागरिकहरूको सकुशल उद्धार तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेको छ।