राहत सामग्रीको काठमाडौंमा थुप्रो

बिहिबार, १८ भदौ, २०८३
डिजिटल संस्करण
  • भोटेकोशी बाढीपीडितका लागि काठमाडौंमा सरकारी र गैरसरकारी तवरबाट पर्याप्त राहत सामग्री संकलन भइरहेको छ, तर राजधानीमा थुप्रिएको सामग्री व्यवस्थित ढंगले प्रभावित क्षेत्रमा नपुग्दा गुनासो बढिरहेको छ 

देश र विदेशबाट संकलित विभिन्न प्रकारका राहत सामग्रीले काठमाडौंका गोदाम भरिभराउ भएका छन् । तर, जसका लागि राहत संकलन भएको हो उनीहरूलाई व्यवस्थित ढंगले वितरण नभएपछि बाढीबाट अतिप्रभावित रसुवा र नुवाकोटका होल्डिङ सेन्टरहरूमा काठमाडौंबाट राहत नपुगेको गुनासो बढिरहेको छ ।

संकलित राहत सामग्री काठमाडौंका जिल्ला प्रशासन कार्यालय, बसुन्धारास्थित राधास्वामी सत्संग व्यास भवन र सामाखुसीस्थित नेपाल प्रहरी विपत् प्रतिकार्य तथा तालिम केन्द्रमा राखिएको छ । काठमाडौं प्रशासनको जेन–जी आन्दोलनमा ध्वस्त पुरानो भवनको भुइँतलाको प्यासेजभरि दाल, चामल, चाउचाउ, तेल, नुन, मिनरल वाटरदेखि सिरक, डसना र लत्ताकपडासमेत चाङ लगाएर राखिएका छन् । यहाँ सीमित सामान मात्रै अट्ने भएकाले अझ धेरै सामान तोकिएका अन्य स्थानमा राखिएको काठमाडौंका सिडिओ ईश्वरराज पौडेलले बताए । यसबाहेक स्वास्थ्यसम्बन्धी राहतका सामग्री टेकुस्थित स्वास्थ्य सेवा विभागमा र विदेशबाट आएका केही राहत सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारमा पनि राखिएको छ ।

‘सबैभन्दा धेरै राहत काठमाडौंमै संकलन भएको छ, हामीले वितरण र संकलन नै एकद्वार प्रणालीबाट गरेका छौँ, सोहीअनुसार अहिले जिल्ला प्रशासन कार्यालयको पुरानो भवन, बसुन्धारास्थित राधास्वामी सत्संग भवन र सामाखुसीस्थित नेपाल प्रहरीको विपत् तालिम केन्द्रमा राखेका छौँ,’ काठमाडौंका सिडिओ पौडेलले भने, ‘सबैभन्दा बढी राहत प्रहरी तालिम केन्द्रमै छ, किनभने त्यहाँ धेरै राख्न सकिने ठुलो ठाउँ छ, राहत आउने क्रम पनि बढ्दो छ । आवश्यकताअनुसार प्रभावित क्षेत्रमा पठाइरहेका छौँ ।’ उनका अनुसार संकलित राहत सामग्रीको रेकर्ड जिल्ला प्रशासनले राखेको छ । राहत व्यवस्थापन र समन्वयका लागि प्रशासकीय अधिकृत सुजनकुमारी बर्देवालाई फोकल पर्सन तोकिएको पनि उनले बताए ।

विभिन्न संघसंस्थाको अगुवाइमा राहत सामग्री संकलन जारी नै छ, उनीहरूले संकलन गर्ने राहत दैनिक तोकिएका निकायका गोदाममा पुर्‍याइन्छन् । केही व्यक्ति तथा सामाजिक अभियन्ताहरूले पनि स्वस्फूर्त रूपमा माइतीघरमा राहत संकलन गरेर जिल्ला प्रशासनलाई हस्तान्तरण गरेका थिए । काठमाडौंकै महाबौद्ध, न्युरोड र चाबहिल क्षेत्रका व्यपारीहरूले पनि राहत संकलन गरेर एकमुस्ट जिल्ला प्रशासनमा बुझाएका छन् । १० भदौको बाढीको भोलिपल्टदेखि बुधबारसम्म सात दिनमा तीन सयभन्दा बढी संघसंस्थाले तथा एक हजारभन्दा बढी व्यक्तिले राहत सामग्री किनेर प्रशासनलाई जिम्मा लगाएका छन् । प्रशासनले तोकेका स्थानहरूमा मात्रै दैनिक रूपमा संस्थागत, व्यक्तिगत र दातृ निकायबाट आएका राहत सामग्री राख्ने गरिएको छ ।

हाल जिल्ला प्रशासन कार्यालय, राधास्वामी सत्संग भवन र प्रहरी विपत् तालिम केन्द्रमा गरी चामल ३०० क्विन्टल, तेल २६८ कार्टुन, नुन सात बोरा, साबुन ५३० कार्टुन, दाल सय बोरा, दालमोठ २० बोरा, मैदा १० बोरा, स्यानेटरी प्याड २२ कार्टुन, चामल तीन सय क्विन्टल, चिउरा ३५० बोरा, सोलार लाइट १३ पिस, चिनी दुई बोरा, बेड तथा ब्ल्यांकेट ५५० बोरा, प्याज ८० बोरा, सोयाबिन दुई सय प्याकेट, बिस्कुट तीन सय प्याकेट, पानी तनि सय प्याकेट, आलु चार सय बोरा, अन्य लत्ताकपडा दुई सय बोरा, बच्चाका लागि चाहिने खानेकुरा तथा सामान दुई सय बोरा, चाउचाउ पाँच सय कार्टुन स्टक छ । काठमाडौं जिल्ला प्रशासनका अनुसार यसबाहेक बेबी फुड, मिल्क बोटल, चकलेट, जुस, लिटो, बच्चाका लुगा, सातु, किचेनका सामान तथा भाँडाकुँडा, प्राथमिक उपचारका लागि औषधि, झोलालगायत दुई सयभन्दा धेरै प्रकारका सामान राहतका लागि संकलन भएका छन्, जुन निरन्तर बढिरहेकै छ ।

विभिन्न संघसंस्थाले दिएको औषधि तथा स्वास्थ्य सामग्री टेकुस्थित स्वास्थ्य सेवा विभागमा राखिएको छ । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले हैजा, झाडापखाला र विभिन्न सरुवा रोगसँग सम्बन्धित औषधिदेखि स्वास्थ्य शिविर सञ्चालनका लागि चाहिने सामान विभागमा भण्डारण गरिएको छ । त्यस्तै, शव व्यवस्थापन गर्न आवश्यक सामान पनि यहाँ छन् । ‘घाइतेको उपचारदेखि शव व्यवस्थापनमा लाग्ने सामानहरू विभिन्न संघसंस्था र व्यक्तिहरूले दिनुभएको छ,’ डा. अधिकारीले भने, ‘जोखिमको वेला चाहिनेजति स्वास्थ्य सामग्री हामीसँग छ ।’ तर, कुन स्वास्थ्य सामग्री कति परिमाणमा छ भन्ने यकिन नगरिएको उनले बताए ।

बाढीपछि पुनर्स्थापना तथा पीडितको अस्थायी बसोबास र खानपानका लागि विभिन्न देशहरूले राहत सामग्री उपलब्ध गराएका छन् । ती राहत सामग्रीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार क्षेत्रमा राखिएको छ । त्यहाँको एउटा ठुलो हलमा सामानहरू राखिएको विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले बताए । उनका अनुसार हालसम्म युएई, कतार, साउदी, भारत, बंगलादेश, अमेरिका, पाकिस्तान, चीनलगायत देशबाट राहत सामग्री आएका छन् । ‘विदेशबाट धेरै प्रकारका राहत सामग्री आएका छन्, कतिपय राहत सामग्री पीडितलाई वितरण गर्न मिल्ने किसिमका छन्, कतिपय सरकारले बाढीपछि पुनर्स्थापना कार्य गर्दा चाहिने औजारहरू छन्,’ उनले भने, ‘फुड सप्लिमेन्ट, औषधि तथा स्वास्थ्य सामग्री, टेन्ट, सोलार बत्ती, खानेपानी राख्ने सिस्टम, जेनेरेटर, विभिन्न किसिमका मेसिनहरूलगायत अत्यावश्यक सामानहरू आएका छन्, उक्त सामान आवश्यकताअनुसार वितरण हुन्छ ।’

नेपाली सेनाको त्रिशूली ब्यारेकमा केही राहत सामग्री स्टोर गरिएको छ । सेनाका प्रवक्ता राजाराम बस्नेतका अनुसार बाढीपछि पहिलो र दोस्रो दिन संकलन गरिएको चामल, दाललगायत राहत सामग्री त्यहाँ राखिएको छ । त्यस्तै, धुन्चेस्थित शिविरमा पनि केही राहत सामग्री राखिएको छ । ‘त्रिशूलीस्थित आर्मी ब्यारेकभित्र केही राहत सामग्री राखिएको छ, अन्य राहत सामग्री सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा बनेको राहत संकलन तथा व्यवस्थापन समितिले जिल्ला समन्वय समितिमा राखेको छ,’ उनले भने, ‘समितिले नै शिविरहरूमा आवश्यकताअनुसार राहत सामग्री पठाउने गरेको छ ।’ तर, उनले सेनाको ब्यारेकका कति सामान राखिएको छ भनेर खुलाएनन् ।

हाल बाढी प्रभावितलाई रसुवा, नुवाकोट, धादिङ र काठमाडौंका ३२ स्थानमा होल्डिङ सेन्टरमा राखिएको छ । तर, अधिकांश होल्डिङ सेन्टरमा केन्द्रबाट राहत सामग्री नै नगएको गुनासा छन् । त्यहाँ विभिन्न संघसंस्थाको सहयोगमा स्थानीय तहको समन्वयमा खाने र बस्ने प्रबन्ध गरिएको छ । यद्यपि, सरकारले आवश्यकताअनुसार पालिकाहरूमा पठाइरहेको बताएको छ ।

नुवाकोटको बेलकोटगढी– ७ को शिलादेवी माविमा राखिएका ६० बाढीपीडितलाई केन्द्र सरकारले राहत पठाएको छैन । नगरपालिका, वडा कार्यालय र स्थानीय संघसंस्थाको सहयोगमा राहत जुटाएर खाने र बस्ने व्यवस्था गरिएको वडाध्यक्ष भुवनेश्वर नेपालले जानकारी दिए । केन्द्र सरकारले काठमाडौं तथा नजिकका स्थानमा बढी राहत पठाउँदा नुवाकोट र रसुवाका भित्री होल्डिङ सेन्टरहरूमा खाद्यान्न नपुर्‍याएको उनको गुनासो छ ।

नुवाकोटकै विदुर नगरपालिका– ३ को रणभुवनेश्वरी माविमा एक सय बाढीपीडितलाई राखिएको छ भने वडा कार्यालयमा ३५० परिवारले आश्रय लिइरहेका छन् । यहाँ पनि केन्द्र सरकारका कुनै पनि संयन्त्रबाट राहत पुगेको छैन । वडा कार्यालयमा राखिएकाहरूलाई वडाले नै खाने–बस्ने व्यवस्था गरेको छ । त्यस्तै, रसुवाका दुईवटा होल्डिङ सेन्टरमा पनि राहतको अभाव भएपछि जिल्ला प्रशासनले बुधबार राहत माग गरेको छ ।

वितरण गरिएका राहतको विवरण छैन व्यवस्थित
हाल उपत्यकाका तीन स्थानमा राहत सामग्री हस्तान्तरण गर्नेहरूको भिड छ । उक्त सामग्री मागअनुसार पठाउने गरिएको बताइएको छ । तर, पठाएको विवरण प्रशासनले व्यवस्थितसमेत गरेको छैन । कुन–कुन जिल्लाका कुन–कुन होल्डिङ सेन्टरमा कति राहत सामग्री  पठाइयो र कति खपत भयो भन्ने व्यवस्थित विवरण प्रशासनसँग छैन ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंकी प्रशासकीय अधिकृत सुजनकुमारी बर्देवाले जिल्ला प्रशासन कार्यालयको टोली, प्रहरी र माग भएको जिल्लाको टोलीको रोहवरमा सामान पठाइने बताइन् । तर, पठाइएको सामानको सूची भने राखिएको छैन । ‘हामीले संकलन गर्दा रेकर्ड राखेका छौँ, सरकारी टोलीले नै यहाँबाट राहत लगेर सम्बन्धित जिल्लाको जिल्ला प्रशासन हुँदै होल्डिङ सेन्टरसम्म पुर्‍याउँछ,’ उनले भनिन् । उनका अनुसार हालसम्म नुवाकोट, धादिङ र रसुवामा उपत्यकाबाट ५४१ केजी चामल पठाइएको छ ।

त्यस्तै, २३ बोरा नुन, दुई सय प्याकेट सोयाबिन, ५० सेटभन्दा बढी किचेनको सामान, २० बोरा चिउरा, २४ बोरा भुजा, भुटेको चना १०० केजी, ४६० प्याकेट बिस्कुट, ६ सय कार्टुन चाउचाउ, दुई हजार ९९ प्याकेट जुस, विभिन्न फुड्स भएको खाद्यान्न ब्याग आठ सय, निम्की ८७० प्याकेट, ओट्स तीन सय प्याकेट, तेल ८७८ कार्टुन, तीन सयभन्दा बढी टेन्ट, ७२६ पिस ब्ल्यांकेट, ८५० पिस डसना, ११४ प्याकेट बेबी फुड्स, तीन सयभन्दा बढी बोरा लत्ताकपडा, पाँच सय प्याकेट मास्कलगायत सामग्री होल्डिङ सेन्टरहरूमा पठाइएको छ । तर, कुन जिल्ला, कुन होल्डिङ सेन्टरमा कति पठाइएको छ भनेर तथ्यांक व्यवस्थित गरिएको छैन ।

अभाव भएपछि रसुवा प्रशासनले माग्यो राहत
बाढीपीडितका लागि राहत अभाव भएको भन्दै जिल्ला प्रशासन कार्यालय रसुवाले काठमाडौं जिल्ला प्रशासन कार्यालयसँग राहत सामग्री माग गरेको छ । पाँच हजार बोरा चामल, पाँच सय बोरा चिउरा, दुई सय बोरा लत्ताकपडा, एक सय बोरा चिनी, एक सय बोरा नुन, पाँच सय कार्टुन तेललगायत सामग्री माग गरेको हो । रसुवाको शिवालय आधारभूत विद्यालय र हिमालय क्याम्पसमा १८३ बाढीपीडित राखिएको छ । तर, स्टोरमा राहत नभएपछि काठमाडौंसँग माग गरिएको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ । नुवाकोटमा भने बुधबार राहत सामग्री पुगेकाले अभाव भएको ठाउँमा वितरण भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले राहत नभएको शिविरमा आवश्यकता हेरेर वितरण गरिएको बताए । ‘हामीकहाँ पुग्दो छ, नपुगेको काठमाडौंबाट माग गरिरहेका छौँ, आइरहेको पनि छ । कतिपय स्थानमा नपुगेको भनेर माग भयो भने पुर्‍याउँछौँ,’ उनले भने ।

अन्तर्राष्ट्रिय सहयोग विमानस्थल भन्सारमा
बाढीपछि पुनर्स्थापना तथा पीडितको अस्थायी बसोबास र खानपानका लागि विभिन्न देशहरूले राहत सामग्री उपलब्ध गराएका छन् । ती राहत सामग्रीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार क्षेत्रमा राखिएको छ । त्यहाँको एउटा ठुलो हलमा सामानहरू राखिएको विज्ञान प्रविधिमन्त्री महावीर पुनले बताए ।

स्वास्थ्य सामग्रीको सहयोग टेकुस्थित स्वास्थ्य विभागमा
बाढीपीडितका लागि विभिन्न संघसंस्थाले सहयोग गरेको औषधि तथा स्वास्थ्य सामग्री टेकुस्थित स्वास्थ्य सेवा विभागमा राखिएको छ । हैजा, झाडापखाला र विभिन्न सरुवा रोगसँग सम्बन्धित औषधिदेखि स्वास्थ्य शिविर सञ्चालनका लागि चाहिने सामानसम्म  प्राप्त भएका छन् ।  ‘घाइतेको उपचारदेखि शव व्यवस्थापनमा लाग्ने सामानहरू प्राप्त भएको छ,’ स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले भने, ‘जोखिमको वेला चाहिनेजति स्वास्थ्य सामग्री हामीसँग छ ।’ तर, कुन स्वास्थ्य सामग्री कति परिमाणमा छ भन्ने यकिन नगरिएको उनले बताए । 

सुझावित समाचार