कारागार कार्यालय नौबस्ताका कैदीबन्दीहरूले भोटेकोशी बाढीपीडितलाई आर्थिक सहयोग गरेका छन्। कारागारस्थित ‘बी’ ब्लकका करिब ४५० जना कैदी, बन्दीले ४९ हजार ५१० रुपैयाँ प्रदान गरेका जेलर दलबहादुर बस्नेतले जानकारी दिए।
उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भइसकेको उनले बताए। ‘विपद्का कारण प्रभावित भएका तथा समस्यामा परेका व्यक्तिलाई सहयोग गर्ने उद्देश्यले कैदी, बन्दीले आ–आफ्नो तर्फबाट रकम प्रदान गरी प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरेका छन्,’ उनले भने।
बाढीपछि मानवीय तथा भौतिक क्षतिप्रति कैदी, बन्दीले दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका जेलर बस्नेतले बताए। ‘पीडित परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धतासमेत कैदी, बन्दीले गरेका छन्,’ उनले भने।
विपतको व ेला मानवीय संवेदना र सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिँदै पीडित तथा प्रभावितलाई सहयोग गर्नु सबैको साझा दायित्व भएको कैदी, बन्दीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।