विराटनगरमा चोरी गर्न पुगेका एक युवकको तीनतला माथिबाट हामफाल्दा मृत्यु भएको छ। शनिबार राति विराटनगर महानगरपालिका– ४, गणेशचोकस्थित पुरुषोत्तम न्यौपानेको घरमा चोरी गर्न पुगेका अन्दाजी ३५ वर्षीय पुरुषको भाग्ने क्रममा तीनतला माथिबाट हामफाल्दा घटनास्थलमै मृत्यु भएको हो।
मोरङ प्रहरीका अनुसार ती व्यक्ति छिमेकीको घरबाट चढेर चोरी गर्ने उद्देश्यले न्यौपानेको घरमा पुगेका थिए। उनलाई देखेपछि न्यौपाने परिवारले होहल्ला गरेका थिए। परिवारका सदस्यले थाहा पाएपछि अत्तालिएका ती व्यक्ति घरको तीनतला माथिबाट हामफालेका थिए।
हामफाल्दा गम्भीर घाइते भएका उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
मृतकको सनाखत हुन सकेको छैन। प्रहरीले मृतकको सनाखत गर्नुका साथै घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।