रसुवाको भोटेकोसी क्षेत्रमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन भनिएका मकवानपुरका ७५ जनामध्ये १० जना परिवारको सम्पर्कमा आएका छन् । जिल्ला प्रशासन कार्यालय मकवानपुरले शनिबार अद्यावधिक विवरण सार्वजनिक गर्दै सम्पर्कविहीनको संख्या घटेर ६५ पुगेको जनाएको हो ।
प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीका अनुसार सम्पर्कमा आएका व्यक्तिहरूको विवरण प्रमाणीकरण भएपछि सूची संशोधन गरिएको हो । अझै सम्पर्कविहीन रहेका व्यक्तिको खोजीका लागि जिल्ला प्रशासन, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा अन्य सम्बन्धित निकायसँग निरन्तर समन्वय भइरहेको उनले बताए ।
अद्यावधिक विवरणअनुसार सम्पर्कविहीनमध्ये सबैभन्दा धेरै हेटौँडा उपमहानगरपालिका र थाहा नगरपालिकाका नागरिक छन्। हेटौँडा उपमहानगरपालिकाका २४, थाहा नगरपालिकाका २४,मनहरी गाउँपालिकाका पाँच, भीमफेदी गाउँपालिकाका तीन, मकवानपुरगढी गाउँपालिकाका एक, बकैया गाउँपालिकाका एक,राक्सिराङ गाउँपालिकाका एक, कैलाश गाउँपालिकाका एक, इन्द्रसरोवर गाउँपालिकाका एक तथा ठेगाना नखुलेका चार जना अझै सम्पर्कविहीन रहेको प्रशासनको तथ्यांकमा उल्लेख छ ।
प्रशासनका अनुसार सम्पर्कविहीनमध्ये केही सवारी चालक, केही गोसाइँकुण्ड दर्शनका लागि गएका तीर्थयात्री तथा केही रसुवाका विभिन्न परियोजना र व्यवसायमा कार्यरत व्यक्ति रहेका छन् । उनीहरूको अवस्था पत्ता लगाउन सम्बन्धित परिवार, स्थानीय तह र सुरक्षा निकायसँग समन्वय गरी खोजी कार्यलाई तीव्र बनाइएको छ ।
नेपाली सेनाले उद्धार गरेका ६ जना मकवानपुरवासी
यसैबीच, नेपाली सेनाले सार्वजनिक गरेको उद्धार सूचीअनुसार सम्पर्कविहीन भनिएका मकवानपुरका छ जनाको सकुशल उद्धार गरिएको छ। उद्धार गरिएकामा सन्तबहादुर स्याङ्तान, दिलबहादुर स्याङ्बो, भीमलाल पहरी, सागर पहरी, अभिषेक पहरी र ताराबहादुर रानामगर रहेका छन् ।
उनीहरूलाई सुरक्षित स्थानमा पुर्याइएको र परिवारसँग सम्पर्क गराइएको प्रशासनले जनाएको छ। प्रजिअ अधिकारीका अनुसार सम्पर्कविहीन रहेका बाँकी ६५ जनाको अवस्था पत्ता लगाउन सरकारी संयन्त्र पूर्ण रूपमा परिचालित छ। रसुवा तथा प्रभावित क्षेत्रमा सञ्चालित खोज तथा उद्धार अभियानसँगै जिल्ला प्रशासन कार्यालयले परिवारजनबाट प्राप्त विवरण अद्यावधिक गर्ने काम पनि निरन्तर गरिरहेको छ ।