- भोटेकोशी बाढीले बगाएकामध्ये शुक्रबार रातिसम्म ५७९ को शव फेला, १,९२४ सम्पर्कविहीन रहेको सरकारी तथ्यांक, तीन दिनमा ४,४५१ को उद्धार, तर जोखिमपूर्ण क्षेत्रमा फसेकाहरू अझै पनि भोकभोकै उद्धारको पर्खाइमा
बाढीपहिरो आएको तीन दिन बितिसक्दा पनि रसुवा र नुवाकोटका जलविद्युत् आयोजनाका सुरुङ, जंगल तथा भिरमा फसेका नागरिक र कामदारको उद्धारमा ढिलाइ भएको छ । सरकारले उद्धार तथा राहतका काम ‘युद्धस्तर’मा भइरहेको दाबी गरे पनि विशेष गरी सुरुङ, जंगल र भिरमा आश्रय लिएर बसेकाहरू अझै उद्धारको पर्खाइमा छन् ।
बाढी र पहिरोका कारण जलविद्युत् आयोजनाका सुरुङमा कामदार तथा अन्य नागरिक फसेका छन् । कतिपयले ज्यान जोगाउन जंगल तथा भिरको सहारा लिएका छन् । आफन्तहरूको उद्धार खोजिरहेकाहरूले स्याफ्रुबेँसी, लाङटाङ, चिलिमे तथा त्रिशूली जलविद्युत् आयोजनाका सुरुङभित्र आफन्तहरू रहेको भन्दै जानकारी गराएका छन् ।
सडक तथा पुलमा क्षति पुगेका कारण स्थलमार्गबाट उद्धार गर्न कठिन भएपछि हवाई उद्धारमा निर्भर हुनुपरेको सरकारी भनाइ छ । हेलिकोप्टर परिचालन गर्दा हवाई सुरक्षा, भौगोलिक पहुँच र वास्तविक आवश्यकतालाई आधार बनाइएको सरकारको भनाइ छ । बाढीपहिरो प्रभावित क्षेत्रमा सञ्चार सम्पर्क विच्छेद हुनुका साथै सडक तथा अन्य भौतिक संरचनामा क्षति पुगेकाले वास्तविक अवस्था पहिचान गर्न कठिन भएको छ ।
प्रधानमन्त्री बालेन्द्र शाहका अनुसार सुरुङमा फसेका नागरिक तथा कामदारको उद्धारलाई उच्च प्राथमिकता दिइएको छ । त्यसका लागि आवश्यक विशेष उद्धार उपकरणसमेत परिचालन गरिएको उनले बताएका छन् । उद्धार तथा खोजी कार्यलाई बाढी प्रभावित क्षेत्रको तल्लो तटीय क्षेत्रमा समेत विस्तार गरिएको उनको भनाइ छ ।
प्रधानमन्त्री शाहले शुक्रबार राति दिएको जानकारीअनुसार हालसम्म चार हजार ४५१ जनाको उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये जलविद्युत् आयोजनाका सुरुङबाट मात्रै १९१ जना निकालिएका छन् । शुक्रबार गरिएको हवाई उद्धारबाट थप ५१७ जनाको उद्धार भएको छ । त्यस्तै, हालसम्म १२९ जना विदेशी पर्यटक तथा नागरिकको उद्धार र पहिचान गरिएको छ । विदेशी नागरिकको खोज, उद्धार तथा पहिचानका लागि पनि विशेष समन्वय भइरहेको प्रधानमन्त्री शाहले बताएका छन् ।
सुरक्षा अधिकारीहरूले रातको समयमा पनि काम भइरहेको बताएका छन् । त्रिशूली थ्री ‘ए’को सुरुङमा फसेकाहरूको उद्धारका लागि शुक्रबार बेलुकासम्म सुरक्षाकर्मीको टोली खटिएको थियो । सो सुरुङको मुख टालिएको छ । सुरुङ खोल्न हेलिकोप्टरबाट एक्स्काभेटर लगेर उद्धारको प्रयास भइरहेको गृह मन्त्रालयले जनाएको छ । सो क्षेत्रमा शुक्रबार गृहमन्त्री सुधन गुरुङ आफैँ खटिएका छन् । हालसम्म सुरुङबाट १९१ जनाको उद्धार भइसकेको सरकारले जनाएको छ ।
त्यस्तै, रसुवाका कतिपय स्थानबाट अझै उद्धार हुन नसकेको स्थानीय तहका अधिकारीले बताएका छन् । भागेर जंगल तथा भिरमा बसेकाहरूको उद्धारमा ढिलाइ भएको छ । भिरमा बसेका कतिपय तीन दिनदेखि भोकभोकै छन् । कतिपय स्थानमा हेलिकोप्टर बस्न नसक्ने र सुरक्षाकर्मीको पनि पहुँच नभएकाले त्यस्ता ठाउँमा फसेकाहरूको उद्धारमा समस्या भइरहेको सुरक्षा निकायको स्रोत बताउँछ । ‘जंगलमा छौँ भनेर सूचना आएको छ,’ एक प्रहरी अधिकारी भन्छन्, ‘तर, त्यहाँसम्म पुग्नै सकेका छैनौँ ।’ रसुवाको स्याफ्रुबेँसीदेखि रसुवागढीसम्मको सडक पूर्ण रूपमा बाढीले बगाएकाले सुरक्षाकर्मी जान सकेका छैनन् ।
सरकारले उद्धारसँगै राहत तथा पुनर्स्थापनाका काममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहयोग परिचालन गरिएको जनाएको छ । सुरक्षा निकाय, स्वास्थ्य संस्था, नेपाल रेडक्रस, नेपाल स्काउट, स्वयंसेवी संस्था, निजी क्षेत्र तथा विकास साझेदारसँग समन्वय गरी आवश्यक स्रोत–साधन परिचालन भइरहेको सरकारको भनाइ छ ।
यसैबिच, बाढीपहिरोमा शुक्रबार बेलुकासम्म मृत्यु हुनेको संख्या ५७९ पुगेको छ । उद्धार, खोजी तथा क्षतिको विवरण संकलन गर्ने काम अझै जारी रहेकाले मृतक तथा सम्पर्कविहीनको संख्या बढ्न सक्ने अधिकारीहरूले बताएका छन् ।
करिब पाँच हजार सम्पर्कविहीन भएको अनुमान
बाढी आएको तेस्रो दिनसम्म पनि बाढीमा कति मानिस परे वा कति हराइरहेका छन् भन्ने यकिन विवरण आउन सकेको छैन । तर, सरकारले गरेको प्रारम्भिक प्राविधिक मूल्यांकनले भने झन्डै पाँच हजार व्यक्ति बाढीपछि सम्पर्कविहीन भएको देखाएको छ ।
गृह मन्त्रालयका एक अधिकारीका अनुसार बाढी आउनुअघि रसुवाको गोसाईंकुण्डदेखि नुवाकोटको देवीघाट क्षेत्रसम्म सक्रिय रहेका करिब पाँच हजार मोबाइल प्रयोगकर्ता बाढीपछि सम्पर्कमा आएका छैनन् । नेपाल टेलिकम र एनसेलबाट प्राप्त विवरणका आधारमा यस्तो विश्लेषण गरिएको हो ।
राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार हालसम्म एक हजार ९२४ जना सम्पर्कविहीन छन् । तीमध्ये ९३३ जना जलविद्युत् आयोजनाका कर्मचारी हुन् । बाढीपहिरोमा सम्पर्कविहीन विदेशी नागरिकको संख्या मात्रै करिब ५१७ पुगेको छ । उनीहरूको खोजीका लागि शुक्रबारसम्म करिब दुई हजार निवेदन परेका छन् । सम्पर्कविहीनमध्ये रसुवा र नुवाकोटका स्थानीय तथा गोसाईंकुण्ड घुम्न गएका पर्यटकको विवरणसमेत अझै पूर्ण रूपमा संकलन हुन सकेको छैन ।
उद्धारका लागि १४ हजार सुरक्षाकर्मी परिचालन
बाढीपछि खोज तथा उद्धारका लागि सुरक्षाकर्मीको संख्या थप गरिएको छ । नेपाली सेनाको कमान्डमा भइरहेको खोज तथा उद्धारमा १४ हजार ४३१ सुरक्षाकर्मी प्रत्यक्ष रूपमा खटिएका छन् । नेपाल प्रहरीका चार हजार ४७३, नेपाली सेनाका ६ हजार ७५५ तथा सशस्त्र प्रहरीका चार हजार २०३ जना खटिएका छन् । शुक्रबार उद्धारका लागि सुरक्षाकर्मीको संख्या थपिएको गृह मन्त्रालयले जनाएको छ । सरकारले विपत्मा खटिने सुरक्षाकर्मीलाई ५० प्रतिशत भत्ता, दिनको एक हजार खर्च र बिमा गर्ने गरेको गृह मन्त्रालयले जनाएको छ ।
शव व्यवस्थापनमा समस्या, औँठाछाप र डिएनए लिएर राख्न थालियो
बाढीमा परेर मृत्यु भएकाहरूको शव तत्काल सनाखत र हस्तान्तरण गर्न कठिन हुने भएपछि अन्तर्राष्ट्रिय मापदण्डअनुसार सबै शवको औँठाछाप र डिएनए नमुना लिन थालिएको छ । ठुलो संख्यामा शव व्यवस्थापनमा समस्या हुने देखिए पनि सरकारले पछि सनाखत गर्न सहज होस् भनेर यसरी शवको नमुना लिन थालिएको हो । रेडक्रसको अन्तर्राष्ट्रिय निर्देशिकाअनुसार शवको व्यवस्थापन गर्न लागिएको छ ।
लामो समय राख्दा औँठाछाप र डिएनएको नमुना नआउने भएकाले अहिले नै लिएर राख्न लागिएको एक उच्च प्रहरी अधिकारीले बताए । यस विषयमा शुक्रबार गृह मन्त्रालयमा पनि छलफल भएको थियो । छलफलपछि शव व्यवस्थापनलाई सहजीकरण गर्ने निर्णय भएको हो ।
शव व्यवस्थापनका लागि नेपाल प्रहरीले एसएसपी योगबहादुर पालको नेतृत्वमा एक कमिटी बनाएको छ । सो कमिटीले शुक्रबार शिक्षण अस्पतालमा ल्याइएका सबै शवको औँठाछाप र डिएनएन नमुना लिएको छ । शुक्रबार बेलुकासम्म पाँच सय ७९ संकलन भइसकेकोमा चितवन, तनहुँ क्षेत्रमा भेटिएका एक सययभन्दा धेरै शव पोखरा लगेर डिएनएनको नमुना लिएर राखिएको छ ।
विदेशी विज्ञहरू बोलाउने तयारी
बाढीपछि खोज, उद्धार र पुनर्निर्माणका लागि सरकारले विदेशी विज्ञहरू बोलाउनेबारे छलफल थालेको छ । उद्धारका लागि सुरक्षाकर्मीभन्दा पनि अन्य विषयका विज्ञहरूलाई बोलाउने तयारी भइरहेको स्रोत बताउँछ ।
खोजी तथा उद्धार छिटो गर्न हेभी इक्विपमेन्ट र ती साधन चलाउन सक्ने विज्ञ आवश्यक रहेको सुरक्षा निकायको भनाइ छ । ‘बाढी प्रभावित क्षेत्रको खोज र उद्धारमा महिनौँ लाग्ने देखिन्छ,’ एक उच्च सुरक्षा अधिकारी भन्छन्, ‘त्यो अवस्थामा धेरै शव सडिसकेको हुन सक्छ, त्यस्ता शवको सनाखत गर्न सक्ने विज्ञहरू पनि आवश्यक देखिन्छ ।’ त्यस्तै, पुनर्निर्माणका कामलाई तीव्रता दिन पनि विदेशी विज्ञ बोलाउन आवश्यक हुने सुझाव सुरक्षा निकायले दिएका छन् ।
छिमेकी भारत र चीनसहित विभिन्न देशले खोज तथा उद्धारका लागि टिम पठाउने प्रस्ताव गरे पनि तत्काल सरकारले त्यसमा कुनै निर्णय गरिसकेको छैन । सुरक्षाकर्मीभन्दा विज्ञहरू झिकाउने सरकारको तयारी छ ।
एक हजार विस्थापित ‘होल्डिङ सेन्टर’मा, कतिपय खुला आकाशमुनि
बुधबारको बाढीपछि नुवाकोट, रसुवा र धादिङका करिब दुई हजारजना विस्थापित भएका छन् । कतिपय विस्थापितले सरकारबाट सहयोग पाउन नसकेको बताएका छन् । एक हजार २२ जना सरकारी होल्डिङ सेन्टरमा छन् ।
नुवाकोटमा मात्र एक हजार तीन सयजना विस्थापित भएको जिल्ला प्रशासन कार्यालयको आकलन छ । ६ सय जनालाई भने होल्डिङ सेन्टरमै राखिएको नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले बताए । उनीहरूलाई विद्यालय, आयुर्वेदिक अस्पताललगायत विभिन्न स्थानमा राखिएको उनको भनाइ छ । विस्थापित भएका अन्य करिब सात सयजना भने आफन्तलगायतकोमा बसेका छन् ।
बाढीले नुवाकोटको बेत्रावती, त्रिशूली, बट्टार, तथा देवीघाट क्षेत्रमा ठुलो क्षति पुर्याएको छ । ती क्षेत्रमा सयौँ घरहरू बगाएको छ । बेत्रावती क्षेत्रका कतिपय स्थानीयहरू खुला आकाशमुनि रात बिताइरहेका छन् । त्यहाँ राज्यको उपस्थिति कमजोर भएको स्थानीयको आरोप छ ।
त्यस्तै, धादिङमा १५० परिवार आफ्नो घरबाहिर छन् । बाढीले गल्छी, बैरेनी र गजुरीका घरमा क्षति पुर्याएको छ । विस्थापित भएकामध्ये केहीलाई पालिकाले राखेको र केही आफन्तको घरमा बसेको धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयले बताइन् । कतिपयको घर लेदोले भरिएकाले सुरक्षाकर्मीको सहयोगमा उद्धार तथा सफाइ गर्ने काम भइरहेको छ ।
त्यस्तै, रसुवामा विस्थापित करिब सयजना धुन्चेमा छन् । उनीहरूलाई स्थानीय तहसँग मिलेर होल्डिङ सेन्टरमा राखिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । रसुवाका कतिपय सर्वसाधारण तेस्रो दिनसम्म पनि जंगलमा बसेका छन् । उनीहरूको उद्धार हुन सकेको छैन ।
सरकारले भने विस्थापितहरूलाई खाद्यान्न र राहतका सामग्रीमा कुनै कमी हुन नदिइएको जनाएको छ । जिल्ला प्रशासन र स्थानीय तहसँग समन्वय गरी आवश्यक स्थानहरूमा सामग्री पठाइएको जनाएको छ । त्यसका लागि विमानस्थललगायत स्थानमा गोदामघर स्थापना गरिएको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतले बताइन् ।
प्राधिकरणले टेन्ट, ब्लांकेट, स्लिपिङ ब्याग तथा खाद्य सामग्रीहरू आवश्यक रहेकाले उपलब्ध गराउन पनि आग्रह गरेको छ । प्रधानमन्त्री कार्यालयले ३२ ट्रक राहत सामग्री विभिन्न स्थानमा पठाइएको र ६ वटा हेलिकोप्टरमार्फत पनि दुर्गम क्षेत्रमा लगिएको विवरण सार्वजनिक गरेको छ ।