सल्यानमा मोटरसाइकल दुर्घटना एकजनाको मृत्यु तीन घाइते

बिहिबार, ११ भदौ, २०८३
डिजिटल संस्करण

सल्यानमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । बिहीबार दिउँसो राप्ती राजमार्गअन्तर्गत सिद्ध कुमाख गाउँपालिका १, चाख्लिघाटमा रा ४ प ९४७१ र रा ३ प ४७९५ नम्बरका दुई मोटरसाइकल खोलामा खस्दा एकजनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार रा ३ प ४७९५ नम्बरको मोटरसाइकलचालक कुमाख गाउँपालिका- ७ का अन्दाजी ३० वर्षीय कमल भन्ने डिल्ली विकको  मृत्यु भएको हो ।

गम्भीर घाइते विकको दाङ घोराहीस्थित संजीवनी टिचिङ हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक तथा सूचना अधिकारी देवराज भट्टराईले जानकारी दिए । 

उनका अनुसार रा ४ प को मोेटरसाइकलचालक बागचौर नगरपालिका २ का ३० वर्षीय धीरज घर्ती, उक्त मोटरसाइकलको पछाडि सवार बागचौर नगरपालिका २ का २३ वर्षीय अर्जुन बुढा मगर र रा ३ प ४७९५ नम्बरको मोटरसाइकलमा सवार बागचौर नगरपालिका वडा न २ कै १९ वर्षीय चन्द्रप्रकाश वली घाइते भएका छन् ।

घाइते धीरज घर्तीको दाङ घोराही र अर्जुन र वलीको नेपालगन्ज रिफर गरिएको प्रहरीको भनाइ छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  
 

सुझावित समाचार