रसुवा बाढीपीडितको उद्धार तथा राहतका लागि कोशी सरकारको ३ करोड सहयोग

बिहिबार, ११ भदौ, २०८३
डिजिटल संस्करण

कोशी प्रदेश सरकारले रसुवासहित विभिन्न जिल्लामा आएको बाढी, पहिरो तथा लेदोका कारण प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ योगदान गर्ने निर्णय गरेको छ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा बिहीबार बसेको आकस्मिक बैठकले भदौ १० गते रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ र चितवनलगायतका जिल्लामा बाढी, लेदो र पहिरोका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उक्त रकम सहयोग गर्ने निर्णय गरेको हो।

कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गोम्बु शेर्पाका अनुसार विपतमा परी ज्यान गुमाउनेप्रति बैठकले श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ। घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बेपत्ता नागरिकको खोज तथा उद्धारलाई तीव्र बनाउन सम्बन्धित निकायसँग आग्रह गरिएको छ।

प्रदेश सरकारले विपद्का बेला प्रभावित क्षेत्रमा खोज, उद्धार, उपचार, राहत तथा दीर्घकालीन पुनर्स्थापनाका लागि नेपाल सरकार, बागमती प्रदेश सरकार, सम्बन्धित स्थानीय तह र प्रभावित नागरिकसँग पूर्ण ऐक्यबद्धताका साथ अघि बढ्ने निर्णयसमेत गरेको छ।

यस्तै, मनसुन अवधि अझै बाँकी रहेकाले कोशी प्रदेशका बाढी तथा पहिरोको जोखिमयुक्त पहाडी र तराई क्षेत्रका जिल्लामा विपत् पूर्वतयारीलाई थप सशक्त बनाउने निर्णय गरिएको छ। त्यसका लागि प्रदेश, जिल्ला तथा स्थानीय विपत् व्यवस्थापन समितिलाई पूर्ण रूपमा सक्रिय र तयारी अवस्थामा राखिने मन्त्री शेर्पाले जानकारी दिए।

सुझावित समाचार