रसुवामा आएको भीषण बाढीपछि बारा घर भएका १५ जना सम्पर्कविहीन भएका छन्। जिल्ला प्रशासन कार्यालय बाराले रसुवामा रहेका वेला बाढी आएपछि परिवार तथा आफन्तको सम्पर्कमा नआएका जिल्लावासीको विवरण सार्वजनिक गरेको हो।
सम्पर्कविहीन हुनेमा प्रहरी कर्मचारी, नेपाली सेनामा कार्यरत व्यक्ति, जलविद्युत् तथा निर्माण आयोजनाका कर्मचारी, ट्रक–कन्टेनरचालक र रोजगारीका सिलसिलामा रसुवा पुगेका व्यक्ति छन्। उनीहरू रसुवाका विभिन्न स्थानमा रहेको अवस्थामा बाढी आएपछि सम्पर्कविहीन भएको प्रशासनले जनाएको छ।
प्रशासनले सार्वजनिक गरेको विवरणअनुसार सम्पर्कविहीनमध्ये केही जलविद्युत् आयोजनाका साइटमा कार्यरत थिए भने केही मालसामान ढुवानीका लागि रसुवा पुगेका थिए। केही सुरक्षा निकायमा कार्यरत थिए। बाढीका कारण सडक तथा सञ्चार सम्पर्क प्रभावित भएपछि उनीहरूको अवस्थाबारे तत्काल जानकारी लिन कठिनाइ भइरहेको बताइएको छ।
प्रहरीमा कार्यरत मदन स्याङबो पनि सम्पर्कविहीन
सम्पर्कविहीन हुनेमा जिल्ला प्रहरी कार्यालय रसुवामा कार्यरत प्रहरी नायब निरीक्षक मदन स्याङ्बो लामा पनि छन्। बाराको निजगढ नगरपालिकामा बसोबास गर्दै आएका लामा सम्पर्कविहीन भएको खबर इलाका प्रहरी कार्यालय निजगढमा आफन्तले जानकारी गराएका थिए। उनको नागरिकतामा ठेगाना मकवानपुरको छतिवडा गाउँपालिका– ४, नयाँ डमर उल्लेख गरिएको छ।
त्यस्तै, बारा परवानीपुर गाउँपालिका– ५, बहुअरीका ३५ वर्षीय नमनारायण सिंह ट्रक लिएर रसुवा भन्सार पुगेका थिए। उनी त्यही क्रममा सम्पर्कविहीन भएका हुन्।
कलैया उपमहानगरपालिका– २२, धोध टोलका २३ वर्षीय सत्यप्रकाश राम पनि रसुवामा रहेको अवस्थामा सम्पर्कविहीन भएका छन्। आदर्श कोतवाल गाउँपालिका– १, चिउटाहाका २३ वर्षीय अंकित पटेल पनि रसुवामै रहेको अवस्थामा परिवारको सम्पर्कबाट बाहिरिएका छन्।
प्रसौनी गाउँपालिका– ३ का जितेन्द्रकुमार दास र कलैया उपमहानगरपालिका–२३ का श्रीनिवास मण्डल पनि सम्पर्कविहीनको सूचीमा छन्। उनीहरू दुवै रसुवामा रहेको अवस्थामा बाढी आएपछि सम्पर्कमा नआएको प्रशासनले जनाएको छ।
जलविद्युत् आयोजनामा काम गर्ने दुईजना पनि सम्पर्कविहीन
जितपुरसिमरा उपमहानगरपालिका– १६ का रजित श्रेष्ठ त्रिशूली हाइड्रोपावरमा कार्यरत थिए। उनी आयोजनास्थलमा काम गर्ने क्रममा बाढीपछि सम्पर्कविहीन भएका हुन्। निजगढ नगरपालिका– ९, शान्तिटोलका ३९ वर्षीय राज विष्ट पनि त्रिशूली हाइड्रोपावरमै कार्यरत थिए। उनी पनि आयोजनास्थलमा काम गरिरहेका बेला सम्पर्कविहीन भएको प्रशासनको विवरणमा उल्लेख छ।
करैयामाई गाउँपालिका– २ का ३० वर्षीय धीरज चौधरी पनि रसुवामा रहेको अवस्थामा सम्पर्कविहीन भएका छन्।
सुवर्ण गाउँपालिका– ५, औरैयाका रुपेशकुमार साह रसुवाको नौकुण्ड गाउँपालिकामा कार्यरत थिए। उनी बाढीपछि सम्पर्कविहीन भएका हुन्। सोही गाउँपालिका– ४, हरहियाका रमेशकुमार यादव पनि रसुवामा रहेका वेला परिवारको सम्पर्कमा नआएको प्रशासनले जनाएको छ।
ट्रक–कन्टेनरचालकदेखि परियोजना साइटका कर्मचारीसम्म
निजगढ नगरपालिका– ९ का दिनेश परियार ट्रक–कन्टेनर चालक हुन्। उनी रसुवाबाट सामान ढुवानीका लागि गएको अवस्थामा सम्पर्कविहीन भएका हुन्। बाढीका कारण सडक तथा यातायात सेवा प्रभावित भएका वेला उनीसँग सम्पर्क हुन नसकेको परिवारले जनाएको छ।
कलैया उपमहानगरपालिका– ६, आदर्शटोलका २८ वर्षीय देवेश भट्टराई अपर त्रिशूली–३ बी परियोजनाको पहिरेबेँसी प्रोजेक्ट साइटमा कार्यरत थिए। बाढीपछि उनी पनि सम्पर्कमा आएका छैनन्।
सुवर्ण गाउँपालिका– १ का २२ वर्षीय सुरजकुमार साह रसुवास्थित श्रीनाथ गण ब्राबल ब्यारेकमा कार्यरत थिए। उनी पनि बाढीपछि सम्पर्कविहीन भएका छन्।
निजगढ नगरपालिका– ८ का ५५ वर्षीय उत्तम न्यौपाने भने भदौ १० गते काठमाडौं हुँदै रसुवा गएको प्रशासनले जनाएको छ। रसुवा पुगेपछि उनी परिवार तथा आफन्तको सम्पर्कमा नआएको विवरणमा उल्लेख छ।
आफन्तले विभिन्न निकायमा गराए जानकारी
सम्पर्कविहीन भएका व्यक्तिका परिवार तथा आफन्तले सम्बन्धित सुरक्षा निकाय तथा स्थानीय प्रशासनमा खोजीका लागि जानकारी गराएका छन्। उनीहरूको अवस्थाबारे जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय, जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्र, सशस्त्र प्रहरी बेस तथा जिल्ला प्रशासन कार्यालय बारामा जानकारी गराइएको छ।
जिल्ला प्रशासन कार्यालय बाराका अनुसार सम्पर्कविहीन १५ जना नै पुरुष हुन्। उनीहरू सरकारी सेवा, सुरक्षा निकाय, जलविद्युत् तथा निर्माण आयोजना, ढुवानी र अन्य रोजगारीका सिलसिलामा रसुवा पुगेका थिए।
रसुवाको भोटेकोशी तथा त्रिशूली नदी क्षेत्रमा आएको बाढीले नदीआसपासका क्षेत्रमा ठुलो क्षति पुर्याएपछि त्यहाँको सडक, यातायात तथा सञ्चार सम्पर्क प्रभावित भएको छ। यस्तो अवस्थामा बाढी प्रभावित क्षेत्रमा रहेका व्यक्तिको तत्काल अवस्था पत्ता लगाउन चुनौती देखिएको छ।