१६ हजार लिटर हवाई इन्धन बोकेको रिफ्युलर त्रिशूलीस्थित आर्मी ब्यारेक पुगेको छ । बुधबार साँझ करिब साढे आठ बजे आर्मी ब्यारेकमा रिफ्युलर पुगेको थियो। बिहीबार बिहानैबाटै ब्यारेकलाई ‘मुकाम’ बनाएर उद्धारमा खटिएका हेलिकाेप्टरमा हवाई इन्धन भरिरहेको आयल निगमको हवाई इन्धन कार्यालय, सिनामंगलका प्रमुख प्रदीप यादवले जानकारी दिए ।
रसुवा बाढीपीडितलाई त्रिशूलीस्थित आर्मी ब्यारेकबाटै उद्धार उडान भइरहेको छ । त्यसैले, सोही स्थानमा हवाई इन्धन भर्ने सुविधा पुर्याइएको हो । ‘साँझ आर्मी ब्यारेकमा रिफ्युलर पुगिसकेको छ । त्यसपछि बिहीबार बिहानैबाटै हेलिकाेप्टरमा तेल भर्न थालिएको छ,’ उनले भने, ‘बिहान १० बजेसम्म सेना र निजी कम्पनीका गरी आठवटा हेलिकप्टरमा तेल हालिएको छ । प्रभावित क्षेत्र नजिकैबाटै तेल हाल्न पाउँदा उद्धार कार्य छिटो र सहज भएको रिर्पोटिङ प्राप्त भएको छ ।’
रिफ्युलर लिएर त्रिशूली ब्यारेक पुगेका आयल निगमका कर्मचारी राजेन्द्र श्रेष्ठले बिहान १० बजेसम्म तीन हजार लिटर तेल हेलिकाेप्टरले भरिसकेको जानकारी दिए । ‘एउटै हेलिकाेप्टरले एकपटकमा पाँच सयदेखि एक हजार लिटरसम्म तेल भरिरहेका छन्,’ उनले भने, ‘यहाँबाट तेल भरेर काम गर्दा उद्धार कार्य सहज भएको पाएका छौँ ।’
धादिङको गल्छी हुँदै त्रिशूली पुग्ने बाटो बाढीले भत्काएर अवरोध भएकाले बालाजुबाट सानो बाटो हुँदै कष्टकर ढंगले पुगेको उनले सुनाए । ‘ठुलो परिमाणमा हवाई इन्धन बोकेको गाडी साँघुरो बाटो हुँदै आउनुपर्दा निक्कै दुःख भयो,’ उनले भने ।
नागरिक उड्डयन प्राधिकरण र नेपाल आर्मीसँगको समन्वयमा निगमले सिनामंगलबाट १६ हजार लिटर हवाई इन्धन बोकेको रिफ्यलुर बुधबार दिउँसो पठाएको थियो ।
त्रिशूलीस्थित आर्मी ब्यारेकसम्म पुग्ने बाटो सहज भएकाले रिफ्युलर त्यहीँ पुर्याइएको निगमले जनाएको छ । सामान्यतया विमानस्थलपरिसरमा मात्रै रिफ्युलर चलाउने अभ्यास छ । तर, यसपटक बाढीपीडितको उद्धार कार्यलाई सहज बनाउन पहिलोपटक विमानस्थलपरिसरभन्दा बाहिर रिफ्युलरमा इन्धन हालेर पठाइएको हो ।