बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले मंगलबार लिने तयारी गरेको विश्वासको मतअघि सत्तासाझेदार नेपाली कम्युनिस्ट पार्टी (नेकपा)भित्र देखिएको विवाद समाधानतर्फ उन्मुख भएको छ ।
पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालको उपस्थितिमा मंगलबार काठमाडौंमा बसेको छलफलपछि असन्तुष्ट रहेका आठजना सांसद मुख्यमन्त्रीलाई विश्वासको मत दिन सकारात्मक देखिएका हुन् ।
सरकार गठन, मन्त्रालय बाँडफाँट, सत्तासाझेदारी तथा पार्टीको भूमिकालाई लिएर असन्तुष्टि जनाउँदै आएका सांसदहरू पार्टी नेतृत्वसँगको छलफलपछि विश्वासको मतको पक्षमा खुल्न तयार भएका छन् । यद्यपि, उनीहरूले केही राजनीतिक विषयमा सत्तासाझेदार दलहरूबिच सहमति जुटेपछि मात्रै प्रदेश सभा बैठकमा सहभागी हुने अडान राखेका छन् ।
नेकपाका उपनेता कृष्णप्रसाद खनालले पार्टी नेतृत्वसँग बागमती प्रदेशको पछिल्लो राजनीतिक अवस्था र सरकार सञ्चालनका विषयमा विस्तृत छलफल भएको जानकारी दिए । उनका अनुसार आफूहरू विश्वासको मत दिन सकारात्मक भए पनि त्यसअघि केही राजनीतिक सहमति आवश्यक रहेको निष्कर्ष बैठकले निकालेको छ ।
‘हामीले पार्टी नेतृत्वसँग बागमती प्रदेशको पछिल्लो राजनीतिक अवस्था र सरकारसँग सम्बन्धित विषयमा गम्भीर छलफल गरेका छौँ,’ उनले भने, ‘केही राजनीतिक विषयमा सहमति जुटाएर मात्रै प्रदेश सभा बैठकमा सहभागी हुने हाम्रो धारणा हो। ती विषयमा सहमति भयो भने विश्वासको मत दिन तयार छौँ ।’
विश्वासको मतको पक्षमा सकारात्मक देखिएका सांसदहरूमा युवराज चौलागाईं, कृष्णप्रसाद खनाल, राजेन्द्रमान श्रेष्ठ, ओमकुमारी श्रेष्ठ, उर्मिला लामा, रुकु चौलागाई, गंगानारायण श्रेष्ठ र लक्ष्मण लम्साल रहेका छन् । यही समूहले पछिल्ला केही दिनदेखि सरकार गठनको प्रक्रिया, मन्त्रालय बाँडफाँट र सत्तासाझेदारीप्रति असन्तुष्टि जनाउँदै आएको थियो।
नेकपाभित्र देखिएको विवादको मुख्य कारण मन्त्रालय बाँडफाँट र सरकारमा पार्टीको भूमिकालाई मानिएको छ। असन्तुष्ट सांसदहरूले नेकपाको संसदीय हैसियतअनुसार मन्त्रालय नपाएको, मन्त्री छनोटमा संस्थागत छलफल नगरिएको तथा सत्तासाझेदारीमा पार्टीको प्रभाव कमजोर बनाइएको गुनासो गर्दै आएका थिए।
यसअघि विश्वासको मत लिन सोमबार बोलाइएको प्रदेश सभा बैठकअघि उनीहरूमध्ये अधिकांश सांसद काठमाडौंमै बसेका थिए । पार्टी संयोजक प्रचण्डले पटक–पटक सम्पर्क गरे पनि केही सांसद सम्पर्कविहीन बनेपछि विश्वासको मतको कार्यसूची नै सोमबारबाट मंगलबारका लागि सारिएको थियो ।
नेकपाभित्रको विवाद समाधानतर्फ उन्मुख भएसँगै मुख्यमन्त्री किरण थापामगरको विश्वासको मत प्राप्त गर्ने सम्भावना बलियो बनेको छ । एमाले र नेकपाका सबै सांसदले दलको निर्देशनअनुसार मतदान गरे मुख्यमन्त्रीलाई आवश्यक बहुमत जुटाउन सहज हुने सत्तागठबन्धनका नेताहरूको विश्वास छ ।
मुख्यमन्त्री थापाले आज (मंगलबार) अपराह्न ४ बजे बस्ने प्रदेश सभा बैठकमा विश्वासको मत लिने कार्यसूची छ । यसअघि सोमबार बोलाइएको बैठक सत्तागठबन्धनभित्रकै विवाद, राप्रपाको आन्तरिक द्वन्द्व तथा राजनीतिक सहमति नजुटेका कारण पटक–पटक सारिँदै अन्ततः मंगलबारका लागि स्थगित गरिएको थियो ।