नेपाली समाज सिंगापुरको आयोजनामा सिंगापुरमा फुटसल प्रतियोगिता आयोजना गरिएको छ । शनिबार सिंगापुर खाल्सा एसोसिएसनमा भएको ‘नेपाल फुटसल कप सिंगापुर २०२६’ मा ११ टोलीका ८० खेलाडी सहभागी थिए।
खेलकुदसँगै नेपाली सिंगापुरमा रहेका नेपालीहरूको भातृत्व बढाउने तथा सांस्कृतिक सम्बन्ध विस्तार गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ । प्रतियोगितामा सिंगापुरमा बसोबास गर्ने नेपाली समुदायसँगै म्यानमार र उत्तरपूर्वी भारतका नेपालीभाषी समुदायको समेत सहभागिता थियो।
प्रतियोगिताको उपाधि पुरुषतर्फ सूर्याेदय एफसीले तिजेकोमा गोरखाली रेन्जर्स एफसी उपविजेता बन्यो । महिलातर्फ ब्लु फ्युरी एफसी विजेता बनेको आयोजकले जनाएको छ ।
प्रतियोगिताको उद्घाटन नेपालका लागि सिंगापुरस्थित अवैतानिक महावाणिज्यदूत हेलेन कम्पोस्, नेपाली समाज सिंगापुरका संस्थापक अध्यक्ष अमर चित्रकार तथा समुदायका वरिष्ठ सदस्य रिद्धी कर्माचार्यले संयुक्त रूपमा गरेका थिए। कार्यक्रम आयोजना उपसमितिले समाजका अध्यक्ष इन्द्र गुरुङको नेतृत्व तथा कार्यक्रम निर्देशक विपिन बहादुर खत्रीको निर्देशनमा प्रतियोगिता भव्य रुपमा सम्पन्न भएको हो । जसमा एक सय ५० भन्दा धेरै नेपालीभाषी समुदाय उपस्थित थिए।
समाजका अध्यक्ष इन्द्र गुरुङले नेपाल फुटसल कप सिंगापुरको नेपाली समुदायका लागि हरेक वर्ष सहभागी हुनैपर्ने महत्वपूर्ण सामुदायिक कार्यक्रमका रूपमा विकसित हुँदै गएको बताए । उनले आगामी संस्करणलाई अझ ठूलो, उत्कृष्ट र समावेशी बनाउने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रम निर्देशक खत्रीले नेपाल फुटसल कपको सफलता नेपाली समुदायको एकता र उत्साहको प्रतिबिम्ब भएको बताए । उनले प्रतियोगितामा सहभागी खेलाडी, स्वयंसेवक तथा सहयोगीहरूप्रति आभार व्यक्त गर्दै मुख्य प्रायोजक ‘ओसन सेफ्टी सप्लाइज’लाई विशेष धन्यवाद दिए । नेपाल फुटसल कप सिंगापुरले सिंगापुरमा बसोबास गर्ने नेपालीभाषी समुदायबीच सामुदायिक एकता, युवा सहभागिता र सांस्कृतिक आदानप्रदान प्रवद्र्धन गर्ने महत्वपूर्ण मञ्चका रूपमा भूमिका निर्वाह गर्दै आएको आयोजकले जनाएको छ ।
प्रतियोगितामा गोर्खालीका प्रिन्सले सर्वाधिक ६ गोल तथा सेभेनएस हन्र्टसका सन्तोष थापा र सुरेशले दोस्रो धेरै समान ४–४ गोल गरेका थिए । कार्यक्रममा फ्रोलिक एडभेन्चर प्रालि पनि जोडएको थियो।