परराष्ट्रमन्त्री खनालसँग ब्राजिलका राजदूत लिन्सको शिष्टाचार भेट

सोमबार, ८ भदौ, २०८३
डिजिटल संस्करण

परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र ब्राजिलबिचको द्विपक्षीय सम्बन्धलाई आगामी दिनमा थप सुदृढ गर्दै पर्यटन, सांस्कृतिक आदान–प्रदान तथा जनस्तरको सम्बन्ध विस्तारमा जोड दिएका छन्।

नेपालका लागि ब्राजिलका राजदूत क्लाउडियो राजा गाबाग्लिया लिन्सले सोमबार परराष्ट्र मन्त्रालयमा परराष्ट्रमन्त्री खनालसँग शिष्टाचार भेट गरेका हुन्। भेटमा मन्त्री खनालले नेपालका लागि ब्राजिलको राजदूतमा नियुक्त भएकोमा लिन्सलाई बधाई दिँदै उनको सफल कार्यकालको शुभकामना व्यक्त गरे।

मन्त्री खनालले दुई देशबिच पर्यटन, सांस्कृतिक आदान–प्रदान र जनस्तरको सम्बन्ध विस्तारका पर्याप्त सम्भावना रहेको उल्लेख गर्दै यी क्षेत्रमा सहकार्यलाई प्राथमिकता दिनुपर्ने बताए। ‘नेपाल र ब्राजिलबिच पर्यटन, सांस्कृतिक आदान–प्रदान तथा जनस्तरको सम्बन्ध विकासका पर्याप्त सम्भावना छन्। यी सम्भावनालाई व्यवहारमा रूपान्तरण गर्न थप सहकार्य आवश्यक छ,’ उनले भने।

मन्त्री खनालले वर्तमान सरकारका प्राथमिकताबारे जानकारी गराउँदै ब्राजिलसँगको सहकार्यलाई निरन्तरता दिने बताए। उनले विश्व शासन प्रणालीमा विशेषगरी दक्षिण–दक्षिण सहकार्यमा ब्राजिलले निर्वाह गर्दै आएको नेतृत्वदायी भूमिकाको प्रशंसा गरे।

भेटका क्रममा राजदूत लिन्सले नेपाल आएको छोटो समयमै नेपालको कला, संस्कृति र नेपाली जनताको आत्मीय आतिथ्यबाट आफू प्रभावित भएको बताए। उनले नेपाल र ब्राजिलबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा भइसकेको उल्लेख गर्दै दुई देशबिचको सम्बन्ध थप मैत्रीपूर्ण र घनिष्ठ बन्दै गएको बताए।

लिन्सले दुग्ध उत्पादनका क्षेत्रमा सहकार्य अघि बढाउन ब्राजिलको प्राविधिक टोली नेपाल आएको जानकारी दिँदै सहकार्यसम्बन्धी समझदारीपत्र नेपाली पक्षबाट पुनरवलोकन गरी केही दिनअघि ब्राजिलियन पक्षलाई जानकारी गराइएको बताए। त्यस्तै, काठमाडौं विश्वविद्यालय र ब्राजिलको बुटान्टान इन्स्टिच्युटबिच सर्पदंशविरुद्धको प्रतिविष (एन्टिभेनम)सम्बन्धी अनुसन्धानमा सहकार्य भइरहेको उनले जानकारी दिए। राजदूत लिन्सले वर्तमान सरकारका प्राथमिकताअनुसार पर्यटन, लगानी तथा निर्यात प्रवर्द्धनका क्षेत्रमा सहकार्य गर्न ब्राजिल तयार रहेको बताए।

सुझावित समाचार