उद्योग पुनः सञ्चालनमा संलग्न टेक्सटाइल प्राविधिक राजप्रसाद अमात्यका अनुसार उद्योगका पुराना सटल लुमलाई आधुनिक अटोमेटिक प्रणालीमा रूपान्तरण गरिएको छ । ‘अहिले १० वटा मेसिनमध्ये तीनवटा पूर्ण अटोमेटिक बनाएका छौँ । बाँकीलाई पनि क्रमशः अटोमेटिक बनाउँदै छौँ,’ उनले भने । उनका अनुसार अटोमेटिक प्रणालीले उत्पादन क्षमता उल्लेखनीय रूपमा बढाउँछ । उनले अटोमेटिक मेसिनले जनशक्ति कम प्रयोग गरी उत्पादन बढी हुने बताए । ‘पहिले एउटा मेसिन चलाउन धेरै जनशक्ति चाहिन्थ्यो ।
अहिले अटोमेटिक भएपछि जनशक्ति कम लाग्छ र उत्पादन धेरै हुन्छ । सटल लुमले आठ घण्टामा २०–२५ मिटर कपडा निकाल्न सक्छ भने अटोमेटिक मेसिनले ६५ देखि ७० मिटरसम्म कपडा उत्पादन गर्न सक्छ,’ उनले भने ।
अमात्यका अनुसार उद्योगका मेसिन एक शताब्दी पुराना भएकाले तिनका पार्टपुर्जा पाउन कठिन छ । चीनले समेत यस्ता मेसिन उत्पादन गर्न छाडिसकेको अवस्थामा आवश्यक सामग्री ल्याएर पुराना मेसिनलाई नयाँ प्रविधिसहित पुनर्जीवित गर्न सकिने उनले बताए ।
अर्का प्राविधिक रमेशबहादुर भट्टराईका अनुसार अटोमेटिक प्रणालीपछि उत्पादन क्षमता उल्लेखनीय रूपमा वृद्धि हुनेछ । ‘अब अटोमेटिक प्रणालीमा आएपछि कपडा उत्पादन धेरै बढ्छ । सबै मेसिन सञ्चालन गर्न सकियो भने उद्योगले ठुलो परिमाणमा उत्पादन गर्न सक्छ,’ उनले भने । उनका अनुसार मेसिनको मुख्य प्रणाली—डबी, सेभर, ब्रेक र क्लच—परिवर्तन गरेर आधुनिक बनाइएको छ ।
०३२ सालदेखि उद्योगसँग जोडिएका पुराना कर्मचारी भीष्मप्रसाद लम्सालले उचित मर्मत गरेपछि पुराना मेसिन पनि सहज रूपमा सञ्चालन गर्न सकिने भएको बताए ।
‘मेसिन कहिल्यै बुढो हुँदैन, मान्छे बुढो हुन्छ । आवश्यक पुर्जा फेरेपछि यो फेरि नयाँजस्तै हुन्छ,’ उनले भने । उनका अनुसार पनि उद्योगका ४८८ वटै मेसिन पुनः सञ्चालन गर्ने सम्भावना रहेको छ ।