इजरायलमा दक्षिणपन्थी प्रवृत्तिको हाबी र बढ्दो युवा पलायन

आइतबार, ७ भदौ, २०८३
डिजिटल संस्करण

इजरायलमा नजिकिँदै गएको महत्वपूर्ण चुनावअगाडि देश छाड्नेको उच्च संख्याबारे पनि बहस सुरु भएको छ । अगस्ट महिनाको सुरुमा प्रकाशित इजरायली कर प्राधिकरणको एक अध्ययनले इजरायली सरकार रुढिवादी र दक्षिणपन्थी हुँदै जाँदा सामान्यतया उच्च शिक्षित र धनाढ्य इजरायली वर्ग देश छाड्ने दर बढेको देखाएको छ ।

अध्ययनअनुसार सन् २०२३ र २०२४ मा देश सधैँलाई छाड्ने जनसंख्या विगतको तुलनामा बढी मात्र थिएन, छाडेर जानेमध्ये धेरै उच्च कर तिर्ने समूहको रहेको पाइएको छ । उदारवादी भनेर आफूलाई चिनाउने धेरै इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको सरकारले देशलाई धर्मसापेक्षा बनाउँदै लगेको र देशका संस्था, विशेषगरी न्यायपालिकाको स्वतन्त्रतालाई कमजोर बनाएकोमा असन्तुष्ट रहेको बताइन्छ ।

सन् २०२३ मा न्यायिक निरीक्षणलाई कमजोर पार्न सरकारले चालेको कदमपछि दसौँ हजार इजरायली विरोधमा सडकमा उत्रिए । धेरैले नेतन्याहु सरकारको यस कदमलाई देशको लोकतान्त्रिक चरित्रलाई मौलिक रूपमा परिवर्तन गर्ने प्रयासको रूपमा विरोध गरे  । त्यसपछि अक्टोबर ७, २०२३ मा हमासको नेतृत्वमा इजरायलभित्र आक्रमण भएपछि र आक्रमणको प्रतिक्रियामा इजरायलले चालेको प्रतिक्रियाका कारण देशका शिक्षित अभिजात वर्गमा सरकारको रबैयामाथि थप शंका बढेको छ । इजरायलले अक्टोबर ७ को हमास आक्रमणपछि गाजामा नरसंहार सुरु चलाएको उनीहरू विश्वास छ, जसमा ७३ हजारभन्दा बढी प्यालेस्टिनीको मृत्यु भइसकेको छ । अझ इजरायलले त्यसयता यस भेगका लेबनान, सिरिया र पछिल्लो समय इरानविरुद्धसमेत युद्ध मोर्चा खाड गरेको छ । निरन्तर युद्धका कारण कतिपय इजरायली सिद्धान्ततः ती युद्धको विरोधी नभए पनि देश निरन्तर द्वन्द्वको चक्रमा फसेको महसुस गरेको पाइएको छ ।

तेलअभिभ विश्वविद्यालयले अगस्टमा गरेको एक सर्वेक्षणले इजरायलबाट बाहिरिने जनसंख्या बढ्दै गएसँगै र देश छाड्नेमध्ये प्रायः उच्च शिक्षित र धनाढ्य बढी रहेको पत्ता लगाएको छ । तेलअभिभ विश्वविद्यालयको अध्ययनले केन्द्रीय तथ्यांक ब्युरोको तथ्यांकलाई आधार मानेर विगत तीन वर्षमा लगभग दुई लाख सत्तरी हजार इजरायलीले देश छाडेको पत्ता लगाएको छ । तथ्यांकअनुसार सन् २०२३ मा ८६ हजार ५०० भन्दा बढी इजरायलीले देश छाडेका थिए भने सन् २०२४ मा लगभग ९१ हजार ५०० र सन् २०२५ मा पनि त्यस्तै संख्यामा बाहिरिए ।

इजरायली संसद्को आप्रवासन, अवशोषण र डायस्पोरा मामिला समितिका अध्यक्ष विपक्षी गिलाड कारिभले यही बाहिरिनेको उच्च संख्यालाई इंगित गर्दै चेतावनीको भाषामा यस गम्भीर समस्या सम्बोधन गर्न सरकारले कुनै कदम नचालेको आरोप लगाए ।

देश छाड्नेप्रति नकारात्मक सोच
इजरायलमा देश छाड्नेहरूप्रति प्रायः एक खालको नकारात्मक भावना जोडिने गरेको छ । धेरै इजरायली, विशेषगरी दक्षिणपन्थी झुकाव भएकाहरू विश्वभरका यहुदीको सपना इजरायलमा बसोवास गर्ने हुने विचार राख्छन् । त्यस्तोमा यहुदीहरूले देश छाड्ने कुरालाई उनीहरू सहज स्विकार्दैनन् ।

सन् १९७० को दशकमा तत्कालीन प्रधानमन्त्री यित्जाक रवीनले देश छाड्ने इजरायलीलाई ‘डरछेरुवाको झुण्ड’का रूपमा व्याख्या गरेका थिए, जुन शब्दलाई पछि इजरायली राजनीतिको सबै विचार राख्ने राजनीतिज्ञ तथा दलले दोहोर्याउन थाले । इजरायलमा बसाइँसराइको आगमन र बाहिरिने कार्यलाई जनाउने प्रयोग हुने शब्दावलीमै भिन्नता देखिन्छ । जस्तो, इजरायल भित्रिने यहुदीहरूका लागि ‘एलिय’ शब्द प्रयोग गरिन्छ, जसको अर्थ ‘आरोहण’ हुन्छ भने बाहिरिनेहरूलाई परम्परागत रूपमा ‘योर्डिम’ भनिन्छ, जसको अर्थ ‘झरेका’ हुन्छ ।

इजरायली जनसांख्यिकीविद् र तथ्यांकविद् सर्जियो डेलापर्गोलाका अनुसार इजरायली बसाइँसराइ सन्तुलन विगतमा पनि नकारात्मकमा झर्थ्यो । आयरल्यान्ड र न्युजिल्यान्डजस्ता देशले पनि प्रायः भित्रिनेभन्दा उच्च संख्यामा बाहिरिने बसाइँसराइ अनुभव गरेको इतिहास छ, तर इजरायलमा यति लामो कालसम्म यति उच्च संख्यामा बाह्य प्रवाह अनुभव गरिएको थिएन । ‘यसपटकको बाह्य बसाइँसराइलाई अर्थतन्त्रले भूमिका खेलिरहेको छ भन्ने कुरा स्पष्ट छैन,’ डेलापर्गोलाले भने ।

डेलापर्गोलाले बताएअनुसार ‘अतिवादी’ मानिने व्यक्तित्वको प्रमुखताले इजरायलको राजनीतिक ध्रुवीकरणलाई गहिरो बनाएको छ । हालका सुरक्षामन्त्री इटामार बेन गभिरले हालै गाजामा प्रत्येक रात ३०–४० प्यालेस्टिनीलाई मार्नुपर्ने टिप्पणी गरेका थिए । यी चर्का बोल्ने सरकारी प्रतिनिधिले खासमा नेतन्याहुको राजनीतिक रणनीतिअन्तर्गत बोलिरहेको डेलपर्गोलाको ठम्याइ छ । ‘यी अतिवादी वास्तविक रूपमा नेतन्याहुद्वारा सञ्चालित नाटकका पात्र हुन् भन्नेमा भ्रम हुनुहुँदैन,’ उनले भने ।

रोक्नुपर्छ युवा पलायन 
इजरायलजस्तो नवअर्थतन्त्रको विकास टिकाउन युवा, शिक्षित र उदारवादी मानिसलाई बचाइराख्नु महत्वपूर्ण हुने ‘युनिभर्सिटी अफ लन्डन’का प्राध्यापक माइकल बेन ग्याड बताउँछन् । उनले इजरायलको आर्थिक र राजनीतिक भविष्य यसको नवप्रवर्तन र विकास गर्ने क्षमतामा निर्भर रहने बताउँछन् । विरोधाभास के छ भने अहिले इजरायलमा नवप्रवर्तन र विकासमा सीपको माग अभूतपूर्व उच्चस्तरमा पुगेको छ । तर, यही समयमा त्यस्ता सीप भएका समूह भने सबैभन्दा बढी बाहिरिइरहेका छन् ।

उत्तरी इजरायलमा रहेको ओरानिम कलेजका ‘आप्रवासन र जनसांख्यिकी’ संकायका प्राध्यापक लिलाच लेभ एरीले गरेको गुणात्मक अध्ययनले पनि माथिकै तथ्य पुष्टि गर्छ । विशेषगरी, अमेरिका जाने इजरायली उच्च शिक्षा हासिल गर्ने धनाढ्य समूहका रहेको अध्ययनले देखाएको लेभ एरीले बताए । ‘बढ्दो रूपमा उच्च शिक्षित, उच्च क्षमतावान् युवा देश छोड्दै छन् । बाहिरिनेमध्ये धेरैले भन्ने कारणमा आंशिक रूपमा न्यायिक सुधार, सामाजिक राजनीतिक वातावरण र युद्धको परिणाम औँल्याउने गरेका छन् । निश्चित रूपमा हमीले केही सक्षम मानिस गुमाइरहेका छौँ, तर हामीसँग अझै पनि यहाँ राम्रा मानिस छन्,’ लेभ एरीले अहिले नै आत्तिनुपर्ने आवश्यकता नभएकोमा जोड दिँदै भने, ‘तथापि, तीन वर्षदेखि ठुलो संख्या मानिस बाहिरिइरहेको र अझै नरोकिने हो भनेचाहिँ हामी चिन्तित हुनुपर्छ ।’ 

राजनीतिक अर्थशास्त्री शिर हेभरले इजरायलबाट सामूहिक बसाइँसराइ एक ‘ठुलो कथ्य’ भए पनि इजरायलमा यसलाई धेरैले गलत दृष्टिकोणबाट हेरिरहेका बताए । बसाइँसराइसम्बन्धी बहस प्रायः बढी कमाउने पेसाकर्मी विशेषतः चिकित्सकको प्रस्थानमा केन्द्रित हुने गरेको जोड दिँदै भने कि नर्सहरू र अन्य अत्यावश्यक सेवामा काम गर्नेमाथि भने धेरै कम ध्यान दिइने गरिने बताए । जबकि उक्त पेसाकर्मी बाहिरिए भने पनि असर उत्तिकै पर्ने गर्छ । विकास र प्राविधिक क्षेत्रमाथि दिइएको बढी महत्वले इजरायली राज्यको प्रकृतिबारे थप आधारभूत कुरा पनि प्रकट गर्नेमा उनले जोड दिए । 

अलजजिराबाट (कोर्डल अलजजिराका स्तम्भकार हुन्)

सुझावित समाचार