ललितपुरमा ‘अन टेस्ट’ इभी हाइस दुर्घटना, चार जना घाइते

शनिबार, ६ भदौ, २०८३
डिजिटल संस्करण

ललितपुरको महालक्ष्मी नगरपालिका–८, लुभुस्थित नरकट्टेमा नम्बर प्लेट नलिएको ‘अन टेस्ट’ इभी हाइस दुर्घटना हुँदा चार जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको नेपाल प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार अनियन्त्रित भएको इभी हाइस घरको गेटमा ठोक्किएको थियो। त्यसपछि गेटछेउमा पार्किङ गरेर राखिएको बा १८ च ९२८८ नम्बरको कारमा समेत ठोक्किँदा दुर्घटना भएको हो। कारमा सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ।

दुर्घटनामा हाइस चालक महालक्ष्मी नगरपालिका–८, लुभुका २६ वर्षीय अखिल राजथला र महालक्ष्मी नगरपालिका–७, चागाथलीका २५ वर्षीय आशिष महर्जन गम्भीर घाइते भएका छन्। उनीहरूको क्रमशः किस्ट अस्पताल र बी एन्ड बी अस्पतालमा उपचार भइरहेको छ।

त्यस्तै, मकवानपुर घर भई हाल महालक्ष्मी नगरपालिका–६, सानागाउँ बस्ने १८ वर्षीया एलिसा लामा मध्यम घाइते भएकी छन् भने महालक्ष्मी नगरपालिका–८, लुभुका २६ वर्षीय राज महर्जन सामान्य घाइते भएका छन्। दुवैको किस्ट अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

हाइसमा चार जना मात्रै सवार रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको नेपाल प्रहरीले जनाएको छ।

सुझावित समाचार